नेपालमा पहिलोपटक गाडी बोकेर ल्याउने गोले हलिउड अभिनेत्रीद्वारा सम्मानित
१० बैसाख २०७२, काठमाडौँ- नेपाल अटोमोबाइल्स स्पोर्टस् एसोसिएसन (नासा)ले नेपालमा पहिलोपटक गाडी बोकेर ल्याउने एक मात्र जीवित व्यक्ति धनबहादुर गोलेलाई सम्मान गरेको छ ।
एसोसिएसनले बिहीबार आयोजना गरेको अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए) अन्तर्गत एफआईए एसिया क्षेत्रीय खेलकुद कंग्रेसमा गोलेलाई चन्द्रागिरी हुँदै काठमाडौंमा पहिलोपटक गाडी भित्र्याएको भन्दै सम्मान गरेको हो।
कंग्रेसमा भाग लिन आएकी चर्चित हलिउड अभिनेत्री मिचेल योहले खादा ओढाएर गोलेलाई सम्मान गरेकी थिइन् । ८७ वर्षीय सम्मानसँगै गोलेलाई एघार हजार एक सय ११ रुपैयाँ नगद प्रदान गरिएको थियो । चित्लाङ- १ भण्डारखर्कका गोलेले विसं २००५ देखि २०११ सालसम्म गाडी बोक्ने पेशा अपनाएका थिए ।
यसैगरी कार्यक्रममा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रिय सुरक्षा अवार्डले सम्मान गरिएको थियो । उनलाई पनि एघार हजार एक सय ११ रुपैयाँ नगद प्रदान गरिएको थियो । तर उनले आफूले पाएको नगद सहयोगस्वरुप गोलेलाई दिने बताए ।
श्रेष्ठले आफूले सार्वजनिक यातायात क्षेत्रलाई सुधार गर्न केहीकार्य मात्र गरेको स्मरण गर्दै यो क्षेत्रमा गर्नुपर्ने धेरै कार्य गर्न बाँकी रहेको बताए ।
नेपालमा पहिलो पटक सवारी चालक अनुमतिपत्र पाउने महिला मच्छरीदेवी चित्रकारलाई पनि सम्मान गरिएको थियो उनलाई पनि ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।
मिचेल ग्लोबल सडक सुरक्षाका लागि एफआइएकी सद्भावना दूत हुन् । एफआइएले संयुक्त राष्ट्रसंघ अन्तर्गत काम गर्छ ।
योहले विश्वमा सडक दुर्घटनाका कारण प्रत्येक दिन ५ सय बालबालिकाको मृत्यु भइरहेको सन्दर्भ उल्लेख गर्दै संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष मनाउँदै आइरहेको युएनग्लोबल रोड सेफ्टी विक नेपालमा समेत भव्य रुपमा मनाउन आग्रह गरिन् ।
सम्मेलनको उपराष्ट्रपति परमानन्द झाले बिहीबार उद्घाटन गरेका छन् । समारोहमा उपराष्ट्रपति झाले नेपालमामोटर स्पोर्ट्स पनि एउटा खेलको रुपमाविकास हुदै गरेको र यस मार्फत सडक सुरक्षाको सन्देश समेत फैलाउन सहयोग पुगेको बताए ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सरकारले मोटर स्पोर्ट्स र सडक सुरक्षाकालागि धेरै कार्य गर्ने योजना बनाएको र त्यसैको एउटा अंगका रुपमा नेपाल, भारत र चीनबीचमा त्रिदेशीय तथा दक्षिण एसियाका विभिन्न देशका गरी ट्रान्स हिमालयन र्यापलीको योजना बनाएको बताए ।
एफआइएका अध्यक्ष जन टडले नेपाल सडक दुर्घटना हुने धेरै देश मध्ये एकमा पर्ने भएकाले सम्मेलनले सडक सुरक्षाबारे समेत केहीकार्य गर्न सरकार र सबै सरोकारवालालाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नासाले यहीअवसरमा पुराना भिन्टेज गाडीको प्रदर्शनीगर्नुका साथै सवारी साधन प्रशिक्षणका लागि आवश्यक सिमुलेटर समेत प्रदर्शनीमा राखेको छ । सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रका१४ देशका प्रतिनिधि सहभागी छन् । कार्यक्रम शुक्रबारसम्म चल्नेछ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस