अन्तत: न्याय पाए भारतीय रेस्टुरेन्टबाट पैसा नपाएका विमलले

– मिलन दाहाल

law२ बैसाख २०७२, एडेलेड भारतीय रेस्टुरेण्टमा काम गरेर पारिश्रमिक नपाएका एक नेपालीले आज रेस्टुरेण्टले दिने भनेको रकमभन्दा निकै बढी रकम पाउने भएका छन् ।

करीब डेढ बर्ष अघि श्रीमतीको  पढाईको सिलसिलामा  एडेलेड आएका बिमल (नाम परिवर्तन) ले सुरुका दिनमा कामका लागि निक्कै दुख झेल्नु पर्यो ।  भर्खरै नेपालबाट करीब २० लाख खर्च गरेर आएका उनलाई छ महिना भित्र अस्ट्रेलियन डलर १२,००० जसरी पनि जम्मा गर्नु थियो साथमा सुरुमा खर्च भएको पैसा पनि बिस्तारै उठाउदै जानु थियो । अस्ट्रेलियाको खर्चमा जीवन धान्नुपर्ने बाध्यता त आफ्नै ठाउमा छदै थियो । सिड्नीमा  भएका एकजना चिनेका दाइको चिनजानले  रातीको एउटा पार्ट-टाइम काम त पाएका थिए, तर त्यतिमात्र काफी थिएन उनको खर्च धान्न । त्यसैले जे भएपनि काम गर्नु उनकालागी अत्यन्त जरुरी थियो । “गमट्रि”मा काम खोज्ने उनको दिनचर्या थियो । काम खोज्यो, अपलाई गय्रो गर्न थाले । धेरैले रेस्पोन्स गर्दैनथे, कसैले गरिहाले अनुभव अथवा ABN सोधेर रिजेक्ट गर्थे । एकदिन  गमट्रिमा एक बिज्ञापन देखे भारतीय रेस्टुरेण्टमा वेटरका लागी । हत्तपत्त अपलाई गरे यहि सोचेर कि भारतीयसंग हाम्रो नजिकैको संस्कृतिक सम्बन्ध छ, फेरि हिन्दि भाषापनि जानेकाले काम गर्न सजिलो हुन्छ भन्ने ठानेर । बिज्ञापन गर्नेले रेस्पोन्स गर्यो र अन्तरवार्ताका लागि बोलायोपनी । खुसि हुदै बोलाएकै समयमा हत्तपत्त अन्तर्वार्ताका लागि गइहाले । म्यानेजरले एकछिन कुरा गरेपछि अर्को  लोकेसनको रेस्टुरेन्टमा गएर काम गर्न भन्यो । बिमल खुसि भए । भारतीय रेस्टुरेण्टहरुले विश्वको कहिपनि चलेको पैसा दिदैनन, विमललाई राम्रोसंग थाहा थियो, त्यहापनि पाइदैन भन्ने थाहा थियो । तैपनि सोधेर  $१० नगदमा भन्ने कुरा थाहा पाए । पैसा कम भएपनि काम पाएकोमा खुसि हुदै बिमल घर फर्के ।

अर्कोदिन बिमल उसले भनेको समय र ठेगानामा गए । काम गर्ने सबै भारतीयहरु थिए, सबै निराश कुरा गर्ने ।  सुरुमा त विमलले आफु थपिएपछि  उनीहरुको समय घट्ने भएकाले भट्काउन त्यस्ता कुरा गरेका ठाने तर ९ घन्टाको सिफ्टमा एक भारतीय बिद्यार्थीसंग काम गरिसकेपछि उसका कुरामा उनलाई बिस्वाश लाग्न थाल्यो र त्यहाँ नजाने निर्णय गरे ।  घरमा आएर श्रीमतीसंग त्यहाँ नजाने कुरा सुनाए ।  श्रीमतीले पाएको कामपनि छोडेर आएको कुरा मन नपराएजस्तो गरिन, जुन स्वाभाविक पनि हो ।  म्यानेजरको फोन लगातार आइरह्यो अन्तत विमलले त्यहाँ जाने केहि समय काम गर्ने र चाडै अर्को विकल्प खोजेर त्यो काम छोड्ने  निर्णय गरे । राती कहिल्यै  काम नगरेका विमललाई रातीको कामनै बोझ भैराखेकोमा दिनको काम पनि थपिएको थियो । तालिका अत्यन्त ब्यस्त बन्यो । जे भएपनि सुनौलो भबिस्यको आशमा त्यो कष्ठ उनले उठाए । एकचोटी रेस्टुरेण्ट्मा पुगेर आउदा $५ डलरको तेल खर्च हुन्थ्यो र आम्दानी $४० डलर । जे होस् निर्णय त गरिसकेका थिए ।
त्यसपछि उनि त्योभन्दा पनि अर्कै लोकेसनमा काम गर्न जना थाले । दुइदिन काम गरिसकेपछि बल्ल म्यानेजरले अव पे सुरुहुने बताउदा उनलाई एकपटक निक्कै नराम्रो लग्यो ।  त्यसबेलासम्म  उनले ३ दिन गरेर २५ घण्टा काम गरिसकेका थिए जसको अस्ट्रेलियाको पे रेटका हिसावले करिब $५५० र उसंगको कुराका हिसाबले पनि $२५० हुन्थ्यो । त्यसलाई तालिमशुल्क मानेर उनले केहि बोलेनन् बोल्नुपनि के नै थियो र ? एक त अर्को राम्रो काम केहि थिएन, खर्च उठाएर युनिवर्सिटिको फिसमेत निकाल्नैपर्ने बाध्यता थियो उनका सामु ।

काम गरेको एकहप्ता पछि म्यानेजरसँग पेको कुरा गरे, म्यानेजरले रेस्टुरेण्ट्धनि भारत गएको र केहिदिनमा उ आएपछिमात्र पेमेन्ट गर्न सकिने बतायो ।  रेस्टुरेण्ट्धनि आयो, आउनासाथ के कुरा गर्नु भनि बिमल २ दिन चुपचाप बसे तेश्रो दिन म्यानेजरसँग फेरि कुरा गरे । म्यानेजरले भोलि भन्दै ४-५ दिन टार्यो  ।  त्यसपछि त त्यो  रेस्टुरेण्ट्धनि आएर एकदिन बिहान विमललाई गालि गर्न थाल्यो नराम्रोसंग बिनाकारण । विमललाई यसै त त्यहाँ काम गर्न मन थिएन, त्यसमाथि बिनाकारण गाली सुन्नुपरेपछि रिसको सिमानै रहेन, केहि सोचेनन र म्यानेजरलाई “म काम छोड्छु” भनिहाले । निर्णय गरिसकेको भएपनि ‘कार्यगत  नैतिकता ‘ का हिसावले त्यसदिन भर काम गरे र भोलिपल्ट देखि गएनन् ।

भोलिपल्ट देखि पैसाका निम्ति फोन गर्न थाले म्यानेजरले त उनको फोन/म्यासेज केहीको पनि रेस्पोन्स गर्न छोड्यो । त्यस कानुनी उपचार खोज्नैपर्ने जस्तो विमललाई लग्यो । त्यसबेलाको अनुभूति बताउदै बिमल भन्छन, – ” एकपल्ट त छोडदिउ जस्तै लागेको थियो, तर रातभर त्यति दुख गरेर बनाएको पैसाले किनेको पेट्रोल जलाएर गएको सम्झिए, आफुलाई थकित भएर जान नसकेको समयमापनि दिनभर गएर काम गरेको सम्झिए त्यसभन्दा पनि बढी यस्तो कत्ति नेपाली दाइ-भाइहरुलाई भएको होला, त्यसको निराकरणको बाटो पत्ता लगाएर नै छोड्नुपर्छ जस्तो लाग्यो, अनि हिम्मत बटुलेर कानुनी कारबाहीका लागि बाटो खोज्न थाले ।”

सुरुमा इन्टरनेट सर्च गरेर “फेयर वर्क एम्ब्युदमेन” लाइ विमलले फोन गरे । त्यहाका एक कर्मचारीले रोजगारदातालाई लिखितरुपमा जानकारी दिएको/नदिएको सोधे र दिन भने । विमलले हत्तपत्त रेस्टुरेण्ट म्यानेजरलाई त्यस्तै व्यहोराको sms लेखिहाले । त्यसपछि बिमल “योङ्ग वर्कर लिगल सर्विस” नामको एक संस्थामा गए जसले योङ्ग वर्करका हकहितका कामहरु गर्ने रहेछ । आफ्नो सम्पूर्ण कथा सुनाइसकेपछि उक्त संस्थाले विमलका लागि जस्तोसुकै कानुनी युद्दपनि लड्ने बतायो र “इण्डस्ट्रिअल रिलेसन कोर्ट” मा मुद्दा दायर भयो ।

नौ पटकसम्म तारिखमा रोजगारदाताको प्रतिनिधि  नआएपछि १५ अप्रिल, २०१५ अर्थात् आजकै दिनमा मुद्दाको निर्णय गर्ने बताइसकेको थियो ।  आज उनीपनि उपस्थित थिए र जजले निर्णय सुनाए “इण्डस्ट्रिअल रेट” मा हिसाव  गरेर र त्यसमा ब्याजसमेत जोडेर  । अव विमलले आजका २८ दिन भित्र $१,७०० भन्दा बढी पाउनेछन जुन काम छोडेकै समयमा रेस्टुरेन्टका मालिकले दिएका भए करिब $४०० हुन आउथ्यो  ।  निर्णयपछि अदालतको गेटबाट खुसीले गद्गद् हुदै निक्लिएका विमलले यसरी अन्यायमा परेका नेपालीहरुलाई जस्तोसुकै सहयोग गर्नपनि आफु तयार रहेको बताए । त्यसका लागि काम गर्ने मान्छेले आफुले काम गरेको प्रमाण, काम गरेको समय, स्थान, आदि सुरक्षित राख्नुपर्ने र बताए । काम गर्ने अधिकार भएका जो सुकै पनि आन्ययामा परेका भए अस्ट्रेलियामा न्याय पाइने कुरा प्रमाणित भएको धारणा राखे ।

Advertisements

Leave a Reply