विनोद दासलाई केकीको पत्र
१ बैसाख २०७१, काठमाडौँ - मैले १०+२ हिमालयन ह्वाइट हाउस कलेजबाट उत्तीर्ण गरेकी हुँ। म सो कलेजमा पढ्दै गर्दा हालका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र सक्रिय खेल जीवनबाट भर्खरै संन्यास लिनुभएका पूर्वराष्ट्रिय कप्तान विनोद दास हाम्रै कलेजमा सिनियर हुनुहुन्थ्यो। विनोद दाइको त्यही समयमा नै छुट्टै स्टारडम थियो। क्यान्टिनमा उहाँ कहिलेकाहीँ देखिनुहुँदा हामी साथीहरु ‘विनोद दास' भन्दै कानेखुसी गर्थ्यौँ।
क्रिकेटप्रति मेरो व्यक्तिगत लगाव बढ्नुमा विनोद दास र पारस खड्का दाइहरु नै महत्वपूर्ण कारक हुन्। उहाँहरुले नेपाली क्रिकेटलाई दिनुभएको योगदान र नेपाली राष्ट्रिय क्रिकेट टिमले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेका सफलता नै प्रमुख कारण हुन्। मैले विराट कोहली, ए बी डिभिलियर्स वा सेन वाट्सनलाई चिन्नुभन्दा अघि विनोद दासलाई चिनेकी हुँ। मेरा लागि क्रिकेटको पहिलो हिरो विनोद दाइ नै हुनुहुन्छ। उहाँले नेपाल र नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पुर्याउनुभएको अतुलनीय योगदानको मूल्यांकन हुनेछ भन्ने आशा लिएकी छु।
कलैयामा जन्मिएर त्यहीँबाट क्रिकेट खेल्न सुरु गर्नुभएका विनोद दाइले हिजो डेढ दशक लामो खेल जीवनबाट संन्यास लिँदै गर्दा, सोसियल मिडियामा भने कलैयामा नै भएको प्रहरी दमनको भिडियो युट्युबमा हेरेकी थिएँ। असमञ्जसमा परेँ, एकैछिन उकुसमुकुस भएँ। यो पहिलो वा एकमात्र घटना पनि होइन। त्यस किसिमको बर्बरता अरु कुनै विकसित राष्ट्रमा भएको हुँदो हो भने उक्त घटना राष्ट्रिय मुद्दा बन्थ्यो होला। म एकलौटी आरोप लगाउन चाहन्न। पक्कै पनि उक्त घटनाका विविध पाटा होलान् तर के त्यस किसिमको घटना हुँदा देश र समाजले कुनै प्रतिक्रिया देखाउनुपर्दैन र? मधेसमाथि हुने विभेदमा के हामी सधैँ मौन नै बस्ने हो? विनोद दाइको बुबाले हिजो टियु मैदानमा भावविह्वल भएर आँखाका किनाराहरुबाट आँसु पुछ्दै गर्दा, विनोद दाइले प्राप्त गर्नुभएका उपलब्धिको सम्झना गरेर कलैया र मधेसका कति बुबाहरुले आफ्नो छोरा वा छोरीका निम्ति ब्याट किनिदिए होलान्, एकदिन आफ्नो सन्तान यो राष्ट्रका लागि खेल्नेछन् भन्ने सपना बुनेर। के ती सपना सामाजिक विभेदको छायाँमा हराएर जाने त होइनन्? मलाई डर लागिरहेको छ।

कुरा मधेसको मात्र होइन होला। मेरो डर, हाम्रो समाजको तह–तहमा र पत्र–पत्रमा जरा गाडेका यिनै विभेदहरुको परिणति होला। कलाकारका रूपमा मैले यस्तो विभेद सहनु, भोग्नु वा देख्नुपरेको छैन। वीरगञ्जका अग्रवाल, रौतहटका ठाकुर, सर्लाहीका यादव, बर्दियाका चौधरी, जनकपुरका मिश्र सबैले चलचित्र क्षेत्रकी अभिनेत्रीका रूपमा माया नै गरेका छन्। वर्गीय, जातीय, क्षेत्रीय र भौगोलिक विभेद व्याप्त छ। म राजनीतिको जानकार व्यक्ति होइन। राजनीतिक तहमा यी समस्याका समाधान कसरी हुने हो वा कसरी हुनुपर्ने हो मलाई राम्ररी थाहा पनि छैन। तर मानवीय दृष्टिले हेर्दा कमसेकम यतिचाहिँ पक्कै पनि भन्न सक्छु कि हामीले परस्परमा गर्ने व्यवहार अर्को व्यक्तिको छालाको रंग, उसको भाषा, जात वा आर्थिक हैसियतबाट निर्दिष्ट हुनुहुँदैन। विभेदको अन्त्य र परिवर्तनको सुरुवात कमसेकम यिनै मानवीय संवेदनाका चेतना र हृदयको उदारताले हुनुपर्छ। पारस्परिक सम्मान र सद्भावले हुनुपर्छ। धेरै विनोद दासहरु जन्मनुपर्छ र सायद त्योभन्दा बढी आफ्नो श्रम र सीपले पाउन सक्ने साना ठूला सबै उपलब्धिमा रमाउने र सम्मानित हुने वातावरण यो देशमा सबै नागरिकका लागि बन्नुपर्छ।

पुनः क्रिकेटनेपालको प्रतिनिधित्व गर्दै विदेशी टिमविरुद्ध बलिङ गर्न टियु मैदानको चोभार इन्डबाट दौडिँदै गरेका विनोद दासको सम्झना गर्नूस्। उनको लम्कँदै गरेका हरेक पाइला पाइलामा चन्द्र सूर्य झण्डा फर्फराउँदै हजारौँ हामी ‘नेपाल’, ‘नेपाल’ भनेर चिच्याइरहेका थियौँ। त्यो पल त्यो समयमा, उहाँको ऊर्जा हाम्रै ऊर्जा थियो। जोशले उम्लिरहेको उनको रगतको रंग हाम्रै जस्तो थियो, हाम्रै उत्तेजनाका रगतका रंगहरुमा मिसिएको थियो। उहाँका पसिनाका नदी हाम्रै जस्तै निलो थियो, यही भूमिमा पोखिएको थियो। के दौडिरहेको विनोद दासको दृश्य कल्पना गर्नुभयो? के मैले माथि सोधेको प्रश्न आफैँलाई सोध्नुभयो? सोध्नूस् है! बेला भइसकेको छ, शायद ढिलै पो भयो कि?
र, अन्त्यमा
विनोद दाइ, तपाईँका उपलब्धि चिरायु रहून्। तपाईंले भविष्यमा यो राष्ट्रलाई दिन सक्ने थप योगदानका निम्ति अग्रिम धन्यवाद र बाँकी जीवनको सफलताको शुभकामना!
केकी अधिकारी
काठमाडौँ
– See more at: http://nagariknews.com/entertainment/story/36487.html#sthash.JuBsRnYX.dpuf
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस