ताजा खवरहरु:

सगरमाथा विश्वविद्यालय स्थापना गर्ने मेरो सपना नेपालमै छाडेर जाँदैछु,’म हारें, देश छाडें’ : माथेमा

“हाम्रो मुलुकका नेतृत्व वर्ग एवं निजामती कर्मचारीतन्त्र नयाँ-नयाँ अवसरका ढोकाहरू बन्द गर्न निपूण छन्। विस्मयकै विषय रहेन, गत वर्ष मात्रै २० हजारभन्दा बढी युवा-युवती उच्च शिक्षा अध्ययनका लागि भारत प्रस्थान गरेका छन् भने सोही उद्देश्यका निमित्त अन्य मुलुक जाने झण्डै ७० हजारले ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिएका छन्। हामी चकित हुनुपर्ने कारणै छैन किनकि हामीजत्तिका मान्छे विदेशिनुपरेको छ। किनभने, अन्य मुलुकले हाम्रा ज्ञान, सीप, अनुभव, तदारुकता र लगनशीलतालाई हाम्रो आफ्नै मुलुकले भन्दा बढी मूल्य र प्राथमिकताका साथ कदर गर्न जानेका छन्।

यो पोस्ट(उद्गार)मार्फत् हाम्रा प्रधानमन्त्री, मन्त्रीगण, राजनेताहरू एवं राष्ट्र सेवक कर्मचारीसमक्ष के अनुरोध गर्न चाहन्छु भने हाम्रा उद्यमशील युवा नागरिकहरू तथा मजस्ता व्यक्तिहरूलाई तिनले चाहेका क्षेत्रमा निर्वाध उन्नतिका निमित्त सहजता प्रदान गर्न नेपालमा व्याप्त अनावश्यक प्रशासकीय झमेला एवं ढिलासुस्तीका बन्द रहेका द्वारहरू खोलिदिनोस् । ताकि, हामी स्वदेशमै उन्नतिका उपाय खोज्दै राष्ट्रको सेवा पनि गर्न सकौं।

कृपया, हामीलाई हामी के गर्न सक्दैनौ होइन, के गर्न सक्छौ भनेर भनिदिनोस्। यो मुलुकमा बस्नै गाह्रो छ, हाम्रा सपनाहरू हामी यहाँबाट हासिल गर्न सक्दैनौं। हामीलाई आफ्नो मुलुक एक महान मुलुकका रूपमा विकास गर्नका निमित्त हाम्रा सीपहरूको योगदान दिन पाउने अधिकार नभएजस्तो गरी हत्तोत्साहीपूर्ण ढंगले हाम्रा प्रगतिपथका ढोकाहरू निर्मम ढंगले बन्द गर्नुको साटो द्रुततर गतिमा अगाडि बढ्ने सहज मार्गहरू खोलिदिनुहोस्। हाम्रा नदीनालाका बहुमूल्य जलसम्पदा भारत हुँदै महासागरसम्म व्यर्थ बगेर गएभन्दा बढी प्रतिभा पलायनको स्थिति विकराल बन्दै गएको छ।

हामीलाई दूरदर्शी प्रतिभावान् नेतृत्वको खाँचो छ, जसले आफ्ना परिवार, इष्टमित्र एवं दलगत स्वार्थभन्दा माथि उठेर मुलुकको समष्टिगत स्वार्थलाई सर्वोपरी ठान्छ। कुनै अन्तर्कृयात्मक कार्यक्रममा त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले भन्नु भएजस्तै हामीलाई आगामी निर्वाचन जसरी भए पनि जित्नका लागि जनतामाझ लोकप्रिय नीतिहरू मात्रै पेश गर्ने धेरै लोकप्रिय नेतृत्व पनि चाहिएको होइन।

मलगायत धेरै देशभक्तहरू यो मुलुकमा दूरदर्शी नेतृत्व चाहन्छन्, जुन नेतृत्वले यो मुलुकका हितका निमित्त अत्यावश्यक दीर्घकालीन नीतिहरू निर्माण गरी त्यसको अमल गर्न सक्षम हुन्छन्। यदि आफ्नो मुलुकप्रति उच्च कोटीको श्रद्धा र जनताप्रति उत्कृष्ट आस्था एवं सद्भाव छ भने वर्तमान प्रधानमन्त्री ओली नै ती व्यक्ति हुन सक्छन्। तर, निहित स्वार्थवश अनावश्यक दलाली गर्न घेरा हालेर बसेका व्यक्ति र प्रवृत्तिको कुत्सित पर्खाललाई उनले तोड्न सक्नुपर्छ। आफूलाई सर्वोत्कृष्ट राजनेता प्रमाणित गरेर जनताको विश्वास जिती एउटा इतिहास निर्माण गर्ने स्वर्णिम अवसर उपलब्ध छ।

म निजी क्षेत्रबाट एउटा प्रतिष्ठित विश्वविद्यालय (सगरमाथा विश्वविद्यालय) स्थापना गर्ने मेरो सपना नेपालमै छाडेर जाँदैछु। मैले म आफैंलाई बारम्बार यो प्रश्न सोध्छु कि कतै यो मेरो सपना सपनामै सीमित त हुँदैन? म मर्दा मेरो चितासँगै मेरो सपना साथै जाने त होइन? १८ वर्षभन्दा बढी विदेशमा बिताएर पनि मैले यो तीन वर्षे अवधिमा धेरै उपायका बाटा धेरै ठाउँमा खोजेको छु। यसरी निराश भएर मेरो देश छाडेको यो पहिले दिन म यो सन्देश लेखिरहेको छु।

मैले एसियाली विकास बैंकद्वारा वित्तीय सहयोग प्राप्त उच्च माध्यमिक विद्यालय शिक्षा परियोजनाअन्तर्गत ६ वटा शिक्षा प्राविधिक एवं रोजगारमुलुक शिक्षा कार्यक्रमका लागि टोली नायक भएर काम गरेको छु। कम्बोडियाली सरकारले मेरो कामको मूल्यांकन गरी कदरस्वरूप दुई प्रतिष्ठित पदबाट विभुषित पनि गरेको छ। त्यसको अलावा मलाई पुन: कम्बोडियामै आएर काम गर्ने नयाँ अवसर पनि प्रदान गरेको छ। म मेरो सपना बचाउन तीन वर्षपछि कम्बोडिया फर्किरहेको छु।

हाम्रो नेतृत्वले हामी स्वदेश फर्किएर काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ अन्यथा अरू धेरै युवायुवती अध्ययनका लागि र मजस्ता मान्छे रोजगारीका लागि विदेशिनुपर्छ।
कृपया यो पोस्टिङ धेरैभन्दा धेरै परिवार, आफन्त र इष्टमित्रहरू सबैलाई पठाइदिनु होला ता कि यो सन्देश प्रधानमन्त्रीसम्म पुगोस् र यो मुलुक समृद्ध बनाउन प्रतिभा पलायनलाई रोक्न सकियोस्।”


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading