साउथ अष्ट्रेलियाको एडिलेडमा गजल मुशायरा

२३ जुन २०१८, एडिलेड- “सीमाना बनाउनेले यो कस्तो फाटो ल्याइदियो, दाइलाई नेपाली भाइलाई भुटानी बनाइदियो ।“ “जव ब्यस्त सडकमा आफ्नै प्रेमीका बलत्कृत हुन्छिन, पाइला चाल्ने प्रेमीको हरेक प्रहर बदलिन्छ ।“

माथिका हरफहरु शुक्रवार एडिलेडमा गजल मुशायरामा बाचन गरिएका गजलका केही शेरहरु हुन । नेपाली र भुटानीबिचको सम्बन्धवारे जितेन्द्र मल्लले लेखेको गजल स्टेजमा बाचन गरिरहदा दुबै समुदायका दर्शकहरु निक्कै भावुक बनेका थिए ।  यसैगरी मानवीय सम्वेदनामा आधारीत दोस्रा हरफहरु टेक भण्डारीले सुनाइरहदा दर्शकहरु स्तव्ध बने ।

‘पत्र लेख्न नजान्नेलाई खामको के मूल्य, सुनसान रात रोज्नेलाई घामको के मूल्य’ प्रेम पाण्डेको श्रृङ्गारीक गजलले वातावरण रमाइलो बनाइदिएको थियो ।

देशप्रेम, मानवीय संवेदना, सम्बन्धका उतारचढाव लगायत, दुइ राष्ट्रियताका नेपालीहरुबिचको सम्बन्ध, श्रृङ्गारीकलगायतका विविध विषयमा तीन घण्टासम्म गजलकारहरुले गजल सुनाइरहदा उपस्थितहरुले मन्त्रमग्घ भइ मनोरञ्जन लिइरहेका थिए । हरेक शेरहरुपछी वाहवाह! सुनिएको थियो भने र शेरहरुलाई ‘वन्स मोर’पनि बाक्लै सुनिरहेको थियो ।

साउथ अष्ट्रेलियाको नर्थ एडिलेड कम्युनिटि सेन्टरको सभाहलमा राम्रो उपस्थितिको बिचमा अष्ट्रेलियाभरका ११ जना गजलकारहरुले गजल बाचन गरेका थिए । कार्यक्रममा सिड्नीका जितेन्द्र मल्ल, सिर्जना थापा, ओमराज अधिकारी, ब्रिसबेनका केशब शर्मा, अल्बरीका दुर्गा प्रसाद रिमाल तथा एडिलेडका प्रेम पाण्डे, प्रकाश धमला, टेक भण्डारी, छत्र दंगाल, विष्णु तामाङ र सफल देवकोटाले गजल बाचन गरेका थिए ।

गजल मुशायरा परिवारसँगको समन्वयमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) साउथ अष्ट्रेलियाको आयोजनामा २०५ औं भानु जयन्तिको अवशरमा सम्पन्न उक्त कार्यक्रममा ११ गजल वाचनको अतिरिक्त गजल गायन र गजलमै नृत्यसमेत गरिएको थियो । डा. रामकृष्ण निरौला, आरसी थापा, रोहित अधिकारी र लक्ष्मण गुरुङलेबाजागाजाको साथमा प्रत्यक्ष गरेकोगजल गायनमा उपस्थितहरु नाचौला झैं  गरेका थिए भने विष्णु तामाङ र पुजा गुरुङको नृत्यले दर्शकलाई थप मनोरञ्जन दिएको थियो । इनास साउथ अष्ट्रेलियाका पुर्व अध्यक्ष विकाश शर्मा पोखरेलले गायकहरुलाई बाध्यवादनमा साथ दिएका थिए ।

आयोजक संस्थाकामध्ये गजल मुशायरा परिवारका संयोजक जितेन्द्र मल्लले गजल मुशायरा कार्यक्रमको मुख्य उद्देश्य सुन्ने परिपाटीको विकाश गर्दै सर्जकहरुलाई प्रोत्साहन गर्नु रहेको बताए । अष्ट्रेलियामा नेपाली साहित्य र गजललाई प्रवर्दन गर्नका लागि स्थानीय साहित्यकारहरुको पहलमा ४ वर्षअघिदेखि गजल मुसायरा कार्यक्रमको सुरुवात गरिएको हो । यो साहित्यिक कार्यक्रम अहिलेसम्म सिड्नी, ब्रिसबेन र एडिलेडमा सम्पन्न भइसकेको छ भने अन्य शहरहरुमा समेत आगामी दिनमा आयोजना हुदैजाने बताइएको छ ।

आयोजकमध्येको अर्को संस्था इनास साउथ अष्ट्रेलिया अध्यक्ष मिलन दाहालले अन्य राज्यका गजलकारहरुलाई एडिलेडमा स्वागत गरी स्तरीय कार्यक्रम दिन सकिएकोमा खुसी व्याक्त गर्दै गजल वाचक, गायक, नर्तकि तथा सम्पुर्ण उपस्थितहरुलाई घन्यवाद दिए । इनास साउथ अष्ट्रेलियाले हरेक बर्ष भानु जयन्तिको अवशरमा साहित्यिक कार्यक्रम गर्ने गरेको छ । साउथ अष्ट्रेलियामा गत वर्ष नवराज पराजुलीको साथमा कविता कन्सर्ट कार्यक्रम आयोजना गरिएको थियो ।

Leave a Reply