एडिलेडमा पहिलोपटक नेवा: भ्वय सम्पन्न, नेवारी खानाको सर्वत्र प्रशंसा

१५ अप्रिल २०१८, एडिलेड- साउथ अष्ट्रेलियाको एडिलेडमा नेवारी खानाको प्रवर्दन गर्दै पहिलोपटक नेवा: भ्वय कार्यक्रम सम्पन्न भएको छ । नेपाली नयाँ बर्ष तथा बिस्का जात्राको अवशर पारेर गुठी साउथ अष्ट्रेलियाले नेवारी खानाको प्रवर्दन गर्नका लागी १४ अप्रिलमा नेवा: भ्वय कार्यक्रमको आयोजना गरिएको थियो । म्यारियन आरएसएलमा भएको कार्यक्रममा साउथ अष्ट्रेलियाका लागी नेपाल सरकारका अवैतानिक वाणिज्यदुत दिपक धमला, गैर आवासीय नेपाली संघ अष्ट्रेलिया उपाध्यक्ष अशोक केसी, पुर्व अध्यक्ष नविन कंडेल, सचिव प्रकाश पनेरू, साउथ अष्ट्रेलियाका पुराना नेपाली दिपक बिष्ट लगायत नेपाली समुदायका सदस्यहरुका अतिरिक्त विदेशीहरुको समेत संलग्नता रहेको थियो । 

कार्यक्रममा सहभागीहरुलाई नेवारी खानाको स्वादसँगै नेवारी नृत्यहरुले मनोरञ्जनपनि गराइएको थियो । त्यसका साथै लाखेका कपडा र बाजागाजाहरुलाई समेत प्रदर्शनमा राखिएको थियो ।

पलेटी मारेर नेवारी खानाको मजा लिइरहेका गैर आवासीय नेपाली संघ अष्ट्रेलिया उपाध्यक्ष अशोक केसीले अष्ट्रेलिया आएर पहिलोपल्ट पुर्ण रुपमा नेपाली शैलीमा खाना खान पाइएको बताए । “जुन तरीकाको पलेटी मारेर बसेकै ठाँउमा नेपाली स्वादका परीकारहरुको मजा लिन पाइयो, नेपाल छोडेदेखी साँच्चै यो पहिलो अनुभव हो । स्वयंसेवकहरुले बसेकै ठाँउमा गरेको वितरणले नेपालकै झल्को दियो ” केसीले भने ।

नेपालीहरुको बिचमा पलेटी मारेर बसेका विदेशीहरुपनि रमाइरमाइ नेवारी परीकारको मजा लिइरहेका देखिन्थे । नेवारी अचार र तरकारी विशेष लागेको बताइरहेका बिदेशीहरुले घरमै बनाईएको भातको छ्याङपनि बिशेष लागेको बताए ।

एडिलेडमा रहेका नेपाली समुदाय र यहाँका विदेशीहरुलाई समेत लक्षित गरि गरिएको कार्यक्रममा १ सय ८० बढीको सहभागीता रहेको गुठी साउथ अष्ट्रेलियाले बताएको छ । कार्यक्रमको उदेश्य नेपाली संस्कृतिको अभिन्न अंग नेवारी कला संस्कृति र खानाको प्रवर्दन नै भएको गुठी साउथ अष्ट्रेलियाका उपाध्यक्ष मनोज श्रेष्ठले बताए । “नेवारी संस्कृतिको माध्यमबाट नेपालको पर्यटनसमेतमा सहयोग पुर्याउने हाम्रो लक्ष्य हो ।” श्रेष्ठले बताए ।

नेपाल सरकारका पर्यटन प्रवर्दन गर्ने संस्थाहरुको साथ र सहयोग हुने हो भने एडिलेडमा इन्द्रजात्रा, बिस्का जात्रा लगायतका कार्यक्रमहरुको आयोजनामार्फत विदेशीहरुलाई नेपाल र नेपाली संस्कृतिप्रति आकर्षण गर्न सकिने प्रचुर संभावना देखेको बताउछन गुठी साउथ अष्ट्रेलियाका उपाध्यक्ष मनोज श्रेष्ठ ।

प्रवासका नेपालीहरु नेपाली कला संस्कृति र खानाको माध्यबाट नेपाल प्रवर्दनका लागी आफ्नो व्यक्तिगत समय दिएर लागेका छन् । नेपाल सरकारको सहयोग पाएमा यसलाई अझ बढी प्रभावकारी बनाएर लैजान सकिने गुठी साउथ अष्ट्रेलियाको ठम्याई छ ।

नेवारी खानाप्रति रुची देखाएर कार्यक्रममा सहभागीता जनाउने नेपाली तथा विदेशी सबैलाई गुठी साउथ अष्ट्रेलिया अध्यक्ष मंगल बज्राचार्यले धन्यवाद दिए । नेवारी खानाप्रतिको यो आकर्षणले भविष्यमा एनआरएनए लगायत समुदायका अन्य कार्यक्रम आयोजकहरुसँग सहकार्य गरि नेवारी खानालाई आकर्षणका रुपमा प्रस्तुत गर्न आफुहरुलाई निकै हौसला प्रदान गरेको उनले बताए ।

Leave a Reply