साउथ अष्ट्रेलिया राज्य चुनाव: एक परिचय
मिलन दाहाल– साउथ अष्ट्रेलियामा राज्य चुनावको मिति तोकिसकिएको छ । ५४ औं संसदका लागी १७ मार्च २०१८ को मिति तय भएको हो । उक्त निर्वाचनले हाउस अफ एसेम्लि अर्थात तल्लो सदनका ४७ र लेगिस्लेटिभ काउन्सिल भनिने माथिल्लो सदनका लागी ११ सदस्यहरुको चयन गर्ने छ । साउथ अष्ट्रेलियाको तल्लो सदनमा ४७ र माथिल्लो सदनमा २२ सदस्य रहन्छन र निर्वाचन हरेक ४ बर्षमा हुने गर्छ । तल्लो सदनका ४७ जना प्रत्यक्ष निर्वाचनबाट चुनिन्छन भने माथिल्लो सदनका सदस्यहरु दलले प्राप्त गरेको कुल मतसंख्याका आधारमा समानुपातिक पद्दतिबाट निर्धारण गरिन्छन । माथिल्लो सदन अर्थात लेगिस्लेटिभ काउन्सिलमा हरेक चार बर्षमा आधा अर्थात ११ जना चुनिन्छन । तल्लो सदनमा बहुमत हुन २४ सिटको आवश्यकता पर्दछ । हाल तल्लो सदनमा लेवरका २३, लिवरलका १९ र निक जेनोफनका १ सांसदमात्र रहेका छन ।
सरकारका तीन तह
अष्ट्रेलियामा सरकारका तीन तह रहेका छन ।
१. स्थानिय सरकार
२. राज्य सरकार
३. राष्ट्रिय सरकार
स्थानिय सरकारका कामहरु
अष्ट्रेलियाको स्थानिय निका देहायका कामहरुका लागी जिम्मेवार रहन्छ ।
फुटपाथ निर्माण
भवन निर्माण
लाइब्रेरी
कम्युनिटि भवनहरु
फोहर व्यवस्थापन
पार्क तथा मनोरञ्जन केन्द्रहरु
सामुदायिक स्वास्थ
पार्किङ व्यवस्थापन
सामुदायिक सेवा, हेरचाह, र सहयोग
घरपालुवा जवावरहरु
राज्य सरकार
राज्य सरकारका जिम्मेवारीहरु देहायबमोजिम छन ।
शिक्षा र विद्यालय
खेलकुद
आकस्मिक सेवाहरु (प्रहरी, एम्बुलेन्स, दमकल)
सार्वजनिक यातायात
जेल
जन स्वास्थ र सार्वजनिक अस्पताल
वातावरण
बाटाघाटा
राष्ट्रिय सरकार
राष्ट्रिय सरकारका जिम्मेवारीहरु निम्न छन ।
प्रतिरक्षा (सेना, वायुसेना)
करहरु
आप्रवास
सेन्टरलिङ्क
राष्ट्रिय अपाङ्ग बिमा योजना (NDIS)
हुलाक
संचार (फोन र इनटरनेट)
राज्य र स्थानिय सरकारलाई रकम दिने आदी ।
भोट कसले हाल्ने?
१८ बर्ष पुगेका र मतदाता नामावलिमा नाम लेखाएका अष्ट्रेलियन नागरीकहरुले अष्ट्रेलियाको निर्वाचनमा भोट हाल्न पाउछन ।
भोट कसरी हाल्ने?
अष्ट्रेलियाको निर्वाचनमा भोट हाल्न निर्धारण गरिएको स्थानमा गइ मतदान गर्न सकिन्छ ।मतदाता नामावलिमा नाम लेखाएका मतदाताहरुलाई निर्वाचन आयोगले मतदाताको विवरणसहितको ‘Easy Vote Card‘ पठाँउछ । उक्त Easy Vote Card लाई मतदानको दिन तोकिएको मतदान केन्द्रमा लगि मतदान अधिकृतलाई देखाएर मतदान गर्न सकिन्छ । राज्यको चुनाबमा मतदान अधिकृतले तल्लो सदन र माथिल्लो सदनका लागी २ छुट्टाछुट्टै मतपत्र दिन्छन् । मतदान अधिकृतले दिएको मतपत्र मतदान गर्नका लागी बनाइएको सुरक्षित स्थलमा गइ मतदान गर्न सकिन्छ । भोट हाल्न कुनै सहायता चाहिनेले आफुसँगै कोही मान्छेलाई लैजान सकिन्छ अथवा मतदान अधिकृतलाई सहयोग मागेको खण्डमा उनलेपनि भोट हाल्न मदत गर्छन । माथिल्लो सदनमा मतदान गर्न सेतो रंगको र तल्लो सदनका लागी हरियो रंगको मतपत्र प्रयोग गर्नु पर्दछ ।

माथिल्लो सदन
बायाँतर्फ चित्रमा देखाइएको सेतो रंगको मतपत्र माथिल्लो सदनका उम्मेद्वार छान्नका लागी हो । रातो धर्साभन्दा माथी समुहको नाम र तलतिर समुहमा भएका सदस्यहरुको नाम लेखिएको हुन्छ । चित्रमा अंकित रातो धर्सोभन्दा माथी भोट गरेर समुहलाई नै छान्न सकिन्छ । यदि समुहका सबै मन पर्दैनन् भने तल ब्याक्तिलाई मात्रपनि भोट गर्न सकिन्छ । आफुलाई सबैभन्दा बढी मन परेको समुहलाई १ र त्यसपछी क्रमश: मन नपर्ने समुहलाई २,३,४….. लेख्दै जानुपर्छ ।
यदि समुहलाई भोट नगरेर व्याक्तिलाई छान्ने हो भने रातो धर्सो मुनिका सदस्यका नामको अगाडी भएको कोठामा आफुलाई सबैभन्दा मन पर्नेलाई १ र त्यसपछी क्रमश: २,३,४…..हुदै कमसेकम १२ जना सदस्य छान्नुपर्दछ ।
तल्लो सदन
तल्लो सदनका सदस्यहरुलाई भोट गर्नका लागी चित्रमा देखाइएजस्तो हरियो रंगको मतपत्र उपलब्ध गराइन्छ । मतपत्रमा उम्मेद्वाहरुको नाम लेखिएको हुन्छ । उम्मेद्वारको नामको अगिल्तिर खाली कोठा र पछिल्तिर पार्टीको नाम अथवा स्वतन्त्र भए स्वतन्त्र लेखिएको हुन्छ । यसरी तल्लो सदनमा मतदान गर्न आफुले सबैभन्दा बढी रुचाएको उम्मेद्वारको अगाडी भएको कोठामा १ र त्यसपछी जसकिउञ्जेल क्रमश: २,३,४….. लेख्दै जानुपर्छ ।
यसरी मतदान गरिसकेपछी उपयुक्त मतपेटीकामा मतपत्र खसाल्नुपर्छ । मतदानस्थलमा तल्लो र माथिल्लो सदनका लागी छुट्टाछुट्टै मतपत्र उपलब्ध हुन्छन ।
गल्ति भएमा के गर्ने?
यदि मतदान गर्ने बेलामा कुनै गल्ति गर्नुभयो भने जहांबाट मतपत्र लिएको त्यहि लैजानुपर्छ र त्यहा भएका मानिसलाई गल्ति भएको कुरा बताउनुपर्छ । उनीहरुले गल्ति भएको मतपत्र राखेर नयां खाली मतपत्र दिन्छन ।
Leave a Reply