मतपेटिकामा एसिड हाल्न खोज्ने जनप्रतिनिधि रहेको खुलासा

२८ नोभेम्बर २०१७, रुकुम-आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको क्रममा आठविसकोट नगरपालिका–३ को मतदानकेन्द्र हिमालय मावि खदीको मतपेटिकामा एसिड हाल्न खोज्ने महिला रुपा विक सोही वडाकी निर्वाचित वडा सदस्य रहेको खुलेको छ ।

उनी गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचको क्रममा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर दलित महिला कोटामा निर्वाचित भएका थिइन् । नेकपा माओवादी केन्द्रबाट आठविसकोट नगरपालिका प्रमुखमा निर्वाचित गोर्खबहादुर केसीले रुपा निर्वाचित वडा सदस्य रहेको पुष्टि गरे । उनले अरु कसैको उक्साहटमा उनले त्यस्तो गरेको हुनसक्ने पनि बताएका छन् । 

पक्राउ परेकी महिला जनप्रतिनिधि रहेको हल्ला सुनिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए । उनलाई सोमबार बेलुकी मात्रै जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको छ । ‘पक्राउ परेकी महिलालाई हिजो बेल्का मात्रै जिल्ला ल्याइएको छ,’ डिएसपी धमलाले भने, ‘अब अनुसन्धान भएपछि खास कुरो खुल्ला ।’

डिएसपी धमलाका अनुसार उनले मतपेटिकामा खसाउन थालेको मतपत्र उनको हातमै जलेको अवस्थामा प्रहरीले देखेको थियो । मतदान अधिकृत तथा कर्मचारीहरुबाट सबै प्रक्रिया पूरा गरेर मतपत्रमै एसिड राखी सोही मत पत्र मतपेटिकामा खसाउने प्रयास प्रहरीले सफल हुन दिएको थिएन ।

सोही तरिका अपनाएर मतपेटिका एसिड राखिएपछि २ मतदान केन्द्रमा पुन: निर्वाचन हुने भएको छ । बाँफिकोट गाउँपालिका–५, को रत्न आधारभुत विद्यालयका क मतदान केन्द्रको प्रतिनिधि सभा तर्फको मतपेटिकामा एसिड हालिएको थियो । यस्तै आठविसकोट नगरपालिका–११, को नेपाल राष्ट्रिय मावि गतसैनाको ख मतदान केन्द्रको समानुपातिक तर्फको मतपेटिकामा पनि एसिड हालेकै कारण त्यस भित्रका मतपत्र जलेका छन् भने उक्त ठाउँमा पनि पुन: मतदान हुने भएको छ । दुवै मतपेटिकामा एसिड हालेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

बाँफिकोटको मतपेटिका एसिड हालेको आशंकामा सोही ठाउँकी कल्पना केसी र आठविसकोटको मतपेटिकामा एसिड हालेको भन्दै सोही चुनावमा खटिएका कांग्रेसका प्रतिनिधि केशव खड्का पक्राउ परेका छन् ।

http://bit.ly/2AaLnDO

Leave a Reply