दशैंमय भयो साउथ अष्ट्रेलियाको संसद भवन
५ अक्टोवर २०१७, एडिलेड- विजया दशमीपछिको पुर्णिमाको दिन दिउसोको ३:३० बजेतिर साउथ अष्ट्रेलियाको संसद भवन नेपालीहरुले खचाखच भरिएको थियो । न त कुनै बैठक थियो, न भेटघाट । उक्त नेपालीहरुको जमघट नेपालीहरुको महान चाड दशैंको टीकाका लागी भएको थियो । उपस्थित नेपालीहरुलाई टीका लगाउनका लागी तयार हुदै थिए साउथ अष्ट्रेलियाको संसदको माथिल्लो सदनमा सभाध्यक्ष रसेल वट्ली र टोरेन्स शहरबाट संसदमा प्रतिनिधित्व गर्ने डाना वट्ली । शुरुमा नेपालीहरुको तर्फबाट रसेल र डानाले टीका थापेका थिए । नेपालीहरुको तर्फबाट रसेल र डानालाइ टीका लगाईदिएकि थिइन नेपालबाट छोरी ज्वाईको निमन्त्रणामा अष्ट्रेलिया आएकि मञ्जु सिटौलाले । यसरी अष्ट्रेलियामा आएर साउथ अष्ट्रेलियाकै संसदमा साउथ अष्ट्रेलियाको संसदका सभाध्यक्षलाई दशैंको टीका लगाउन पाउदा निकै खुसी लागेको प्रतिकृया मञ्जु सिटौलाको रह्यो ।
“साउथ अष्ट्रेलियाको संसदमा नेपालीहरुको साथमा नेपालीहरुको महान चाडमा ऐतिहासिक रुपमा संसदका सभाध्यक्षबाट टीका ग्रहण गर्न पाउदा गर्व महशुस भैरहेको छ । ” गैर आवासीय नेपाली संघ अष्ट्रेलिया उपाध्यक्ष अशोक केसीले भने । ” सभाध्यक्षले हाम्रो पर्वलाई दिएको यो महत्व सराहनिय छ ।” उनले थपे ।
साउथ अष्ट्रेलियाको सरकारी तहबाट यत्तिको महत्व पाउनु नेपालीहरुका लागी निकै खुसीको क्षण भएको एडिलेड नेपाली समाजकि संस्थापक अध्यक्ष सर्वदा घिमिरेले बताईन ।
कार्यक्रममा करिब ८० जना नेपालीको सहभागीता रहेको थियो । नेपालीहरुको लागी सेल लगायतका खानाको समेत व्यवस्था गरिएको थियो ।
क्रिस्चियन भइकनपनि निसंकोच उनीहरुले नेपालीहरुको दशैंको रातो टीका लगाए र उपस्थित नेपालीहरुसँग खुसीमात्र साटेनन दुर्गा भगवतिसँग आशिर्वादसमेत मागे ।
Leave a Reply