एडिलेडमा नेपाल सम्बत तथा म्हपुजाको भब्य तयारी
२५ सेप्टेम्वर २०१७, एडिलेड- निकै नै सक्रिय नेपालीहरु रहेको साउथ अष्ट्रेलियाको एडिलेडमा यस वर्षदेखी म्ह पुजा पनि भब्यताका साथ मनाउने तयारी गरिएको छ । २० अक्टोवर, शुक्रवारका दिन 242 North East Road, Klemzig मा अवस्थित Klemzig Community Hall मा कार्यक्रम मनाउने तयारी गरिएको आयोजक गुठी साउथ अष्ट्रेलियाले बताएको छ । कार्यक्रम अपह्रान्न ५ बजेदेखी हुने बताइएको छ भने प्रवेश शुल्क $३० तय गरिएको छ । Grace International Adelaide ले मुख्य रुपमा प्रायोजन गरेको उक्त कार्यक्रमलाई 360 Expert Home Loans, Smart Tax Accounting, Taste of Himalaya, The Manager, Himalayan Experience लगायतले प्रायोजन गरेका छन ।
म्हपुजा नेवार समुदायमा हरेक बर्ष मनाइने सांस्कृतिक पर्व हो । नेपाल संवतको पहिलो दिनमा मनाइने यस पर्वमा आफ्नो आत्माको पुजा गर्ने गरिन्छ जसबाट आत्मा शुद्दिकरण हुने तथा ब्याक्तिको मानसिक तथा शारीरिक क्षमतामा बृद्दि हुने विश्वास गरिन्छ ।
“म्ह पुजा” अर्थात आफ्नै पुजाले आफ्नो आत्मा पुजा भन्ने अर्थ राख्छ । यस पर्वले नेपाल सम्वतको पहिलो दिनको महत्वलाईपनि उजागर गर्ने गर्दछ । नेपालमा मात्र मनाइने “म्हपुजा” नेपालीहरुको बसोवास विश्वभर फैलिएसँगै विदेशमा पनि धुमधामसँग मनाउन थालिएको छ ।
यस पर्वमा परीवारका हरेक सदस्यका लागी घरको भुईमा क्रमैसँग मन्डला को चित्र बनाउने गरिन्छ । अन्त्यमा मृत्युको संवाहकहरुका लागी दुइवटा मन्डलाको चित्र बनाउने गरिन्छ । बाँच्नका लागी अत्यावश्यक वस्तुहरु जस्तै पानी, गाग्रो कुचोलगायतका सामाग्रीका लागी पनि मण्डला बनाउने गरिन्छ र उक्त मण्डलाहरुमा सांस्कृतिक खाना, फुकिएको धागो (क्वखा), भिजाएका रंग, दियो, धुप, फुललगायतले पुजा गर्ने गरिन्छ ।
उत्सवको पहिलो भागमा आफ्नो मण्डलामा खुट्टालाई क्रस गरेर परीवारका सदस्यहरु क्रमैसँग बस्छन र परीवारकि मुख्य स्वास्नीमन्छेले आफ्नो टाउकोमा लगाइएको रंगको डोब बनाउछिन र हरेक सदस्यलाई खेलु इता:, क्वखा र त:सिव्ब (कागती) उपहार दिन्छिन, जुन लामो आयु तथा जीवनमा फलिफाव हुने आशिर्वादका रुपमा ग्रहण गर्ने गरिन्छ ।
दोस्रो भागमा तिनै महिला दहीको घडा लिएर हिड्छिन र परीवारका सदस्यले उक्त घडाबाट दही लिएर आफ्नो मन्डलामा राख्छन । त्यसपछि सहभागीहरुलाई उसिनेको अण्डा, माछा र जाडबाट बनेको एक विशेष प्रकारको खाना दिने गरिन्छ ।
पुजामा ब्रहमाण्डको प्रतीक मानिने मन्डलाको पुजा मुख्य मानिन्छ ।
Leave a Reply