नेपाली युवाको अष्ट्रेलिया अस्पताल अनुभव

पैसाका बारेमा डाक्टरले एकपटकपनि कुरा गरेनन- मिलन दाहाल

Doctor Talking To Couple On Ward३० जनवरी २०१७, एडिलेड- अष्ट्रेलियाको भिषा कन्डिसनको एक अपरिहार्य पाटो ‘स्वास्थ-बीमा’ अर्थात ‘हेल्थ इन्सुरेन्स’ हो जुन हामी नेपालीहरुले शुरुमा फगत भारका रुपमा लिएका हुन्छौं । एकातिर नेपालमा इन्सुरेन्सको कन्सेप्ट नया छ भने इन्सुरेन्सनबाट क्षतिबापत भुक्तानी पाउने कानुनी ब्यवस्था जटिल तथा बीमासम्बन्धि कानुन उचित रुपमा लागु हुननसक्दा हाम्रो इन्सुरेन्सप्रतिको सोच नै नकारात्मक हुन गइ यसलाई फजुल खर्चका रुपमा लिने बानी बनिसकेको हुनेरहेछ ।

मेरो करीब तीन दशकको जीवनमा हस्पिटलका निकै अनुभवहरु छन । नेपालको त हुने नै भयो । संयुक्त अधिराज्यको सामान्य र आज मैले विशेष चर्चा गर्न गइरहेको अष्ट्रेलियाको । नेपालमा करीब १ बर्ष अस्पतालमा बिताएको छु मैले । नेपालको कहालिलाग्दो स्वास्थ ब्यबस्था (खासगरी बिपन्नका लागी), जुन उचित स्वास्था सेवासम्म पहुच बनाउन नै गार्हो छ, पंहुच बनिहालेपनि आर्थिक रुपले धान्न कठिन छ, को चर्चा गर्न गइरहेको छैन । हामी सबैलाई यसबारे ज्ञान छ नै ।  

२०१४ को शुरुवाततिर देखी अष्ट्रेलियामा रहेको मैले अष्ट्रेलिया आउनुअघि दुइजनाको स्वास्थ-बीमा बापत करीब नेपाली चारलाख रुपया तिर्दा निकै गार्हो महशुस भएथ्यो । आर्थिक संकटका बेला दुइबर्षको युकेको कठिन जीवनले जगाइदिएको राष्ट्रवादको भुत ६ महिनाको नेपाल बसाइका भोगाइहरुको भगाईदिएपछि राष्ट्रका लागी देशमै बसेर केहि गर्न नसकेपनि प्रवासमा बसेर नै देश र आफ्नालागी केहि गर्ने निष्कर्षमा पुगेको म स्वयमंलाई पनि आर्थिक संकट छदै थियो । त्यसमाथी कलेज फि बाहेकको करीब चार लाख रुपया मेरा लागी सामान्य रकम थिएन । निक्कै गार्हो भयो ब्यवस्थापन गर्न । मनमनै सरापें, अष्ट्रेलियन सरकारलाई पनि । आप्रवासि लुट्न पल्केको अष्ट्रेलिया । अष्ट्रेलिया आइसकेपछिपनि बिरामी पर्दै परिएन शुरुका दुइबर्षसम्म । साथीहरुले तिरेको हेल्थ इन्सुरेन्सको फाइदा उठाउन हेल्थ चेक-अप गर्न नसुझाएकापनि होइनन् । एक त ब्यस्त जीवन शैली, दोस्रो केही नभइ अस्पताल नजाने नेपाली पारा । फेरी सिरेन्जदेखी सानैदेखी अत्यन्त डर लाग्ने बानीले पनि मलाई अस्पतालबाट टाढै रहन प्रेरीत गर्ने गर्दथ्यो ।

दुइबर्षको इन्सुरेन्स खर्च फगत गयो । न मलाई न श्रीमतिलाई नै एकपटक डाक्टरकहा जान पर्यो । भिषा रिन्यु गर्न इन्सुरेन्स अपरीहार्य । तर यसपटक मैले टाउको दुखाइन । मेरालागी अष्ट्रेलियाको हेल्थ इन्सुरेन्स भिषा कन्डिसनको एक शर्त भन्दा बढी केही थिएन । भिषा एक्टेन्सन गराउने परामर्षदातालाई नै सबैभन्दा सस्तो इन्सुरेन्स पोलिसि खोजिदिन आग्रह गरें । केही इमेल आए, इन्सुरेन्स कम्पनीहरुबाट । राम्रोसँग पढिनपनि । पहिलाको कम्पनीबाट कार्ड आएको थियो । यो कम्पनीबाट आएन । सोधखोजपनि गरिन । सोचें, सस्तो कम्पनी न हो ।

२०१६ को डिसेम्बरको अन्तिम साता, क्लाईन्टसँग कतै घुमिराखेको थिए । करीब १२ बजेको हुदो हो, एक्कासी पेट दुख्यो । खाना खाने समय भएको ठाने । शहरबाट अलि परको डाडोमा पुगेकाले खाजा खाने उचित ठाउ त्यो थिएन । फेरी क्लाईन्टलाईपनि मनाउनुपर्ने । डाडाबाट अर्लिएर करीब १.३० बजेतिर खाजा खाए । पेट दुखाइ घट्ला ठानेको झन बढ्न थाल्यो । खासमा मसँग त्यस दिनसम्म ग्यास्टिकका कारणले पेट दुखेको पनि अनुभव थिएन । नेपालीहरुमा अपबाद थिए म यस मामलामा । बल्ल तल्ल क्लाईन्टलाई करीब २.३० सम्ममा उसको घरसम्म पुर्याए । मेरो दुखाई मेडिकल भाषामा ‘चरम’ अवस्थामा पुगिसकेको थियो त्यसबेलासम्म । केहीबेर आराम गरे तर दुखाई बीसको उन्नाईस नभएपछि चार बजे सकिने कामलाई तिनबजेसम्म छोट्याएर घर जाने निर्णय गरे । सुपरभाइजरसँग कुरा गरेर गाडीसम्म त गए, तर गाडि चलाउने आट आएन । त्यसपछी घरमा रहेकि श्रीमतिलाई लिन आउन भने । त्यहि बिचमा दुइबटा दुखाई कम गर्ने औषघी लिए, तर अलिकत्तिपनि फरक परेन । एकपटक बान्तापनि भयो । बान्ता भएपछि त केही राहत होला ठानेको थिए, अह भएन । श्रीमती र सालो केहिबेरमा लिन आए । कारको सिटलाई पुरै ढल्काएर सुतेर घरसम्म आए ।  बाटामा एक सुपर स्टोरमा गाडी रोक्न लगाएर श्रीमतिलाई खरभुजा लगायतका चिसा फलफुलहारु किन्न पठाए । दुखाइ यस्तो थियो थियोकि पेटभित्र ठुलो साइजको कोइला डुलिरहेथ्यो । घर आएर ति चीसा फलफुल खादै पुन केहीबरे आराम गरे । दुखाइ रत्तिभर घटेन । बरु बढ्यो । सामान्य दुखाइ होइन यो भन्ने महशुस त्यसबेलासम्म मलाई भएसकेको थियो । त्यसपछि, नेपाली शैलीलाई बाईबाइ गर्दै त्यहाको एक सरकारी अस्पताल गएं जुन मेरो पहिलो अष्ट्रेलियन अस्पतालको पहिलो अनुभव थियो ।

श्रीमतिलाई गाडी चलाउन बल्ल-तल्ल सिकाएको थिए । पोख्त नभएपनि राम्रै काम दिएको थियो यसपाला । अस्पतालको इमरजेन्सिमा गए । नियम कानुन त्यहि हो यो देशमा । एमरजेन्सीको रिसेपसनिष्ट सँग भेट्न नै करीब आधा घण्टा लाग्यो । आफु पहिलोचोटी अस्पताल गएकाले नया फाइल निर्माण गर्नुपर्ने चटारो । सायद मेरो ब्यथाको खास तरीकाले बर्णन गर्न सकिन मैले, प्रथमिकतामा आठौं स्थानमा परेछु । त्यसमाथी अन्य आकस्मिक प्राथमिक आगमनहरुले मलाई पछाडि लैजादै जाने । निकै गार्हो भैसकेको थियो त्यसबेलासम्म मलाई । बस्नसक्ने अबस्था नभएका कारण सुत्नमिल्ने कुर्सी खोजीरहेथे मेरा आखाहरुले । केहीबेरमा सुत्नमिल्ने एउटा कुर्सी खाली भयो, हतार हतार गएर सुतें । पेटमा घुमिरहेको रातो आगोको डल्लाले सुत्नपनि दिइरहेको थिएन । घरि सुत्दै, घरि उठ्दै, घरि हिड्दै करीब साढे तीन घण्टापछी मेरो बोलाहट भयो । लामो सास फेरे, र भित्र गए । बाच्ने झिनो आश पलायो । इमर्जेन्सीमा बल्ल-बल्ल बेड त पाईयो तर डाक्टरको हाहाकार । भित्र बेडमा त्यही हालत शुरु भयो- सुत्ने, उठ्ने र हिड्ने क्रमिक रुपमा । रातको ११ बजेसम्म मेडिकल अफिसर समय समयमा आएपनि बिशेषज्ञ डाक्टर ब्यस्स्ताका कारण आएन । म दुखाइका कारण निक्कै कमजोर भइसकेको थिए । रातको ११ बजेतिर पुन: बान्ता भयो । घरमा खाएका फलफुलहरु थियो त्यो । त्यसपछिका घटनाक्रमहरु मेरो मानसपटलमा छैनन् । त्यसपछिको कुनै समय इमरजेन्सीबाट बार्डमा सिफ्ट गरेको अलिअलि थाहा छ ।

भोलीपल्ट बिहान करीब ११ बजेतिर मेरो जिउमा एक्कासी कम्पन शुरु भयो । इमरजेन्शि बेल बजाइन नर्सले । निक्कै कर्मचारीहरु मेरो बार्ड वरपर जम्मा भए । कसैले इसिजी गरे, कसैले ब्लड प्रेशर लिए, कसैले तापक्रम, कसैले सिरेन्जले ब्लड धेरैचोटि । डाक्टरले आएर सोधे- “के भइरहेको छ?”

“अरु त केही छैन, तपाईले देखिरहेजस्तै मेरो शरीर कापीरहेको छ ।“ मैले जवाफ दिए ।

“पेटको दुखाइ?” डाक्टरले फेरी सोधे ।

“जस्ताको तस्तै । “ मेरो रेडिमेड उत्तर ।

पेटमा छामेर डाक्टर केहीबेरका लागी गए र पुन आएर भने-, “यो तिम्रो हामीले ठानेजस्तो सामान्य दुखाई होइन रहेछ । कि त गल ब्लाडरमा स्टोन हुनुपर्छ, कि त एपेन्डिसाइसिस । सिटि स्क्यानले यो कुरो निर्धारण गर्छ, जुन हामी चाडै गर्न गैरहेका छौं । जे भएपनि तुरुन्त अप्रेशन गर्नुपर्छ तिमी मानसिक रुपमा तयार भएर बस । “

म छागाबाट खसेजस्तो भए । इमरजेन्सीबाट प्रवेस पाउन करीव चार घण्टा र ईमरजेन्शसीमा डाक्टरको दर्शन पाउन करिब ६ घण्टा कुर्नुपरेको अस्पतालमा यती चाडै अप्रेशनका लागी मानसिक रुपमा तयार होउ पो भन्छ । मलाई वार्डमा सारीसकेपछी घर पठाइएका मेरा आफन्तहरु त्यसबेलासम्म पुन: अस्पताल आईसकेका पनि छैनन् । मेरा दशौं रक्तपरीक्षणहरु भैँसके, मलाई दर्जनौं औषधिहरु चढाईसकिए । अहं, कोहीपनि एकपटक फार्मेसी गएको छैन । एक रुपियापनि खर्च भएको छैन । मैले सोचेको थियो, डाक्टरले केहीबेरमा आएर भन्नेछ- काउन्टरमा गइ सिटि स्कायान र अप्रेशनका लागी चाडो यति पैसा जम्मा गराउ ।

मनभरी त्रास लिएर, श्रीमतिलाई चाडो आउन फोन गर्दै बसिरहे हस्पिटलको बार्डमा । मेरो नेपाली हस्पिटल अनुभव वास्तवमा त्यस्तै थियो । मलाई सिटि स्क्यान गर्न लैजानपनि त कोहि चाहिन्छ सोच्दै श्रीमतिलाई फेरी भने, अरुपनि कोहि छ भने लिएर आउ ।

केहीबेरमा हस्पिटलकै दुइजना स्टाफ आएर मेरै बेडलाई गुडाउदैं सिटि स्क्यान रुमसम्म लगे । सिटि स्क्यान भयो । पुन: म बार्डमा ल्याईए । मलाई क्याथेटर लगाईयो, जुन अप्रेशनपछिको युरिन आउटपुट मोनिटरिङका लागी सहज हुनेभएकाले र मलाईपनि बारम्बार बाथरुम जान नपरोस भनेर रहेछ । प्रि-अपरेशन एन्टिबायोटिक आई-भि दिइयो । केहीबेरमा डाक्टर आएर पुन भने:- “तिमीलाई उच्च प्राथमिकतामा राखिएको छ र तिम्रो अप्रेशन हाल ल्यावमा भइरहेको अप्रेशन सकिनासाथ हुनेछ । जसका लागी करीब पैतालिस मिनेट कुर्नुपर्ने छ र अपरेशन करीब चार घण्टाको हुनेछ ।“

त्यसपछी डाक्टरले अप्रेशनको तरीकाबारे प्रस्ट पारे । पछाडी एनेस्थेटिक डाक्टरले कस्तोखाले एनेस्थेसिया प्रयोग गर्ने भन्नेबारे जानकारी गराउने भन्ने कुरापनि बताए । मेरो दिमागमा त्यसबेला एउटै कुरामात्र घुमिरेहेको थियो, काउन्टरमा अप्रेशन अगाडी पैसा जम्मा गर्ने र जम्मा गर्न नसके अप्रेशन हुन नसक्ने । किनभने त्यसको चपेटामा म पटकपटक परिसकेको छु नेपालमा । र धेरैलाई गहभरी आशूसँग देखिसकेको छु त्यो अवस्थामा ।

सानो स्वरमा डाक्टरलाई भने- “डाक्टर यो सबै कुरा त भन्नु भो । पैसाको त कुरै गर्नुभएन । मैले कति पैसा जम्मा गर्नुपर्छ अप्रेशन अगाडी ?”

मेरो कुराले डाक्टर निक्कै छक्क परेको मैले उसको अनुहारमा पढें । सायद यो उसले सुन्नेखाले प्रश्नहरुभन्दा भिन्न थियो ।

डाक्टरले सोधे – “तिम्रो स्वास्था-बीमा छ हैन ?”

मैले भने ‘छ’ ।

“पोलिसि नम्बर र कम्पनीको नाम दिएका छौ नी तल?” डाक्टरले फेरि प्रश्न गरे ।

“दिएको छु ।“ मैले जवाफ फर्काए ।

“तिम्रो काम सकियो त्यसोभए । बाकी अस्पाल र ईन्सुरेन्स कम्पनीको काम हो । तिमी अप्रेशन र चाडो रिकभर हुने कुरामा ध्यान लगाउ ।“ डाक्टरले भने ।

मेरो दुखाइको पिडा त कम भएको थिएन तर मनमा यति धेरै आनन्द लागेर आयो कि दुखाई बिर्सिए केहिबेर । मनमनै छक्क परे दुनियामा यस्तो ठाँउपनि हुदोरहेछ, बिना काउन्टरमा पैसा जम्मा, बिना औषधी खरीद, बिना सिटि स्क्यान पेमेन्ट…………सर्जरी । केहीबेरमा श्रीमति आइन । अप्रेशनको बारेमा बृहत कुरा भए । अन्तत: उनकोपनि मनमा शान्ति र खुसियालि छायो ।

केहीबेरमा मलाई अपरेशन थिएटरमा लगियो र अपरेशन भयो । अप्रेशनपछी डाक्टरले थाहा पाएछन, केही ढिला भइसकेको रहेछ अप्रेशन गर्न । एपेन्डिसाइटिसको अप्रेसनको भोलिनैपल्ट सामान्य अवस्थामा डिस्चार्ज दिइदोरहेछ अष्ट्रेयामा । मेरो अवस्था निकै जटिल भैसकेकाले निकै पावरफुल एन्टिबायोटिक दिदै करीव एक हप्ता अस्पताल राखियो । हिसाब गरे अफ्नो अप्रेशन र अस्पताल बसाईको । करीब २५,००० अष्ट्रेलियन डलर हुन आयो सामान्य खर्चहरु छोडेरपनि । डिस्चार्जका बेलामा मेरो हातमा केलब एक कागजको चिर्कटो थियो, कामका लागी बिरामी प्रमाणपत्र ।

नेपालको स्वास्थ अवस्था सम्झिए । अस्पतालमा समान्यभन्दा सामान्य उपचार गराउन नसकि मर्ने बहुसंख्यक नेपाली जनता अनि स्वास्थ लाई ब्यापार बनाउने सपना देख्ने माफियाहरुलाई समझिए । गरीब नेपाली जनताको लागी यस्तैखाले स्वास्थ सुविधाको सपनामा रुमल्लिएर आफ्नो ज्यानको बाजी राख्दे दशौं पटक अनशन बस्ने पागल डाक्टरलाई सम्झिए अनि पाच-दस लाखको प्राइभेट अस्पतालको सेयरको आडमा डाक्टर केसीको त्रिवि शिक्षण अस्पतालबाट बर्खास्तिको माग राख्दै सडकमा कुर्लने मगज ठिक भएका नेपाली जनतालाई सम्झिए । भित्र भित्रै एक अनौठो त्रास मडारिएर आयो, “साँच्चै डाक्टर केसी रहेनन् भने के होला नेपालको स्वास्थ सेवाको अवस्था ?”

Leave a Reply