नेपाल परापुर्वकालदेखी स्वतन्त्र र सार्वभौम देश हो
१५ मे २०१६, एडिलेड- नेपालको इतिहास आजको होइन । नेपालमा शासनसत्तामा जान पढेलेखेका मानिसहरुका उदासिनताका इतिहासमा नेपाल आज सबैभन्दा कठिन घडिबाट गुज्रिरहेको भएपनि नेपालको इतिहास भने निकै पुरानो र नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता पनि निकै पुरानो रहेको कुरा धेरैलाई थाहा नहुन सक्छ। ऋषि मरिचीका छोरा , कश्यप ऋषिका भाई ” ने मुनि “ले कुनै देवीको तपस्या गरेपछि ती देवीको आज्ञा अनुसार उनले यस मुलुकमा साशन गरेकाले यसको नाउँ ” नेपाल ” रहन गएको हो भन्नेकुरा हिमवतखण्ड , पशुपति पुराण , चतुरक महाभारत नाटकले पुष्टि गरेको पाइन्छ । अथर्व परिशिष्टमा नेपाल नामको चर्चा छ । कौटिल्यको अर्थ शास्त्रमा नेपालको कम्बल ,राडी ,पाखी पाटलीपुत्रको बजारमा (पटना ) निकै माग भएको कुरो जनाइएको छ । महाभारतको बन पर्वमा नेपालको नाम उल्लेख गरिएको छ । जैन ग्रन्थमा अजातशत्रुको आक्रमणबाट जोगिन लिच्छवीहरु नेपाल पसेको कुरो जनाइएको छ । कश्मिरी कवि कल्हणले लेखेको पुस्तकमा काश्मिरका राजा जयापिड र नेपालका राजा अरमुण्डीका बीच लडाई भएको उल्लेख छ । टिश्टुङ्गको अभिलेखमा वसन्त देव र अंशुवर्माले नेपालीहरुको कल्याण होस् भनि “स्वस्ति नैपालेभ्य :” भनेर कामना गरिएको छ । यी प्रमाणहरुले नेपाल अति प्राचिन , स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्नेकुरा पुष्टि हुन्छ ।
गोपाल वंशावलीको भनाई अनुसार पशुपतिको प्राचिन मन्दिर भत्किएर त्यहाँको ज्योतिर्लिङ्ग पुरिएपछि दानासुरले काठमान्डू उपत्यका जलमग्न गरायो अनि भगवान कृष्ण द्वारिकाबाट काठमान्डू आई चोभारबाट पानि निकाली दानासुरको दमन गरे । भगवान कृष्ण संग आएका गोपहरुनै तत्कालिन पदमकाष्ठगिरि (कीर्तिपुर) पुरमा बस्न थाले । यसै वंशका निप जातिहरुको नाउबाट यस मुलुकको नाम नेपाल रहन गएको कुरो प्रा.डा .श्री रामप्रसाद उपाध्यायले नेपालको प्राचिन इतिहाँसमा जनाएका छन् । गोपाल वंशले नेपालमा ५२१ बर्ष शासन गरेको थियो । यस वंशको अन्तिम राजा निसन्तान भएपछी महिषपाल वंशको उत्पति भयो । यस वंशको अन्तिम राजा भुवन सिंहको समयमा किरांतहरुले आक्रमण गरी शासन सत्ता आफ्नो हातमा लिए ! यस वंशका संस्थापक यलम्वर मानिन्छन । किराँतको अन्त्य पछि नेपालमा लिच्छवी वंशको शासन आरम्भ भएको थियो ।
Leave a Reply