ताजा समाचारहरु

नेपालको भविष्यवारे अस्ट्रेलियामा अन्तरक्रिया

१८ नोभेम्बर २०२६, सिड्नी- अस्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया तथा संघको सीप, ज्ञान तथा नवप्रवर्तन समिति (Skills, Knowledge and Innovation – SKI) को संयुक्त आयोजनामा ‘IIDS Goes Global: Australia’ अन्तरक्रिया कार्यक्रम आज सिड्नीस्थित मेरिल्याण्ड्समा रहेको एनआरएनए अष्ट्रेलियाको कार्यालयमा सम्पन्न भएको छ। ‘आगामी नेपालको निर्माणमा नेपाली डायस्पोराको भूमिका’ (Role of Nepali Diaspora in the Next Nepal) विषयमा केन्द्रित उक्त कार्यक्रममा नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा विश्वभर छरिएर रहेका नेपाली समुदायले खेल्न सक्ने भूमिका, ज्ञान तथा सीपको आदानप्रदान, लगानी, उद्यमशीलता र संस्थागत सहकार्यका विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रममा नेपालको प्रतिष्ठित संस्था इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (IIDS) का कार्यकारी अध्यक्ष डा. विश्वास गौचन, FCA ले विशेष प्रस्तुति दिनुभएको थियो। कार्यक्रमको अध्यक्षता एनआरएनए अष्ट्रेलियाका सीप, ज्ञान तथा नवप्रवर्तन समिति (SKI) का संयोजक डा. रामकृष्ण निरौलाले गर्नुभएको थियो। डा. गौचनले नेपालको वर्तमान आर्थिक अवस्था, विकासका चुनौती तथा सम्भावनाहरूलाई विभिन्न तथ्याङ्क, अध्ययन र नीतिगत दृष्टिकोणका आधारमा प्रस्तुत गर्नुभएको थियो। उहाँको प्रस्तुतिमा नेपालबाट भइरहेको युवा तथा दक्ष जनशक्तिको बाह्य पलायन, आन्तरिक रोजगारी सिर्जना, उद्यमशीलताको विकास, वैदेशिक लगानी आकर्षण तथा देशभित्रै आर्थिक अवसर विस्तार गर्नुपर्ने विषयहरू विशेष रूपमा उठाइएका थिए। कार्यक्रमको एउटा महत्त्वपूर्ण पक्ष नेपालको वास्तविक विकास अवस्था र चुनौतीहरूलाई तथ्य तथा अनुसन्धानका आधारमा बुझ्नुपर्ने आवश्यकता थियो। राजनीतिक भाषण र सामाजिक सञ्जालमा प्रस्तुत हुने कतिपय धारणा तथा तथ्याङ्कभन्दा वास्तविक अवस्था फरक हुन सक्ने विषयलाई डा. गौचनले विभिन्न तथ्याङ्क र विश्लेषणमार्फत स्पष्ट पार्नुभएको थियो। यसले सहभागीहरूलाई नेपालको विकाससम्बन्धी विषयलाई थप गम्भीर, यथार्थपरक र नीतिगत दृष्टिकोणबाट हेर्न प्रेरित गरेको थियो।

कार्यक्रमको अन्तरक्रिया सत्रमा सहभागीहरूले महत्वपूर्ण जिज्ञासा तथा सुझावहरू प्रस्तुत गरेका थिए। ओसियानाका पूर्व क्षेत्रीय संयोजक श्री महेन्द्रकुमार लम्सालले वंशजका आधारमा प्राप्त हुने नागरिकताको अधिकार (Banshaj Nagarikta) सम्बन्धी प्रावधानलाई थप स्पष्ट र सहज बनाउनुपर्ने विषय उठाउनुभयो। विदेशमा रहेका नेपालीहरूलाई नेपालको आर्थिक विकासमा लगानी गर्न प्रोत्साहित गर्न नागरिकतासम्बन्धी अधिकार र नीतिगत सुनिश्चितताको महत्त्व उहाँले औँल्याउनुभयो। त्यसैगरी, एनआरएनए एनएसडब्लुका पूर्व संयोजक श्री देवबहादुर गुरुङले गोर्खा सैनिकहरूको नेपालको आर्थिक विकासमा रहेको योगदानलाई विशेष रूपमा उल्लेख गर्नुभयो। गोर्खा सैनिकहरूले प्राप्त गर्ने पेन्सनमार्फत नेपालमा भित्रिने विप्रेषण (Remittance) उल्लेखनीय रहेको बताउँदै नेपालको विकास प्रक्रियामा गोर्खा समुदायको अनुभव, योगदान र सहभागितालाई थप प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा एनआरएनएका आईसीसी उपाध्यक्ष श्री दिनेश पोखरेल, एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष श्री निजान चौलागाईं, एसकेआई समितिका पूर्व संयोजकहरू, क्षेत्रीय संयोजकहरू तथा नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उठेका विषयहरूले नेपाली डायस्पोराको भूमिकालाई केवल विप्रेषण पठाउने स्रोतका रूपमा मात्र सीमित नराखी लगानी, प्रविधि हस्तान्तरण, व्यावसायिक सीप, अनुसन्धान, ज्ञान आदानप्रदान, उद्यमशीलता तथा संस्थागत सहकार्यको महत्वपूर्ण साझेदारका रूपमा विकास गर्नुपर्ने आवश्यकतालाई उजागर गरेको थियो। छलफलको मूल सन्देश नेपाल र विश्वभर रहेका नेपालीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विदेशमा आर्जन भएको ज्ञान, सीप, पुँजी, अनुभव र प्रविधिलाई नेपालको विकासमा जोड्नु आवश्यक छ भन्ने रहेको थियो। यसका लागि लगानीमैत्री वातावरण, प्रभावकारी नीतिगत व्यवस्था, संस्थागत विश्वास र राज्यका निकाय तथा डायस्पोराबीच सार्थक सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको थियो। कार्यक्रमको अन्त्यमा एनआरएनए अष्ट्रेलिया तथा एसकेआई समितिले आफ्नो अमूल्य समय, ज्ञान र अनुभव साझा गर्नुभएकोमा डा. विश्वास गौचनप्रति हार्दिक आभार व्यक्त गरेको थियो। साथै, कार्यक्रममा सहभागी भई महत्वपूर्ण विचार तथा सुझाव प्रस्तुत गर्ने सम्पूर्ण अतिथि र सहभागीहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो। कार्यक्रमको संयोजन, मूल्याङ्कन तथा सहजीकरणमा योगदान पुर्‍याउने एनआरएनए एसकेआई समितिलाई विशेष धन्यवाद दिइएको थियो। नेपालको समृद्ध भविष्य निर्माणमा विश्वभरका नेपालीहरूको ज्ञान, सीप, पुँजी र सामूहिक अनुभवलाई एकीकृत गर्दै संवादलाई व्यवहारिक योगदानमा रूपान्तरण गर्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply