एडिलेडको नेपाल फेस्टिवल: पहिलोपटक ‘मुख्यमन्त्री’ प्रमुख अतिथि
१८ नोभेम्बर २०२६, एडिलेड– विगत एक दशकभन्दा लामो समयदेखि गैरआवासीय नेपाली संघले दक्षिण अस्ट्रेलियामा नेपाली कला, संस्कृति, भाषा तथा परम्पराको पहिचान र प्रवर्द्धन गर्ने उत्सवका रूपमा आयोजना गर्दै आएको ‘नेपाल फेस्टिवल’को सन् २०२६ संस्करण सुरु हुन अब दुई हप्ताभन्दा कम समय मात्र बाँकी रहेको छ। दक्षिण अस्ट्रेलियामा नेपाली समुदायको उपस्थिति, योगदान र सांस्कृतिक विविधतालाई उजागर गर्ने महत्वपूर्ण अवसरका रूपमा हरेक दुईवर्ष आयोजना हुँदै आएको नेपाल फेस्टिवलमा यस वर्ष पनि नेपाली मौलिक कला, लोकनृत्य, संगीत, खानाका परिकार, भेषभूषा तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिने अपेक्षा गरिएको छ। विगतका नेपाल फेस्टिवलहरू दक्षिण अस्ट्रेलियामा नेपाली कला, संस्कृति, भाषा तथा परम्पराको प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण रहँदै आएका भए पनि यसपटकको फेस्टिवल केही फरक र थप प्रभावशाली हुने विश्वास गरिएको छ। यसको प्रमुख कारण दक्षिण अस्ट्रेलियाका मुख्यमन्त्री पिटर मालिनाउस्कस स्वयं प्रमुख अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनु हो।
सत्तारूढ तथा प्रतिपक्षी दलका राजनीतिज्ञ, स्थानीय काउन्सिलका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति विगतका नेपाल फेस्टिवलहरूमा हुँदै आए पनि दक्षिण अस्ट्रेलियाका प्रिमियर अर्थात् मुख्यमन्त्रीको प्रत्यक्ष सहभागिता भने यसअघिका संस्करणहरूमा भएको थिएन। मुख्यमन्त्रीको उपस्थितिले नेपाली समुदायले दक्षिण अस्ट्रेलियाको सामाजिक, आर्थिक तथा सांस्कृतिक जीवनमा पुर्याउँदै आएको योगदानलाई राज्यस्तरमै स्वीकार गरिएको सन्देश दिने आयोजकहरूको भनाइ छ। फेस्टिवलले नेपाली समुदायका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र मौलिक परम्परासँग जोड्नुका साथै अस्ट्रेलियाली समाजमा नेपालको विविधता र पहिचानबारे जानकारी गराउने अपेक्षा गरिएको छ। दक्षिण अस्ट्रेलियाका प्रिमियरको सहभागितालाई यहाँ बसोबास गर्ने नेपालीहरूको बढ्दो पहिचान, सामाजिक प्रभाव र राज्यसँगको बलियो सम्बन्धका रूपमा चित्रण गर्छन गैरआवासीय नेपाली संघ दक्षिण अस्ट्रेलियाका संयोजक थिर गुरुङ। उनका अनुसार नेपाल फेस्टिवल नेपाली समुदायको मात्र कार्यक्रम नभई दक्षिण अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपालको परिचय प्रस्तुत गर्ने साझा मञ्चसमेत हो। कार्यक्रममा ठूलो संख्यामा नेपाली तथा गैरनेपाली दर्शकको सहभागिता रहने र फेस्टिवलले समुदायबीच आपसी सद्भाव, सहकार्य तथा सांस्कृतिक आदानप्रदानलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
गैरआवासीय नेपाली संघले कार्यक्रम २८ नोभेम्बर २०२६ मा एडिलेडको मुख्य बजार क्षेत्रस्थित टरेन्स परेड ग्राउन्डमा आयोजना गर्ने योजनाअनुरूप आवश्यक तयारी अघि बढाइरहेको छ । कार्यक्रमलाई व्यवस्थित, भव्य र प्रभावकारी बनाउन संघले स्थान व्यवस्थापन, अतिथि सत्कार, सांस्कृतिक प्रस्तुति, सहभागीहरूको सुविधा तथा अन्य प्राविधिक पक्षमा समेत ध्यान दिइरहेको छ । नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको यस कार्यक्रममा विविध गतिविधिमार्फत आपसी भेटघाट, सांस्कृतिक आदानप्रदान र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्य राखिएको छ ।
नेपाल फेस्टिवलका दिन बिहान नेपाली समुदायअन्तर्गतका विभिन्न क्षेत्रीय तथा जातीय पहिचान झल्काउने झाँकीसहित नेपाली पोशाक, बाजागाजा र परम्परागत सांस्कृतिक प्रस्तुतिले भरिएको भव्य नेपाली परेडको आयोजना गरिन्छ। परेडमा नेपालको विविध संस्कृति, भाषा, जातजाति र मौलिक परम्पराको झल्को दिने आकर्षक झाँकीहरू प्रस्तुत गरिने भएकाले कार्यक्रमस्थलमा उत्साहपूर्ण वातावरण सिर्जना हुन्छ। दिनभरजसो नै विभिन्न नेपाली सांस्कृतिक प्रस्तुतिहरू, लोकनृत्य, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिन्छन्। कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति, नेपाली कला तथा संस्कृतिको प्रदर्शन र समुदायका प्रतिभाहरूलाई प्रोत्साहन गर्ने विभिन्न गतिविधिहरू पनि समावेश हुनेछन्। यस अवसरमा नेपाली गायिका रचना रिमाल तथा गायक अनिस सिंहको विशेष प्रस्तुति रहनेछ, जसले दर्शक तथा सहभागीहरूलाई थप मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ। नेपाल फेस्टिवलले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो मौलिक पहिचान, संस्कृति र परम्परासँग जोड्नुका साथै स्थानीय समुदायमाझ नेपालको विविधता र सांस्कृतिक समृद्धि परिचित गराउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।
कला–संस्कृतिको प्रदर्शनसँगसँगै नेपाली खानाको प्रवर्द्धन गर्नु पनि अस्ट्रेलियामा आयोजना हुने नेपाल फेस्टिवल कार्यक्रमको अर्को महत्त्वपूर्ण पाटो रहने गरेको बताउँछन् गैरआवासीय नेपाली संघ दक्षिण अस्ट्रेलियाका सचिव युवराज पहाडी। उनका अनुसार फेस्टिवलमा नेपाली मौलिकता झल्काउने विभिन्न परिकार, मिठाई तथा पेय पदार्थको स्वाद लिन पाउँदा स्वदेशी तथा विदेशी आगन्तुकहरू नेपाली संस्कृति र परम्परासँग अझ नजिकबाट परिचित हुने अवसर प्राप्त गर्छन्। आगन्तुकहरूले एकै स्थलमा स्वादिष्ट एवं विविध नेपाली परिकारहरूको स्वाद लिन सकून् भन्ने उद्देश्यले यहाँस्थित नेपाली रेस्टुरेन्टहरूका स्टलहरूलाई समेत थप प्रभावकारी ढङ्गले व्यवस्थापन गरिएको पहाडी बताउँछन्। विभिन्न समुदायका मानिसहरूलाई नेपाली खानाको मौलिक स्वाद चखाउँदै नेपालको आतिथ्य, परम्परा र पाककलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा पनि फेस्टिवललाई हेरिने गरिएको उनको भनाइ छ।

Leave a Reply