एनआरएन दक्षिण अस्ट्रेलिया संयोजकमा तीनजनाको उम्मेद्वारी घोषणा, चारको भिडन्त हुनसक्ने
२९ मे २०२५, एडिलेड- ग़ैर आवासीय नेपाली संघ दक्षिण अस्ट्रेलियामा संयोजक पदमा हालसम्म तीनजनाले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन । संघको आगामी कार्यकालका लागी तय भएको निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालहरुमार्फत उम्मेद्वारी घोषणा गर्ने क्रम पनि शुरु भएको छ । संघले आगामी २६ जुलाई २०२५ मा अस्ट्रेलियाका राज्यसमितिहरुमा निर्वाचन गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।
चुनाव हुन अझै करिब दुई महिनाको समय हुँदा थीर गुरुङ, विनोद वानिया र गणेश पराजुलीले दक्षिण अस्ट्रेलियाको संयोजक पदमा सामाजिक सञ्जालमार्फत आफ्नो आकांक्षा देखाइसकेका छन भने अझै एकजनाको उम्मेद्वारी घोषणा हुनसक्ने जानकारी नेपाल अस्ट्रेलिया समाचारलाई प्राप्त भएको छ । आकांक्षिमध्ये वानिया र पराजुली दक्षिण अस्ट्रेलियाको वर्तमान कार्यसमितिका उपसंयोजक र सचिव हुन भने गुरुङ संघीय समितिका सदस्य हुन ।
गुरुङले नेपाली समुदायिक भवनको मुद्दालाई आफ्नो मूख्य एजेन्डा बनाएका छन भने स्थानिय सरकारसँगको नेपाली समुदायको सम्बन्धलाई सुद्रिढ बनाउने, तथा एनआरएनए दक्षिण अस्ट्रेलियाको विगत देखी वर्तमान सम्मको एक स्मारिका प्रकाशन गर्ने लगायतका एजेन्डाहरु रहेका छन । गुरुङले “नेपाली सामुदायिक हल बनाउने प्रक्रिया का लागि बृहत छलफल र आर्थिक संकलन गर्ने” भनेर आफ्नो पहिलो एजेण्डाका रुपमा प्रस्तुत गरेका छन भने सिड्नी, मेलवर्न लगायतका नेपालीहरुको संख्या बढी रहेका राज्यहरु भर्खरमात्र सामुदायिक भवनको बाटोमा रहेकामा सरकारी तथ्याकंअनुसार १० हजारको हाराहारीमा नेपाली रहेको दक्षिण अस्ट्रेलियामा सामुदायिक भवनको आवश्यकता किन अहिले नै पर्यो भन्ने वारे थप खुलाएका छैन ।
वर्तमान कार्यसमितिमा उपसंयोजक रहेका वानियाका मुद्दा सामुदायिक रहेका छन । उनका प्राथमिकताहरुमा नेपाली समुदायको दक्षिण अस्ट्रेलियाको बाहुसांस्कृतिक समुदायसँगको सम्बन्धलाई थप सुद्रिढ बनाउने, जुवा तथा मदिराका लतका कारण समस्यामा रहेका परिवारहरुको समस्याहरुलाई निराकरणमा भूमिका खेल्ने, नेपाली समुदायमा बढ्दैगरेका मानसिक स्वास्थ समस्याहरुको समाधानका लागी प्रभावकारी कार्यक्रमहरु बनाई तिनको कार्यान्वयन गर्ने, महिला शशक्तिकरणका विविध कार्यक्रमहरु ल्याउने लगायतका छन ।
यसैगरि, वर्तमान कार्यसमितिमा सचिव रहेका पराजुलीको मूख्य एजेण्डाहरुमा दक्षिण अस्ट्रेलियामा नेपाली भाषा, कला, संस्कृतिको प्रवर्दनमा भूमिका खेल्दै अस्ट्रेलियामा अध्यायन तथा अन्य प्रयोजनका लागी आउने आगन्तुकहरुलाई सहयोग मिल्ने खालको वातावरण सिर्जना गर्ने लगायतका छन ।
एनआरएनए अस्ट्रेलियाले आफ्नो सदस्यता दर्ता खुला गरेको छ । एनआरएनए अस्ट्रेलियाको सदस्य बन्न अस्ट्रेलियन डलर ३० तिर्नुपर्दछ । अघिल्लो कार्यकालमा एनआरएनए अस्ट्रेलियामा १६ हजारको हाराहारीमा सदस्यहरु रहेका थिए । सरकारी तथ्याकंअनुसार अस्ट्रेलियामा करिव २ लाख नेपालीहरु बसोवास गर्ने गर्दछन । एनआरएन अस्ट्रेलियाको अघिल्लो कार्यकालमा बनेका जम्मा सदस्यहरुको अस्ट्रेलियामा बस्ने जम्मा नेपाली हरुको १० प्रतिशत भन्दा कम हो । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एनआरएनए अस्ट्रेलियाले प्रकाशन गरेको तथ्याङ्कअनुसार १७ मे २०२५ सम्म जम्मा ५ सय ५७ सदस्य बनेका छन ।
सदस्यता बन्द हुने १-२ दिनअघि मात्र सदस्यहरुको संख्या बढ्ने प्रवृत्तिका कारण एनआरएनए का उम्मेद्वारहरुले आफैले पैसा तिरि आफुलाई भोट हाल्ने मानिसहरुको सदस्यता दर्ता गर्ने गरेको भन्ने आरोप लाग्ने गरेको छ ।
Leave a Reply