एनआरएनए दक्षिण अष्ट्रेलियमा विनोद बानियाको आकाङ्क्षा

२८ मे २०२५, एडिलेड– एनआरएनए दक्षिण अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि  विनोद बानियाले राज्य संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि संस्था र समुदायमा सक्रिय रहेका बानियाँ युथ सदस्य, स्टेट सचिव हुँदै उपसंयोजक समेतको भूमिकामा रही आफूलाई दक्षिण अष्ट्रेलियन नेपाली समुदायको एक सक्रिय सामुदायिक कार्यकर्ताका रूपमा आफूलाई प्रमाणित गरिसकेका छन् । विगतका विभिन्न  अनुभवहरूलाई प्रयोग गरि गैर आवासीय नेपाली संघको प्रभाव र सामुदायिक उत्तरदायित्वलाई  एक स्तर माथि लैजाने प्रतिबद्धतासहित उम्मेदवारी सार्वजनिक गरेको वानियाले नेपाल अस्ट्रेलिया समाचारलाई सुनाए ।

बानियाले आफूले एनआरएनएको संरचना र समस्याहरू नजिकबाट अनुभव गरेको उल्लेख गर्दै सुधार, सहभागिता र नेतृत्व हस्तान्तरणमा आधारित अभियान अगाडि सार्ने बताएका छन्। उनले आफ्नो उम्मेदवारीको प्रमुख उद्देश्य अनुभवमा आधारित दीर्घकालीन सुधार, युवाहरूको सशक्त सहभागिता र समुदायसँगको प्रत्यक्ष सम्बन्धलाई अझ सुदृढ बनाउने बताए।

उनले नेपाली समुदायलाई अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा रहेको पहिचानलाई समेत स्तरोन्नति गरि राज्यका तर्फबाट समुदायलाई हुनसक्ने थप सहायताका ढोकाहरू खोल् रणनीतिक योजनाहरू अघि सार्ने जनाएका छन्। युवाहरुलाई लक्षित गर्दै करियर गाइड, रेज्युमे कार्यशाला र नेतृत्व अभिमुखीकरण जस्ता कार्यक्रमहरू आयोजना गरी दोस्रो पुस्तालाई जिम्मेवारी र नेतृत्वको भावनासँग जोड्ने योजना समेत उनको रहेको बताउछन ।

समुदायमा बढ्दै गरेको मानसिक स्वास्थ्य समस्या, जुवाको लत सम्बन्धी जोखिम र नयाँ विद्यार्थी तथा आगन्तुकहरूको कानुनी तथा व्यवहारिक अभिमुखीकरणमा आधारित कार्यक्रमहरू पनि उनको प्राथमिकतामा छन्। यसैगरी, उनले सदस्यतामार्फत विशेष सुविधा उपलब्ध गराउने ‘मेम्बरशिप बेनिफिट कार्यक्रमहरूलाई थप विस्तार, नेपाली व्यवसायहरूसँग सहकार्य गर्दै छुट र सेवा प्रवाह गर्ने योजनासमेत सार्वजनिक गरेका छन्।

महिला सशक्तिकरणलाई जोड दिँदै बानियाले “सशक्त महिला, सशक्त समाज” भन्ने नारासहित नेतृत्व विकास, आत्मविश्वास निर्माण र सामाजिक सहभागितालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्ने बताए। यस्तै, अघिल्लो कार्यकालका सफल कार्यक्रमहरूलाई निरन्तरता दिँदै नेपाली समुदायको आवश्यकताअनुसार नयाँ परियोजनाहरूको पहिचान र कार्यान्वयनमा विशेष ध्यान दिने बताएका छन्।

“एनआरएनए कुनै व्यक्ति विशेषको संस्था होइन, यो हामी सबैको साझा घर हो,” भन्दै उनले पारदर्शिता, सहभागिता र सहकार्यमा आधारित नेतृत्वको आवश्यकताको कुरा गरेका छन्। समुदायको सहयोग र सुझावलाई खुला रुपमा स्वागत गर्ने बताउँदै उनले चुनावसम्म थप एजेन्डाहरू पनि सार्वजनिक गर्दै जाने जनाएका छन्।

एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी २६  जुलाई २०२५ मा हुन गइरहेको छ। उम्मेदवार विनोद बानियाले अनुभव, समर्पण र समावेशीताको साथ नेतृत्व गर्न आफू सक्षम रहेको दाबी गर्दै सबैमा साथ र समर्थनको अपेक्षा व्यक्त गरेका छन्।

Leave a Reply