अष्ट्रेलियामा बनिसकेको घर किन्ने कि नयाँ घर बनाउने?

मिलन दाहाल– अष्ट्रेलियामा स्थायी बसोबास प्राप्त गरिसकेपछी सबैको चाहना र आवश्यकता हो घर । बनिसकेको घर किन्न नयाँ घर बनाउनभन्दा केही सहज छ । बैकंले लोन एप्रोभ गरेको केही महिनामा नै तपाई आफ्नो घरमा बसाई सर्न सक्नु हुन्छ । तर यसका केही बेफाइदा पनि छन । यँहा बनेका घरहरु हाम्रो आवश्यकता अनुसार बनेका हुँदैनन् ।   स्थायी बसोबास लिइसकेपछी धेरैको मनमा खेल्ने साझा प्रश्न हो-  नयाँ घर बनाउने कि बनिसकेको घर किन्ने ?   यी दुवै विकल्पहरूको आ-आफ्नै फाइदाहरू रहेका छन् । घर बनाउने कि किन्ने भन्ने कुरा तपाईको स्वभाव र तपाईसँग भएको लागतमा पनि निर्भर गर्छ । घर बनाउदा र किन्दाका फाइदा र बेफाइदालाई तल केलाउन खोजिएको छ ।

नयाँ घरको निर्माण

‘घर त्यो हो जहाँ मन बस्छ, मन त्यहाँ बस्छ जब आफ्नो चाहनाअनुसारको घर बन्छ’ ।  तपाईँको मनमा मेरो घर यस्तो होस्, उस्तो होस् भन्ने कुरा खेलिरहेको भए, नयाँ घर बनाउने निर्णय नै उत्तम हुनसक्छ। त्यसको प्रमुख कारण भनेको त्यो नयाँ बन्ने घर तपाईँको चाहना अनुरूपको हुनेछ – बाहिरी तथा भित्री साजसज्जा, रङ्ग, घर निर्माण गर्दा प्रयोग हुने वस्तु, भान्सा एवं बाथरुमका साधन जस्ता कुराहरू आफ्नो इच्छाले छान्न सक्नुहुनेछ। तर यसरी सामाग्रीहरू छान्ने काम सहज भने छैन । कहिले काहीँ निकै थोरै समयमा धेरै निर्णय लिनुपर्ने हुनसक्छ । बिना अनुभव निर्णय लिनुपर्दा काम झन्झटिलो अलमलाउने खालको पनि हुनसक्छ । यसले समय र लागत बढ्ने त छदैछ, घर पनि बजारमा प्रचलनमा रहेको भन्दा फरक बन्न पनि सक्छ । 

घर निर्माण गर्ने कम्पनीमा रहेको सामाग्रीको नमुना हेरेर घर कस्तो बन्छ भन्ने आंकलन गर्नु निक्कै गाह्रो काम हो । ईन्टरनेटमा घरका धेरैखाले डिजाइनका तस्बिरहरु उपल्ध हुन्छन । घडेरीको ढाँचामा उक्त घरका डिजाइनहरुलाई ढाल्नु पर्ने हुन्छ ।

ग्राहकहरु एउटा समग्र घरको कन्सेप्ट लिएर आउने र उपलब्ध जग्गाको ढाँचा र उनीहरुसँग उपलब्ध श्रोतका आधारमा ग्राहकहरुलाई बढी लागत पनि नपर्ने र नेपालीका आवश्यकता अनुसार घर बनाउन सहयोग गर्ने गरेको   साउथ अष्ट्रेलियामा रहेको स्टनिङ होम्सका गोकुल घिमिरे बताउछन । “साउथ अष्ट्रेलियामा स्थायी बसोबास प्राप्त गरेका नयाँ घर बनाउन चाहनेहरुका लागी सरकाले जुन १५ हजार डलर अनुदान दिने गरेको छ, त्यसले पनि घर लिन केही सहज बनाएको छ । हामीले साधारणतया प्रक्रिया शुरु गरेको १ बर्ष भित्रमा ग्राहका चाहनाअनुसारका धर निर्माण गरि हस्तान्तरण गर्ने गरेका छौं । ” घिमिरे भन्छन । 

“त्यसो त नयाँ घर बनाउदा ग्राहकहरुलाई किन्दा भन्दा केही सस्तोपनि पर्न जान्छ ।” घिमरे थप्छन । 

शुरुका दिनमा घर किन्ने नेपालीहरु धेरै रहेको भएपनि पछिल्लो दिनमा आफैंले निर्माण गर्ने ग्राहकहरुको संख्या बढेको मोर्गेज ब्रोकरका रुपमा कार्यरत प्रदिप रानाभाटको अनुभव छ । 

बनिसकेको घर

नयाँ घर बनाउनुभन्दा बनिसकेको घर किनेर सर्दा समयको बचत त हुन्छ साथै  किन्न लागेको घर ब कस्तो देखिन्छ भनेर कल्पना गर्नुपरेन, हेर्नै पाइयो । धेरै जसो आवश्यकता पुर्ति हुने घरहरु हेरेर नै किन्न पनि सकिन्छ र प्रकिया पनि नयाँ घर बनाउनुको तुलनामा सहज नै हुन्छ । कतिपय अवस्थामा त बनिसकेको घर किनेको  केही दिन भित्रै पनि सर्न पनि सकिन्छ।

अरुले आफ्ना लागी बनाएको वा ब्यपारिक प्रयोजनका लागी बनेका घरहरुमा हाम्रा सबै आवश्यकताहरु पुर्ति हुन निकै गाह्रो हुन्छ । कुनै घरका कोठा साँगुरा हुन्छन त कुनैका बाथरुम साना ।  हुन त बनिसकेका घर किन्दा प्रायजसो ठाँउमा वरपर स्कुल, किनमेल गर्ने ठाउँ, सामुदायिक केन्द्र सबैको व्यवस्था हुन्छ । नयाँ घर बनाइने सबै ठाउँमा यी सबै सुबिधा उपलब्ध नहुन पनि सक्छन  ।

लागतको अनुमान र तुलना गर्नुहोस्

पहिलो घर किने बापत पाइने सरकारी अनुदान पाईए नयाँ घर किन्दा सधैँ पैसा बच्छ भन्न सकिँदैन । कस्तो घर किन्ने त भनेर कुनै निर्णयमा पुग्नु भन्दा अगाडी  नयाँ घर बनाएर सर्दा लाग्ने खर्च र बनिसकेको घर किनेर सर्दा लाग्ने खर्चको तुलना गर्नै पर्छ । विशेष गरेर पुरानो घर किनेपछि गर्नुपर्ने मर्मत सम्भार र नयाँ घर नबन्दासम्म आफू भाडा बापतको रकमको हिसाब गर्नुपर्छ । नयाँ बनाइने घरको सन्दर्भमा, तोकिएको समय भन्दा बढी समय लागे, अतिरिक्त खर्च बारे पनि तपाईँले सोच्नुपर्ने हुन्छ।

Leave a Reply