साउथ अष्ट्रेलियामा नेपथ्यले राख्यो रेकर्ड, कन्सर्ट सकिदासम्म आइरहे दर्शक

मिलन दाहाल- के युवा युवती के बृद्द बुधवार साँझ साउथ अष्ट्रेलियाको एडिलेडमा रहेको एक हलमा सबै उही रौनकताका साथ नाचिरहेका थिए । नेपाली दर्शकदिर्घाको हुटिङका आवाजले शहरको ब्यस्त हाइन्डली स्ट्रिमा हिड्ने अष्ट्रेलियनहरु पनि ‘एच क्यु’ हलतर्फ टाउको घुमाउदै हेर्दै थिए । रातको साढे नौ बज्दासम्म पनि आउनेहरुको लाईन मिलाउन र उनीहरुको टिकट प्रमाणिकरण गर्दै भित्र पठाउन भ्याइ नभ्याई थियो आयोजक खुम घले र गगन गिरीलाई । कान्तिपुर एफएमका लागी अडियो सामाग्री बनाउन पत्रकार नारायण खड्काले थुप्रैचोटी बोलाउनु पर्यो गगन गिरीलाई । हरेक पटक टिकट प्रमाणिकरणमा ब्यस्त गगन ‘पाँच मिनेट दिनुहोस् न प्लिज’ भनिरहेका सुनिन्थे । यो सबैको कारण थिए- अगिल्तिर स्टेजमा सबैलाई नेपालका गाँउपाखाका भाकालाई पाश्चात्य बाजाको तालमा गाईरहेका नेपथ्यका गायक अमृत गुरुङ । गायक गुरुङ गीत मात्र गाइरहेका थिएनन, गायनका बिच बिचमा नेपालीहरुलाई बिभिन्नखाले सन्देशहरु पनि दिइरहेका थिए । सन्देसहरु प्रवासमा जहाँ रहेपनि नेपाली इमानलाई बचाइराख्न, स्थानिय कलासंस्कृतिको सम्मान गर्न (जसले गर्दा विदेशीले पनि नेपाली कलासंस्कृतिको सम्मान गरुन), आफ्नो जन्म भूमीलाई सम्झिरहन र बेलाबेला नेपाल गइरहन प्रेरणा दिनेखालका हुन्थे ।

बिचमा गायक गुरुङको यस्तै प्रेरणा भरिएको आवाज आयो- “बेलाबेला नेपाल गइरहनु होला है….., संधै तपाईहरुले छोडेर आएका हजुरबुबा, हजुरआमालगायतका आफन्तहरु रहिनरहन सक्छन……” उनको गीतमा झुमिरहेला तुङ्ग बानिया एकाएक भावुक बन्दै भने- “निकै गहन कुरा हो है यो ।”

नेपाली सँगीतप्रेमीहरुका बिच नेपथ्य आफैंमा निकै प्रिय नाम हो । विश्वका चर्चित साँगीतिक समुहहरुले मात्र प्रस्तुति दिनेगरेको लण्डनको वेम्ब्ली एरेनामा समेत प्रस्तुति दिइसकेको नेपथ्यका लागी दर्शक तान्नु खासै ठुलो कुरा होइन । तर नेपाली र पुनर्स्थापना भएका नेपाली भाषी भुटानी गरि पुगनपुग आठहजार नेपाली भाषी रहेको एडिलेडमा एकै कार्यक्रममा हज्जारको हाराहारीमा दर्शकहरु आउनु एडिलेडमा हुनेगरेका नेपाली कार्यक्रमहरुमाझ एउटा इतिहास त हो नै तर कार्यक्रम शुरु गर्न दर्शक कुर्नुपर्ने एडिलेडका आयोजकहरुलाइ कार्यक्रम सकिने बेलासम्मपनि दर्शकहरुको ताँतीले निकै अचम्मित बनाएको थियो । 

गायक अमृत गुरुङ गायन बाहेक भ्रमण र फोटोग्राफीका शोखिन रहेको पाटो धेरैका लागी नौलो हुनसक्छ । कार्यक्रमका लागी एडिलेड बसेका बेलासमेत गुरुङ हरेकदिन १५ देखी २० किलोमिटर हिड्ने गरेको नेपथ्यका समुह अर्पण शर्मा बताइरहेका थिए । त्यसो त नेपथ्यका गीतहरुमा नेपालको कुनाकुनाका स्थानीय शब्दहरु सुनिन्छन । त्यसको कारण हो गायक गुरुङको भ्रमण र स्थानिय चलन चल्तिमा रहेका  शब्द संकलन । नेपालका कुनाकुना घुमेर चलन चल्तिमा रहेका शब्दहरुको संकलन गर्ने र सोही शब्दहरुको संयोजन गरि गीतको सिर्जना गर्ने नेपथ्यका गायक आफुले गरेको संकलनको कार्य सन्तोषजनक रहेको भएपनि उक्त संकलनलाई सँगीतमा ढाल्ने काम भने पासमात्र हुन सकिने स्तरको रहेको बताउछन । 

अष्ट्रेलियालाई आफ्नो दोस्रो घरसमेत बताउने गुरुङको नेपथ्य साँगीतिक समुह आफ्नो पाचौँ अष्ट्रेलिया भ्रमणको क्रममा रहेको छ । एडिलेमा मंगलवार भएको कार्य्रमसँगै यस भ्रमणको तेस्रो कार्यक्रम सकिएको छ । ८ डिसेम्बरमा होबर्ट, १४ डिसेम्बर सिड्नी र २३ डिसेम्बरमा मेलबर्नमा कार्यक्रम गरेपछी नेपथ्यको पाँचौ अष्ट्रेलिया भ्रमणको सबै कार्यक्रमहरु समाप्त हुनेछ । 

Leave a Reply