प्यानल बनाई चुनाव लडे उम्मेद्वारी दर्ता नहुने, होला त कार्यान्वयन?

२ जुन २०१९, सिड्नी- गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा नेपालका राजनितिक दलका भातृसंगठनहरुका प्रतिनिधि बिच खुल्लमखुल्ला प्रतिस्पर्धा हुने आवस्था देखिन थालेपछी एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिले यस्ता गतिविधिलाई नियन्त्रण गर्न भन्दै नियमावली नै बनाएर राजनितिक प्यानल बनाउने कार्यलाई नियन्त्रण गर्ने शुरुवात गरेको छ । 

एनआरएनएमा हुने गरेको राजनितिक घुसपैठका कारण प्रवासी नेपालीहरुमा पनि राजनितिक र जातिय बिभाजन हुने खतरा बढ्दै गएपछी संघले यस्तो दलीय गतिविधीलाई निस्तेज पार्दै प्रवासी एकता कायम राख्न यस्तो नियमावली वनाई लागु गरेको हो । 

संघले भर्खरै जारी गरेको नियमावलीको बुँदा नम्बर ५.१०  मा राजनैतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान गर्न नपाईने भनेको छ ।  

नियमावलीमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को तथा राष्ट्रिय समन्वय परिषद्का सबै पदमा उम्मेदवारी दिन चाहनेले संघको यस आचारसंहिताबारे लिखित प्रतिबद्धता गरी उम्मेदवारी फारमका साथमा पेश गरेपछी मात्र उम्मेद्वारीको आवेदन पुर्ण हुने व्यवस्था गरिएको छ । 

नियमावलीमा राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशन विश्व सम्मेलन भन्दा बढीमा ६ महिना र कम्तीमा १ महिनाअघि सम्पन्न गरिसक्नु पर्ने व्यवस्था गरिएको केसीले जानकारी दिए ।

यस्तै परिषद्ले महाधिवेशनको मिति तोकी कम्तीमा एक महिना पहिले क्षेत्रीय संयोजकमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई जानकारी गराउनुपर्ने छ भने महाधिवेशन गर्दा परिषद्का अन्य महाधिवेशनसँग नजुध्ने गरी तोक्नुपर्नेछ ।

नियमावलीअनुसार राष्ट्रिय महाधिवेशनमा पञ्जिकृत सदस्यहले लोकतान्त्रिक तथा विर्नाचनमा प्रयोग हुने विश्वव्यापी मान्यताको आधारमा परिषद्का पदाधिकारी तथा सदस्य निर्वाचित गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

परिषद्को अध्यक्ष बन्नको लागि सम्बन्धित व्यक्ति परिषद् वा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य वा पदाधिकारी भइ एक वर्ष काम गरेको हुनुपर्नेछ । सो पदमा दुई कार्यकाल भन्दा बढी रहन पनि पाइने छैन ।

यस्तै निर्वाचन सम्पन्न गर्न परिषद्ले निर्वाचन समिति गठन गर्नुपर्ने छ भने निर्वाचन प्रक्रिया सम्बन्धित राष्ट्रिय परिषद्ले निर्धारण गर्नेछ ।

संघले नियमावली तयार पारेर लागु गरेको जनाएपनि पुर्णरुपमा नेपाली पारामा चल्नेगरेको एनआरएनएमा यो नियमावली लागु हुन्छ कि हुन्न त्यो भने भनिष्यले नै बताउने छ । 

Leave a Reply