विद्यार्थी हितका कार्यक्रम तय गर्न सर्वेक्षण गर्दै एनआरएनए
२१ जनवरी २०१९, अष्ट्रेलिया- सिमित श्रोत र साधनको उपलब्धतामा अष्ट्रेलियन नेपाली समुदाय र नेपालसमेतका लागी विविध कार्यक्रमहरु गर्दै गरेको गैर आवासीय नेपाली संघ चर्को रुपमा पछिल्लो समयमा सामाजिक सञ्जालमा आलोचित भएपछी विद्यार्थीहरुको वास्तविक आवश्यकता पहिचान गरि उपलब्ध श्रोत र साधनहरुको बहुसंख्यक विद्यार्थी र समुदायका सदस्यका चहना बमोजिम उपयोग गर्ने उदेश्य राख्दै गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले सर्वेक्षण शुरु गरेको छ ।
संघले सर्वेक्षणमा सहभागी हुने व्याक्ति गैर आवासीय नेपाली संघका गतिविधिवारे जानकार छ कि छैन भनेर जान्नका लागी समेत एक प्रश्न राखेको छ । त्यसपछी अनुभवका आधारमा नेपाली अन्तराष्ट्रिय विद्यार्थीहरुलाई अष्ट्रेलिया आएपछी सबैभन्दा बढी गाह्रो के हुन्छ भन्ने प्रश्न सोधिएको छ । सहभागीले बस्ने ठाँउ खोज्ने, काम खोज्ने, अष्ट्रेलियामा एडजस्ट हुने, कलेज/युनिभर्सिटीको तनाव, सहयोग पत्ता लगाउने र मानसिक लगायतका स्वास्थ समस्यामध्येबाट एक छान्नुपर्ने छ । यसैगरी अर्को प्रश्नमा एनआरएनएले बसोवासको प्रवन्ध, काममा सहायता, सहायता पत्ता लगाउन सहयोग गर्ने, परिचयात्मक कार्यक्रमको प्रवन्ध गर्ने र जनचेतनाका कामहरुमध्ये कुनलाई बढी प्राथमिकता दिदा राम्रो हुन्छ भन्ने सोधिएको छ । यसैगरी कुन कुन विषयमा संघले जनचेतनाका कार्यक्रमहरु गर्दा राम्रो हुन्छ भन्ने प्रश्नसमेत राखिएको छ । यसैगरी संघले अष्ट्रेलिया आउने विद्यार्थीहरुलाई नेपालमा अष्ट्रेलियासम्बन्धी जानकारी कत्तिको गराइदोरहेछ भन्नेवारे पनि प्रश्न सोधेको छ र अन्त्यमा भएका खुला सुझाव दिनका लागी समेत स्थान उपलब्ध गराइ सुझावका लागी आग्रह गरेको छ ।
सर्वेक्षणका आधारमा प्रथमिकताहरु तय गरि विद्यार्थी हितका लागी अविलम्ब कार्यक्रमहरु ल्याउने संघको तयारी रहेको छ । सानो नेपाली समुदायभित्र यसरी सर्वेक्षण नै गर्नुपर्ने अवस्था कसरी भयो भन्ने प्रश्नको जवाफमा संघका उपाध्यक्ष अशोक केसी जानकारीका लागी गरिने कार्यक्रमहरुमा विद्यार्थीहरुको सहभागीता न्युन हुने हुँदा संघका उदेश्य र गर्ने गरेका कार्यक्रमहरुवारे समुदाय र विद्यार्थीहरु हुनुपर्नेजति जानकार नरहेको र यसबारे जानकारी गराउन नसक्नु एनआरएनको कमजोरी भएको स्विकार्छन । “एनआरएनए आफ्नो छुट्टै उदेश्य भएको संस्था हो, जसमध्ये नेपाल प्रवर्दन र प्रवासमा बस्ने नेपालीको लगानी नेपालमा लैजानु मुख्य उदेश्य हो भने विद्यार्थी हकहितका कार्यक्रमहरु पनि सस्थाको एउटा पाटो हो । केही संघसस्थाहरुले गैरजिम्मेवारपुर्ण ढंगबाट एनआरएनएको जम्मा कार्यक्रम नै विद्यार्थीलाइ काम र कोठा खोज्नेजस्ता काम भएको प्रचार गरी विद्यार्थीहरु र समुदायलाई नै भ्रमित बनाउने काम गरेका छन त्यो गलत छ । हामीले विद्यार्थीहरुको सिक्ने कुरामा असर नहुनेगरी कामहरु गरिरहेकै छौं, व्याक्तिगत सुचनाको हकको कानुनअनुसार सबै कुराहरु बहिर ल्याउन मिल्दैन ।” केसीले भने ।
संस्थाले २०१७ को जुलाइयतामात्रै समाजकल्याण कोषमार्फत समस्तमा परेका नेपालीहरुलाई ५२ हजार अष्ट्रेलियन डलर सहयोग गरिसकेको छ । यसरी कोषमार्फत सहायता पाउने ४८ प्रतिशत विद्यार्थीहरु रहेका छन ।
विद्यार्थीको चाहना र संघले गरिआएका कार्यक्रमबिच केही ग्याप रहेकाले उक्त ग्याप कम गर्न सर्वेक्षणको व्यवस्था गरिएको बताउदै संघले सर्वेक्षणमा सहभागी हुन सबैलाई आव्ह्वान गरेको छ । सर्वेक्षणमा तलको लिङ्कमा गइ सहभागी हुन सकिन्छ । http://survey.constantcontact.com/survey/a07eg0z23hijr013rzf/a01edjr5kxm1d/questions?continue=Continue+%3E
Leave a Reply