बल प्रयोग गरेर ल्याइयो डाक्टर केसीलाई जुम्लाबाट काठमाडौं

अनशनको २० औं दिन डाक्टर गोविन्द केसीलार्इ सरकारले बल प्रयोग गरेर जुम्लाबाट काठमाडौं ल्याएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट डाक्टर केसीलार्इ काठमाडौं ल्याइएको हो । उनलाइ विमानस्थल, सैनिक मञ्च टुँडीखेल वा त्रिभुवन शिक्षण अस्पतालमध्ये कहाँ अवतरण गराउने भन्ने अन्योलका बीच टुँडीखेलमा ल्याइएको थियो । टुँडीखेल आसपासमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीच साँझ पौने सात बजे डाक्टर केसीलाई ल्याएको हेलिकप्टर अवतरण गरेको थियो । त्यसपछि उनलाई सेनाको एम्बुलेन्समा राखेर प्रहरीको कडा सुरक्षा घेराबीच शिक्षण अस्पताल, महाराजगन्जमा पुर्याइएका डाक्टर केसीको त्यहीँ उपचार भइरहेको छ ।

डाक्टर केसीलाई काठमाण्डौ ल्याउने नाममा सरकारले जबर्जस्ती गर्न खोजेको भन्दै चिकित्सक, विद्यार्थी र स्थानीयले विरोध गरेका थिए ।

केसीका समर्थक र प्रहरीबीच पटक-पटक झडप हुँदा जुम्ला सदरमुकाम हिजो दिनभर तनावग्रस्त रह्यो ।  विरोधका क्रममा प्रहरीले अन्धाधुन्ध लाठीचार्ज तथा अश्रुग्यास प्रहार गरेपछि एक दर्जनभन्दा बढी केसी समर्थक घाइते भएका छन् । प्रहरीको बल प्रयोगबाट आफ्ना समर्थक घाइते भएपछि डाक्टर केसी काठमाडौं आउन तयार भएका हुन् ।

प्रहरीको बाक्लो उपस्थितिमा केसीलार्इ अस्पतालबाट निकाल्दा स्थानीय महिलाले अवरोध गरेका थिए । प्रहरीले समाचार संकलनका क्रममा रहेका सञ्चारकर्मीलार्इ समेत दुर्व्यवहार गरेको थियो । झडप र लाठीचार्जको दृश्य स‌ंकलन गरेको भन्दै कान्तिपुर टेलिभिजनका जुम्ला सम्वाददाता एलपी देवकोटाको क्यामेरा प्रहरीले तोडफोड गरेको  छ ।

यसैबीच, मानवअधिकार आयोगले विज्ञप्ति जारी गरेर अस्पतालमा बल प्रयोग भएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

अस्पताल भवनभित्रै प्रहरी प्रवेश गरी कुटपिट गर्नु र झडप भई अस्पताल भवन लगायत स्वास्थ्य उपकरणहरुमा क्षति पुग्नु निन्दनीय कार्य भन्दै आयोगले घाइतेहरुको उपचारमा ध्यान दिन पनि आग्रह गरेको छ ।

वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्दै आयोगले स्वास्थ्य जस्तो अत्यावश्यक सेवा बन्द हुँदा नागरिक अधिकारमा असर पर्नेतर्फ सचेत रहन स्वास्थ्यकर्मीलाई ध्यानाकर्षण गरेको छ ।

डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकको सिफारिसका अधारमा उनलाइ काठमाडैँ ल्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

Leave a Reply