कांग्रेसलाई हिन्दुस्तान मोटरको ब्राण्ड एम्बास्डर हुनबाट जोगाऔं: खनाल
२१ डिसेम्बर २०१७, काठमाण्डौ- अनलाईन खबरमा पुरञ्जन आचार्यले प्रधानमन्री तथा कांग्रेस सभापतिलाई पत्र लेख्दै कांग्रेसलाई नोकिया हुनबाट जोगाउ भनेका छन् । उनले भनेका छन- एउटा चुनावले राजनीति समाप्त हुँदैन । तर, जनताको अभिमतपछि तपाईंको मन्त्रीमण्डलबाट भए/गरेका काम कारवाहीले कसरी कांग्रेसजनले यो पार्टीलाई ‘डिफेन्ड’ गर्न सक्छन्, यसको हेक्का भने तपाईंबाट पटक्कै नभएको देखियो ।
सर्वप्रथम तपाईंले उम्मेदवारी दिएपछि तपाईं काम चलाऊ प्रधानमन्त्री हो । तपाईंको पार्टी निर्वाचनमा पराजित भइसकेपछि तपाईंको जिम्मेवारी सत्ता हस्तान्तरणमा मात्र सीमित हुन्छ । तपाईं राजनीतिको लडाईंमा जनताबाट पराजित नेता हो । तसर्थ, तपाईंका सञ्चार मन्त्रीले गर्ने प्रेस सम्मेलनलाई लोकतन्त्रको मजाक भन्दा हुन्छ ।
यस्तै, प्रधानमन्त्रीले गरेका काम राष्ट्रपतिले रोक्ने कार्य पनि संविधान सम्मत होइन भनेर तपाईंले खड्ग ओलीलाई भन्न सक्नुपर्छ । अनि, विपक्षबिनाको राष्ट्रियसभा कस्तो होला भनी सहज संवाद र सूचना गर्न तपाईंलाई कुनै अवरोध छैन ।
तर, निर्वाचन आयोगले गर्ने काम तपाईंले गर्नु शोभनीय होइन । राजनीति गर्ने मान्छेले धेरै कानूनी जटिलता समातेर सत्तामा टाँसिनु अशोभनीय मात्र होइन, निन्दनीय पनि हो ।
निर्वाचनका लागि सबैलाई धन्यवाद दिँदै राष्ट्रसामु धन्यवाद दिएर प्रष्ट भन्नुहोस्, ‘म निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकको निर्वाचन परिणाम घोषणा गरेपछि सत्ता हस्तान्तरण गर्छु’ भनेर । राष्ट्रियसभाको कुनै औचित्य सरकार निर्माणमा छैन ।
कांग्रेस सबै गुमाएर पनि सत्तामा टाँसिन चाहन्छ भन्ने सन्देशले भविष्यमा यसको पुनर्जीवनलाई अगाडि बढ्न दिँदैन । तपाईंलाई म ‘नोकिया मोबाइल’को दिवालियापनको उदाहरण दिँदै कांग्रेसलाई नोकिया हुनबाट जोगाउन सल्लाह दिन्छु ।
कुनै समय थियो, मोबाइल भनेको नोकिया भनेर बुझिन्थ्यो । नोकियामा बोसो चढ्यो, स्मार्ट भएन, जनताले रिजेक्ट गरे । हार्डवेयरले मात्र नोकिया चलेन । समय सफ्टवेयरको आउँदा पनि नोकिया रुपान्तरित भएन । एक दशकअघि विश्वमा ७० प्रतिशत मानिसले प्रयोग गर्ने नोकिया मोबाइल आज ब्रह्मनालमा छ । प्रधानमन्त्रीज्यू, नोकियाको पतन र कांग्रेसको अहिलेको अवस्थामा खासै फरक छैन ।
माथि नै भनियो, मैले सच्चा कांग्रेसलाई ऊर्जावान पाएको छु, कांग्रेसको पराजयमा । लोभी पापी, चोर, डाँकालगायत स्वार्थी समूह अब कांग्रेसबाट छुट्टनिेछन् । र, कांग्रेसभित्र कांग्रेसजन गौरवान्वित हुनेछन् ।
पाँच वर्षको वाम सरकारपछि गौरवसाथ कांग्रेसजनले भन्नेछन्, ‘अब कांग्रेस सरकार ।’ कमसे कम त्यत्ति भन्ने ठाउँ त प्रधानमन्त्रीज्यू तपाइर्ंको पुस्ताले कांग्रेसको भावी पुस्तालाई देओस् !
अन्त्यमा, कांग्रेसका नेताहरुलाई देशको ग्राउन्ड रियालिटी बुझ्ने मात्र फुर्सद नभएको होइन, सुन्ने पनि मैले फुर्सद र धैर्य देखिनँ । यो मामिलामा तपाईंसँग मेरो कुनै गुनासो छैन किनकि मैले समयमै तपाईंलाई सुनाउने मौका पाएको थिएँ । तर, काउन्टर रणनीति तय गरौं भन्ने कुरामा सुन्ने मात्र काम भयो, गर्ने काम नभएकाले कांग्रेसको राष्ट्रव्यापी पराजयमा यी कुरा अभिलेखीकृत गर्न चाहेको हुँ ।
त्यहि समाचारलाई सेयर गर्दै पुर्व अर्थसचिब रामेश्वर खनालले सामाजिक सञ्जाल ट्विटरमा नोकिया त बरु चलेकै छ भन्दै कांग्रेसलाई बन्द भइसकेको हिन्दुस्तान मोटरको ब्राण्ड एम्बास्डर हुनबाट जोगाउनुपर्ने धारणा राखेका छन ।
Leave a Reply