चुनाबमा नराम्रो पराजय भोगेको कांग्रेसलाई खतराको घण्टी

११ डिसेम्बर २०१७, काठमाण्डौ- कारण जे सुकै हो, यसपटकको चुनाबमा नेपाली कांग्रेसले निकै नराम्रो पराजय भोगेको छ । सधै ठुलो दलका रुपमा सरकारमा रहेको कांग्रेस यसपाली तेस्रो दल बन्ने करिब पक्का भएको छ । निर्वाचनलगत्तै एमाले र माओबादी एकिकरण हुने हो भने त कांग्रेस सानो भएपनि प्रतिपक्षको भूमिकामा रन्छन । तर पार्टी एकता भएन र  एमाले सत्तापक्ष र माओवादी प्रतिपक्ष भएर मिलिजुली चल्न थाले भने ?  कांग्रेसको हालत झनै दयनीय हुनेछ । राजनितिमा निकै चतुर प्रचण्ड र ओलीले सबैभन्दा लामो समय सत्तामा हालिमुहाली गरेको कांग्रेसलाई सबै कार्यकारी भूमिकाबाट बाहिर राखेर  कांग्रेसलाई कमजोर पार्दै लैजान रणनीति बनाउन सक्ने कुरालाई नजरअन्दाज गर्न सकिदैन । चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसप्रकारको संकेत दिएका थिए । कांग्रेसको यो अन्तिम सरकार हो भन्दै ओलीले अब कांग्रेस मासिने उद्घोष गरेका थिए ।

संवैधानिक निकायमा आफ्ना मान्छे नियुक्त गरेर कांग्रेस नेताहरुमाथि छानबिन र कारबाहीको दायरामा ल्याउनेदेखि संसदीय समितिबाट कांग्रेसलाई प्रतिकूल हुने निर्णय गराउन एमाले माओवादीलाई बैधानिक बाटो खुल्नेछ ।

संसदमा प्रतिपक्षी भएर पनि कांग्रेसको कुराको सुनुवाइ नहुने खतरा रहनेछ । किनकि संसदमा सत्तापक्ष पछि प्रमुख प्रतिपक्षलाई प्राथमिकता दिइन्छ । प्रमुख प्रतिपक्षीभन्दा तल्लो अर्को प्रतिपक्षीको कुरा सामान्यतया सुनुवाइ हुँदैन । सुनुवाइ हुने प्रतिपक्षी माओवादीले सत्तापक्षलाई समर्थन गरिदियो भने दोस्रो प्रतिपक्षीको हैसियत उल्लेखनीय रहने छैन । त्यस्तो अवस्थामा संसदमा कांग्रेसलाई पेलेरै जाने नीति लिइन सक्छ ।

ओलीको संकेत

आइतबार एमाले अधयक्ष केपी ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । उनले पार्टी एकता त हुने तर अहिले नै त्यस विषयमा केही नगरिने बताए । यसको सोझो अर्थ हो तत्काललाई बाम गठबन्धन एउटै पार्टी हुने सम्भावना छैन । पार्टी एकता नहुनुको सोझो अर्थ हो अहिले गठबन्धनमा सहभागी दलले जति सिट जितेका छन् ती सिट तिनै दलका रहनेछ । यस्तो अवस्थामा माओवादीका सांसद माओवादीसँगै र एमालेका सांसद एमालेसँगै रहनेछन् ।

चुनावअघि पार्टी एकता तत्कालै गर्ने भनेका नेताहरुको बोली एकाएक फेरिएसँगै यसले एमालेको एकल सरकार गठन हुने सम्भावनातर्फ संकेत गरेको छ । पार्टी एकता गर्ने नै भनेर अघि बढेका माओवादी एमाले चुनावी परिणामको आँकलन गर्दै आगामी योजना बुन्दै पार्टी एकतालाई बिलम्ब गर्ने नीतिमा जाने संकेत देखिएको छ । कांग्रेसलाई प्रमुख प्रतिपक्षी हुन नदिएर सत्ता र प्रतिपक्ष दुबैमा पकड बनाएर योजनाबद्ध अगाडि बढ्ने संभावनालाई नजरअन्दाज गर्न सकिदैन ।

Leave a Reply