नव आगन्तुक विद्यार्थीलाई लक्षित गर्दै एडिलेडमा दशैं कार्यक्रम

२५ सेप्टेम्वर २०१७, एडिलेड- साउथ अष्ट्रेलियाको नेपाली समुदायले नव अगन्तुक नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै “दशैं टिका तथा शुभकामना आदानप्रदान कार्यक्रम“को आयोजना गर्ने भएको छ । गैर आवासीय नेपाली संघ, साउथ अष्ट्रेलिया, एडिलेड नेपाली समाज, गुठी साउथ अष्ट्रेलिया, एडिलेड नेपाली विद्यालयको र फ्लिण्डर युनिभरसिटि नेप्लिज स्टुडेन्ट एसोसिएसनको सहयोगमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाले कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रम मंगलवार, ३ अक्टोवरका दिन मिच्याम रिजर्भमा अपह्रान्न १ बजेदेखी ५ बजेसम्म आयोजना गरिने बताईएको छ । कार्यक्रममा भगवती दुर्गाको पुजा-आराधना, अभिभावकहरुबाट टिका ग्रहण, दशैं सम्बन्धि सांस्कृतिक प्रस्तुतिहरु तथा शुभकामना आदानप्रदानका कार्यक्रमहरु रहनेछन । कार्यक्रममा आगन्तुकहरुलाई नि:शुल्क खाना तथा हल्का पेय पदार्थको समेत व्यवस्था रहने छ ।

“खास गरी नेपालवाट  भर्खरै आएका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको हो । नवआगन्तुकहरुले दशैंजस्तो चाडमा अवस्यपनि आफ्नो घर र आफन्तहरुवाट टाढा भएको महसुस गर्नेछन् । हामी पहिल्यैदेखी एडिलेड बसिरहेकाहरुले अभिभाकत्व निर्वाह गरेर सानो भएपनि भेटघाट र खुसीयाली साटासाटको लागी कार्यक्रमको आयोजना गरिएको हो । ” एडिलेड नेपाली समाजका अध्यक्ष राजेश अधिकारीले भने । “कार्यक्रममा अभिभावकहरुबाट टिका लगाउने, भेटधाट गर्ने, तथा नेपालीहरुसँगै बसेर केहीबेर रमाईलो गर्ने अवशर प्राप्त हुनेछ । “उनले थपे ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलिया अध्यक्ष विकाश शर्मा पोखरेलले सन् २०१२ को आफ्नो अनुभव स्मरण गर्दै भने- “सन् २०१२ मा जुनवेला हामी एडिलेडमा अत्यन्त नयां थियौं, एडिलेडमा अहिलेजस्तो नेपालीहरुपनि थिएनन, भएकालाईपनि हामीले खासै चिनेका थिएनौं । दिपिका र म दिनभरी घरमा एक्लै । नेपाललाई अत्यन्त मिस गर्यौं । साह्रै नरामाईलो लागेथ्यो । कसैले सानो भएपनि दशैंको कार्यक्रम आयोजना गरिदिएको भए सायद हामीलाई त्यति नरमाईलो र खल्लो लाग्ने थिएन होला । “

“हामीले एकअर्कालाई सहयोग गर्दै अगाडी बढ्दा नै नेपाली समुदाय अगाडी बढ्छ । जुनसुकै जात, धर्मका भएपनि अन्तत: हामी नेपाली हौं ।  विदेशमा  हाम्रो पहिचान भनेको नै नेपाली हो । एकअर्कालाई सहयोग गर्दै अगाडी बढ्दा नै हाम्रो पहिचान प्रवर्दनमा सहयोग हुन्छ भनेर दशैं कार्यक्रममा गुठी साउथ अष्ट्रेलियाले ऐक्यवद्दता जनाएको हो । ” एनआरएनए साउथ अष्ट्रेलिया कोषाध्यक्ष तथा गुठी साउथ अष्ट्रेलियाका रजनेश श्रेष्ठले भने ।

 

Leave a Reply