साउथ अष्ट्रेलियामा पहिलोपटक नेपाली नृत्य प्रतियोगीता
'द नेक्स्ट' का आमित बज्राचार्य र सुरक्षा थापा सिड्नीबाट आउने
२३ मे २०१७, एडिलेड- साउथ अष्ट्रेलियामा पहिलोपल्ट नेपाली नृत्य प्रतियोगीता आयोजना हुने भएको छ । एडिलेड नेपाल को आयोजनामा नेपाली नृत्य प्रतियोगीता आयोजना हुने भएको हो । कार्यक्रम २८ मे मा बिहानको ११ बजेदेखी Marion RSL मा हुनेछ । १२ जना सिनियर र ८ जना जुनियर तर्फका कलाकारहरु बिच प्रतिस्पर्धा गर्दै कार्यक्रममा सिनियर र जुनियर तर्फबाट ३-३ जना बिजेता छानिने छन र उनीहरुलाई पुरस्कारको समेत ब्यवस्था गरिएको आयोजक संस्थाले बताएको छ । १२ बर्षसम्मका कलाकारले जुनियर समुहमा प्रतिस्पर्धा गर्नेछन भने १२ भन्दा बढी उमेरकाले सिनियर समुह अन्तरगत प्रतिस्पर्धा गर्नेछन् ।
नृत्यको मुल्याङ्कन गर्नका लागी आमित बज्राचार्य र सुरक्षा थापा सिड्नीबाट आउनेछन् भने तेस्रो मुल्याङ्कनकर्ताका रुपमा एडिलेडका प्रदिप निरौला रहनेछन् । आमित बज्राचार्य र सुरक्षा थापा सिड्नीको चर्चित नृत्य समुह “द नेक्स्ट” का चिनिएका नृत्यकार हुन भने प्रदिप निरौला सञ्चारकर्मि हुन् । उनले करिब डेढ दर्जन म्युजिक भिडियोसमेत निर्देशन गरेको बुझिएको छ । कार्यक्रममा आमित बज्राचार्य र सुरक्षा थापाले समेत आफ्नो प्रस्तुति दिने बताइएको छ ।
मुल्याङ्कन
नृत्यको मुल्याङ्कन मुल्याङ्कनकर्ताहरुको मुल्याङ्कन र जनताको भोटिङ्गको आधारमा हुने एडिलेड नेपालका अध्यक्ष गोकुल ढकालले अनलाईन एडिलेडसँग बताए । ढकालका अनुसार तीनजना जजहरुले ३० पुर्णाकंमा प्रतिस्पर्धीलाई अंक प्रदान गर्नेछन भने सस्थाको फेसबुक पेजमा राखिएका प्रतिस्पर्धीका फोटामा दर्शकहरुले गरेको लाईकका आधारमा बाँकि १० अंकको निर्धारण गरिने छ र यसरी प्राप्त हुने अंकमध्ये सबैभन्दा बढी अंक ल्याउने बिजेता घोषित हुनेछ । जुनियरहरुलाई एकै प्रस्तुतिको मुल्यांकनका आधारमा बिजेता घोषित गरिने छ भने सिनियर तर्फ दुइ चरणको प्रतिस्पर्धा हुनेछ । पहिलो चरणबाट १२ जनामध्येबाट छ जना छानिनेछन र दोस्रो चरणबाट पुन: तिनजना फालिएपछि बचेका ३ जना प्रथम, द्वितिय र तृतीय घोषित हुनेछन । दोस्रो चरणमा पुन: प्रत्येक जजले प्रतिस्पर्धीलाई ३० पुर्णाकंमा मुल्यांकन गर्नेछन र बाँकि १० अंकका लागी कार्यक्रमस्थलमा उपस्थितहरु मध्येबाट भोटिङ्गको ब्यवस्था गर्ने तयारी रहेको ढकालले बताए ।
पुरस्कार
सिनियर तर्फका बिजेतालाई अशोक केसीको सहयोगमा ल्यापटप प्रदान गरिने छ भने द्वितिय हुनेलाई E-planet Adelaide को सहयोगमा स्मार्ट फोन प्रदान गरिने छ । यसैगरी तृतीय हुनेलाई भने संस्थाकै तर्फबाट नगद $१०० प्रदान गरिने बताईएको छ । जुनियरतर्फका तिनजनाको लागी भने Aussie Finance and Home Loans को सहयोगमा गिफ्ट प्रदान गरिने बताइएको छ ।
कार्यक्रमको प्रवेश नि:शुल्क रहेको छ तर कार्यक्रममा दर्शकका रुपमा सहभागी हुन चाहनेले संस्थामा अग्रिम बुकिङ्ग भने गराउनुपर्ने छ ।
वार्षिक रुपमा साउथ अष्ट्रेलियामा नृत्य प्रतियोगिता गर्ने र अष्ट्रेलियामा अन्य राज्यहरुमा समेत यसलाई लैजाने संस्थाको योजना रहेको छ
Leave a Reply