एडिलेडमा तीजको लहर, आस्था ब्याण्ड एडिलेड आउदै
२३ अगष्ट २०१६, एडिलेड- नेपाली हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गर्दा यसको रौनकले एडिलेडबासी नेपाली नारीहरुलाई पनि छुन थालिसकेको छ । अगष्टको अन्तिम साता र सेप्टेम्बरको पहिलो साताभर तीजका कार्यक्रमहरु लहरै आयोजना गरिएको छ । यसले एकातिर नेपालीपनको अाभाष यत्र-तत्र सर्बत्र गराएको छ भने सर्वसाधारणलाई कुन कार्यक्रममा जाने र कुनमा नजाने भन्ने चटारोपनि उत्तिकै रहेको वुभिएको छ । आयोजकहरुले भने जसलाई जता पायक पर्छ उतै सहभागी हुन आग्रह गरेका छन् ।
कहिले कहिले छन त तीजका कार्यक्रमहरु?
२७ अगष्ट २०१६, नेपाली पाठशाला
एडिलेडको पहिलो तीजको कार्यक्रम उत्तरतिर रहेर नेपाली वालवालिकाहरुलाई नेपाली भाषा-संस्कृति सम्बन्धी ज्ञान दिने समुदायबाट संचालित नेपाली पाठशालाले अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलिया र एडिलेड नेपाली महिला संघसँगको सहकार्यमा गर्न लागेको बुझिएको छ । कार्यक्रम 10 Pittwater Drive, Windsor Garden मा २७ अगष्ट २०१६ शनिवारका दिन हुने बुझिएको छ । कार्यक्रम साँझ ५ बजेदेखी ११ बजेसम्म चल्ने छ । कार्यक्रम अनौपचारीक र विशुद्द तीज उत्सव रहने बुझिएको छ । कार्यक्रमका लागी एकजनाको प्रवेश शुल्क $२० र परीवारको $४० तोकिएको छ । उक्त प्रवेश शुल्कमा खानापनि समेटिने छ । पठशालाले केहीसमयदेखी निरन्तर तीजको कार्यक्रम आयोजना गर्दै आइरहेको भएपनि प्राबिधिक कारणले गत बर्ष तीजको कार्यक्रम आयोजना गरेको थिएन् ।
एडिलेडमा नेपाली महिला संघको उपस्थिति रहदारहदै पाठशालाले तीजको कार्यक्रम आयोजनामा अग्रसरता लिन किन जरुरी थियो भन्ने प्रश्नको जवाफमा समयमा महिला संघले अग्रसरता नलिएको कारणले र एडिलेड नेपाली समाजले हरेक बर्ष तीजको कार्यक्रम आयोजना गर्ने भएको भएपनि उत्तरका दिदीबहिनीहरुलाई दक्षिणसम्म पुग्नपर्ने बाध्यताबाट पर्नजाने असुबिधालाई मध्यनजर गर्दै पाठशालाले अग्रशरता लिनपरेको पाठशाला प्रवक्ता गोबिन्द रानाले बताए ।
२ सेप्टेम्बर २०१६, एडिलेड नेपाली समाज
एडिलेड नेपाली समाजले एडिलेडका दक्षिणतर्फका नेपाली महिलाहरुलाई २ सेप्टेम्बरका दिन तीजको कार्यक्रम आयोजना गर्दैछ । एडिलेड नेपाली समाजले आफ्नो स्थापनाकालदेखी हरेक बर्ष तीज कार्यक्रम आयोजना गर्दै आइरहेको छ । गत बर्ष झै यसपालीपनि एडिलेड नेपाली समाजको कार्यक्रम Goodwood Community Centre मा साझ ४ बजेदेखी ८ बजेसम्म चल्ने बताइएको छ । कार्यक्रममा प्रवेश शुल्क $१० तोकिएको छ भने १० बर्षमुनिका वालवालिका तथा नेपालबाट पाल्नुहुने अभिभावकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रम गैर आवाशिय नेपाली संघसँगको सहकार्यमा हुनलागेको बताइएको छ ।
यसैगरी ‘मेरो नेपाल’ नामको एक अर्को संस्थाले पनि एडिलेडमा तीजको कार्यक्रम आयोजना गर्ने बुझिएको छ । २६ अगष्टको साँझ बकरभिलमा अवस्थित चेन्नइ प्यालेसमा साझ ५ बजेबाट १० बजेसम्म गर्ने भनिएको उक्त कार्यक्रमको प्रवेश शुल्क $२५ तोकिएको छ ।
एडिलेडमा रहेको नेपालीभाषी भुटानीहरुको पनि एक अर्को छुट्टै कार्यक्रम रहेको बुझिएको छ । ३ सेप्टेम्बरका दिन ३७६-३८६ Salisbury Highway, Parafield Garden मा आयोजना हुने उक्त कार्यक्रममा भने प्रवेश शुल्क लाग्ने छैन । कार्यक्रम साझ ५ बाट १० बजेसम्म रहने बुझिएको छ । कार्यक्रमको आयोजक नेपालीभाषी भुटानी युवाहरुको संस्था ‘बासा’ रहेको छ ।
आस्था ब्याण्ड एडिलेडमा
यसैगरी तीजको कार्यक्रमहरुको माहोलमा एडिलेडबासी नेपालीहरुलाई मनोरञ्जन दिनका लागी नेपालको चर्चित ‘आस्था ब्याण्ड’ ले एडिलेडमा प्रस्तुति दिने बुझीएको छ । नमस्ते- नमस्ते नामको आयोजक संस्थाको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा स्थानिय पुराना एवं चर्चित डिजे कुमार पुष्प गुरुङ तथा अन्य राम्रा कलाकारहरुको पनि प्रस्तुती रहने छ ।
२९ अगष्टका दिन 59 Port Road, Hindmarsh मा अवस्थित ‘The Gov’ नाइट क्लबको कनसर्ट हलमा हुन लागेको उक्त कार्यक्रमको प्रवेश टिकट ढोकामा $३५ र अग्रिम बुकिँङमार्फत $३० मा प्राप्त गर्न सकिने छ । केही महिनाअघि एडिलेड खुकुरीकपको आयोजनामा “The GoV” मै भएको Edge Band र नमो बुद्दको कार्यक्रममा एडिलेडमा हालसम्मकै सबैभन्दा बढीको उपस्थिति रहेको दावी केहीले गरेका थिए ।
कार्यक्रममा १८ माथीकाले मात्र प्रवेश पाउनेछन भने प्रवेशका लागी परिचयपत्र अनिबार्य छ ।
Leave a Reply