इराक र सिरियामा आईएसका दुइसय लडाकु मरिए
१५ जनावरी २०१५, एजेन्सी- टर्कीका सुरक्षाबलले इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) जिहादीलाई लक्ष्यगरी भीषण गोलाबारी गरेका छन् ।
टर्कीको इस्तानबुलस्थित पर्यटकीय इलाकामा गत मंगलबार भएको आत्मघाती आक्रमणको आईएसलाई दाबी गरेपछि सो गोलाबारी गरिएको टर्कीका प्रधानमन्त्री अहमत दाभुटोग्लुले बिहीबार जानकारी दिएका छन् ।
टर्कीको पुरानो सहर इस्तानबुलको पर्यटकीय इलाकामा जिहादीद्वारा गरिएको उक्त आक्रमणमा परी १० जर्मन नागरिकको मृत्यु भएको थियो । यस आक्रमणमा परी अन्य १७ जना घाइते भएको बताइएको छ ।
इस्ताबुलमा जिहादीले गरेको घृणित आक्रमणपछि टर्कीका सशस्त्रबलले सिरिया र इराकमा आईएसका ५ सय अखडालाई लक्ष्यगरी प्रहार गरेको दाभुटोग्लुले बताएका छन् ।
इस्तानबुल आक्रमणमा मारिएका १० जर्मन नागरिक भएता पनि यो जर्मन नागरिकलाई नै लक्षित आक्रमण नभएको बताइएको थियो ।
सबै जर्मन पर्यटकलाई आफ्नो यात्रा रद्द नगर्न टर्कीका विदेशमन्त्री एफ्कान आला र जर्मन विदेशमन्त्री थोमस डे मिजाएरले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा दुवै देशका नेताले आग्रह गरेका थिए ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले हमलापछि पहिलो प्रतिक्रियामा नै इस्तानबुलको पर्यटकीय इलाकामा मंगलबार भएको आत्मघाती बम हमलामा सिरियालीमूलका एक व्यक्तिको संलग्नता रहेको दाबी गरेका थिए ।
घटनामा सिरियालीमूलका एक व्यक्तिको संलग्तना रहेको आफ्नो सरकारको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताउँदै एर्डोगानले घटनाको योजनाकार तथा समूहलाई कानुनी दायरामा ल्याई छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
सन् २०१५ को अक्टोबरमा इस्लामिक समूह (आईएस) ले दुई वटा शक्तिशाली आत्मघाती बम हमला गर्दा टर्कीमा १०२ जनाको मृत्यु भएको थियो ।
दुई सय आतंककारी मारिए
यसैबीच प्राप्त समाचार अनुसार टर्कीको सुरक्षाबलले इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) जिहादीलाई लक्ष्यगरी गरेको भीषण गोलाबारीमा दुई सय आतंककारी मारिएका छन् ।
टर्कीका प्रधानमन्त्री अहमत दाभुटोग्लुले बिहीबार भएको एक पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
सिरिया र इराकमा गत ४८ घण्टायता आईएसविरुद्ध गरिएको कारबाहीमा ती आतंककारी मारिएका बताइएको छ ।
टर्कीको पुरानो सहर इस्तानबुलको पर्यटकीय इलाकामा १० जर्मन नागरिकको मृत्यु हुने गरी भएको आत्मघाती आक्रमण गराउने व्यक्ति आईएस लडाकू भएको पुष्टि भएपछि टर्की सरकारले सो कारबाही सुरु गरेको हो ।
टर्कीका उप प्रधानमन्त्री नुमान कुर्तुल्मुसले समाचारदाताहरूलाई आत्मघाती आक्रमणकारी सन् १९८८ जन्मेका सिरियालीमूलका व्यक्ति भएका र ती व्यक्ति हालै मात्र सिरियाबाट टर्की आएको बताए ।
Leave a Reply