फेरी सर्दै कांग्रेस महाधिवेशन

Image result for nepali congress assemblyकाठमाडौं- नेपाली कांग्रेसको १३औं महाधिवेशनको मिति फेरि सर्ने भएको छ। असोज २ देखि ५ गतेसम्म गर्नेगरी दोस्रोपटक तय भएको मिति र संविधान जारी गर्ने समय सँगसँगै पर्ने भन्दै कांग्रेस नेताहरू महाधिवेशन सार्ने तयारीमा लागेका हुन्।

सभापति सुशील कोइरालाले संविधान निर्माणलाई प्राथमिकतामा राख्दा महाधिवेशनको तालिका केही संशोधन गर्नुपर्ने प्रस्ताव पदाधिकारीमाझ राखेका छन् तर महाधिवेशन कहिले गर्ने र कति समय सार्ने भन्नेमा नेताबीच सहमति जुट्न बाँकी छ।

असोज ५ गतेभित्र महाधिवेशन सम्पन्न नगर्दा संवैधानिक जटिलता उत्पन्न हुने भएपछि कांग्रेस त्यसको समाधान संवैधानिकरूपमै गर्ने प्रयासमा जुटेको छ। पाँच वर्षभित्र अधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्थालाई नयाँ संविधानमा केही खुकुलो गर्दै मुलुकमा आइपरेको विशेष परिस्थितिमा एक वर्षसम्म कार्यकाल लम्ब्याउन सकिने प्रावधान राख्ने प्रयासमा नेताहरू लागेका छन्। ‘संविधानमै केही व्यवस्था गर्न दलीय छलफल जारी छ,’ पार्टीका एक पदाधिकारीले भने, ‘दलीय सहमति भएन भने भदौ १७ गतेबाट अधिवेशनको प्रक्रिया सुरु गर्नैपर्छ।’

संविधानमा नै एक वर्ष थप लिने व्यवस्था गर्न दलहरू सहमति भए कम्तीमा मंसिर वा फागुनसम्म कांग्रेस महाधिवेशन सर्ने एक नेताले बताए। दलहरुबीच सहमति जुट्न नसके संविधान जारी गर्ने समय केही पर धकेलेर कांग्रेस महाधिवेशनमा जुट्ने तयारीमा छ। ‘दलहरुबीच संविधान र महाधिवेशन सँगै अघि बढाउने कुरामा सहमति भए केहीदिन मात्र मिति हेरफेर हुन्छ,’ एक पदाधिकारीले भने।

कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले संविधान निर्माण र पार्टी महाधिवेशन सँगै परेकाले केही समस्या देखिएको बताए। ‘संविधान जारी गर्ने समय र महाधिवेशन सँगै भएकाले समस्या देखिएको छ,’ बडूले भने, ‘हामी मिलाउने प्रयासमा छौँ।’ केही दिनमा नै परिस्थिति स्पष्ट हुने बताउँदै बडूले भने, ‘२/४ दिनभित्र केन्द्रीय समिति बसेर निर्माणमा पुग्छौँ।’ आगामी असोज ५ गते कांग्रेसको महाधिवेशन भएको पाँच वर्ष पूरा हुँदैछ।

महाधिवेशन पुनः सर्ने निश्चित भए पनि शीर्ष नेताहरू नेतृत्व लिन सक्रिय भएका छन्। महाधिवेशन कहिले हुन्छ भन्ने अन्योल कायमै रहेका बेला सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल नेतृत्वका लागि आआफ्नै दाउपेचमा जुटेका हुन्।

तीनै आकांक्षी एकले अर्कालाई सभापति बाहेकको पद देखाएर पार्टी नेतृत्वमा आफूलाई सहज बनाउन निकट नेतामार्फत कसरत थालेका छन्। एक कार्यकालका लागि भन्दै अघिल्लो महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका कोइराला निकट नेताको दबाबमा पुनः प्रत्यासी बन्न लागेका हुन्। तर, पार्टीभित्रको आन्तरिक समीकरण भत्कँदै जाँदा १३ औँ महाधिवेशनमा नेतृत्व लिन असहज बन्दै गएपछि कोइरालाले निकट नेतामार्फत वरिष्ठ नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको स्रोतको दाबी छ। सभापतिमा आफूलाई सहयोग गर्ने सर्तमा देउवालाई प्रधानमन्त्री बनाउन कोइराला तयार रहेको एक नेताले बताए। कोइरालाले बिपीपुत्र सशांकमार्फत प्रधानमन्त्रीको प्रस्ताव गरेको निकट नेताले बताए। सशांकले वरिष्ठ नेता देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै कोइरालालाई सभापतिमा सर्वसहमति गराउन आग्रह गरिसकेका छन्।

तर, आफू तीनपटक प्रधानमन्त्री बने पनि पार्टी सभापति नहुँदा अझै स्थापित नेता बन्न नसकेको भन्दै उनले प्रस्ताव अस्वीकार गरेको स्रोतको दाबी छ। कांग्रेसले भन्दैमा मात्र प्रधानमन्त्री नबनिने तर्क गर्दै देउवाले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीभन्दा पार्टी सभापति बनेर शक्तिशाली र स्थापित नेता बनेको जवाफ दिएको स्रोतको दाबी छ। तर, सशांकसहित नेताले देउवालाई प्रधानमन्त्रीमा मनाउने प्रयासलाई जारी राखेको निकट एक नेताले जानकारी दिए।

त्यस्तै, सभापतिका अर्का आकांक्षी पौडेललाई कार्यवाहक सभापतिको प्रस्ताव गरेर थुमथुम्याउने पक्षमा रहेको बताइन्छ। कार्यवाहक सभापति पाए पौडेल सभापतिको उम्मेदवार नबन्ने दाबी गर्दै कोइरालानिकट एक नेताले भने, ‘उहाँको छटपटी मात्र हो, सभापतिको उम्मेदवार नै बन्नुहुन्न।’ संस्थापन पक्षलाई छोडेर पौडेल वरिष्ठ नेता देउवाको समूहमा सहभागी हुन नसक्ने दाबी गर्दै कोइरालानिकट एक नेताले थपे, ‘पदाधिकारीको बार्गेनिङमा रहेकाले उहाँलाई सभापतिमा उठ्न दबाब दिइरहेका छन्।’

देउवा जतिसक्दो छिटो संविधान जारी गरेर कोइरालालाई प्रधानमन्त्रीबाट बिदा गर्न हतारिएको स्रोतको दाबी छ। नयाँ संविधान जारी भएपछि हुने राष्ट्रपतिसहितको पाँच पदमा कोइरालालाई नै राष्ट्रपतिमा प्रस्ताव गर्ने देउवा पक्षको तयारी छ। कोइराला सक्रिय राजनीतिबाट बाहिर भए सभापतिमा जित निकाल्न सहज हुने देउवा पक्षको बुझाइ छ। १३औँ महाधिवेशनमा पनि सभापतिमा पराजित भए देउवाको राजनीति संकटमा पर्ने विश्लेषण छ। देउवालाई जसरी पनि सभापतिमा निर्वाचित गराउन निकट नेता बलिदान गर्नसमेत तयार देखिएका छन्।

आन्तरिक समीकरण मिल्न नसके संविधान जारी गरेको जससहित सरकारमै बसेर महाधिवेशन गराउने पक्षमा कोइराला छन्। अन्य दलको समेत सहमतिमा संविधानपछि केही समय राष्ट्रपतिसहितका पदको निर्वाचन स्थगित गरेर महाधिवेशन गराउने मनस्थितिमा रहेको स्रातको दाबी छ।

केही समय अघिसम्म राष्ट्रपतिका लागि लालायित कोइरालाको पछिल्ला दिन राष्ट्रपतिभन्दा पार्टी सभापतिमै बढी ध्यान केन्द्रित भएको स्रोतको दाबी छ। नयाँ संविधान जारी भएसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, व्यवस्थापिका संसदको सभामुख र उपसभामुख निर्वाचन गर्ने प्रावधान छ। सोहीअनुसार राष्ट्रपतिमा सुशील र प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीको नाम चर्चामा छ।

आफूबाहेक निकट नेतालाई प्रत्यासी बनाउँदै देउवा सभापति हुने सुशीलको बुझाइ छ। निकट नेताले पनि उपसभापति पौडेल वा अन्य कुनै नेतालाई सभापतिको प्रत्यासी बनाउँदा पराजित हुने सुझाउँदै आएका छन्। कोइराला परिवारको लिगेसीबाट पार्टी नेतृत्व बाहिर नजाओस् भन्ने पक्षमा सुशील छन्। कोइराला १३औँ महाधिवेशनमा बिपीपुत्र सशांकलाई पार्टी जिम्मा लगाउने पक्षमा रहेको स्रोतको दाबी छ।

पार्टी विधान संशोधनको विपक्षमा उभिएका देउवा पदाधिकारी नभएपछि कोइरालानिकट पदाधिकारीका आकांक्षी आफ्नो पक्षमा आउने र नेतृत्वमा पुग्न सहज हुने उनको बुझाइ छ। सुशीलनिकट सशांक, कृष्णप्रसाद सिटौला, शेखर कोइरालामध्येबाट पदाधिकारी उठाउने कसरतमा कोइराला छन्। सभापतिका अर्का प्रत्यासी पौडेललाई संसदीय दलको नेता बनाएर आफ्नो पक्षमा ल्याउने कसरत पनि उनले सुरु गरेको निकटहरू बताउँछन्।

पौडेल भने अहिले नै संस्थापन पक्ष छाडिहाल्ने पक्षमा देखिएका छैनन्। आफूलाई संस्थापन (सुशील) को मान्छे भएको बताउँदै आएका पौडेल सभापति सुशीललाई नयाँ संविधान जारी भएपछि राष्ट्रपति बनाउने पक्षमा छन्। सुशील राष्ट्रपति बने आफू संस्थापन पक्षको स्वतः सभापति उम्मेदवार हुने उनको बुझाइ छ। तर, सुशील राष्ट्रपति नै बने पनि पौडेललाई संस्थापन पक्षले सहज सभापतिको प्रत्यासी नबनाउने निकट नेता बताउँछन्।

पार्टी वरिष्ठ नेता देउवासँग पछिल्ला दिनमा केही असन्तुष्ट बनेका नेता खुमबहादुर खड्कासँगको छलफलपछि पौडेलले केही दिनअघि राजधानीमा एक भेला गरी सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका थिए। खड्का, अर्जुननरसिंह केसी, शेखर कोइरालासहित नेताले तत्काल सभापतिको उम्मेदवारी घोषणा नगरे आफ्नो सहयोग नरहने दाबी गरेपछि पौडेलले साउन १३ गते एक भेलामा भनेका थिए, ‘पार्टीमा मैले धेरै अन्याय भोगेको छु, कुनै पनि आधारमा अब मैले फर्कन मिल्ने अवस्था छैन।’

खड्कासहित नेताको परामर्शपछि संस्थापन पक्षका नेता नै पौडेलसँग रुष्ट छन्। संस्थापन पक्षका प्रभावशाली नेताले खड्का भएपछि हामी किन चाहियो भन्न थालेकाले पौडेल केही निराश बनेको स्रोतको दाबी छ।

महामन्त्रीको आकांक्षी खड्का पछिल्ला दिन देउवासँग रिसाउँदै उपसभापति पौडेल सभापति उम्मेदवार बने सहयोग गर्ने बताउँदै आएका छन्। उता, पूर्व महामन्त्री कुलबहादुर गुरुङसहितका नेता बिपी विचार समाजको नाममा सक्रिय भएका छन्। आफूलाई पार्टीभित्रको तेस्रो समूह भएको दाबी गर्दै आएको उक्त समूह अहिले पदाधिकारीको बार्गेनिङमा छ।

Leave a Reply