चीनद्वारा तिब्बतमै लगेर उपचार
वैशाख २१ – चीनको स्वशासित क्षेत्र तिब्बतले भूकम्प पीडित नेपालीको उद्धारमा स्वतस्फुर्त विशेष सक्रियता देखाएको छ । तिब्बत सरकारले घाइतेहरूलाई आफ्नो भूमिमा लगेर उपचारसमेत गरिरहेको छ ।
सगरमाथा बेसक्याम्पमा हिउँ पहिरामा परेका नेपाली शेर्पा र केही विदेशीलाई समेत उद्धार गरी उपचार गरिराखेको तिब्बती अधिकारीहरूले ल्हासास्थित नेपाली वाणिज्य दूतवासलाई जानकारी दिएका छन् ।
खासा नजिक सीमा क्षेत्रबाट सयभन्दा बढी नेपालीलाई उद्धार गरी लार्चे भन्ने स्थान (खासाबाट तीन सय किलोमिटर पर) मा आश्रय दिइएको महावाणिज्य दूतावासका अधिकारीले बताए ।
‘नेपालीहरूलाई त्यहाँ लगेर हेरचाहसहित राखेको जानकारी हामीलाई दिइएको छ । केहीलाई अस्पतालमा उपचार समेत गरिएको छ । लुगाफाटा, खाना सबै व्यवस्था गरेर राम्रोसँग राखेका छन्,’ महावाणिज्य दूत हरिप्रसाद बस्यालले कान्तिपुरसँग टेलिफोनमा भने ।
घाइतेमध्ये तीन नेपालीको आईसीयूमा राखेर उपचार भइरहेको छ । एक गम्भीर घाइतेलाई उपचारार्थ ल्हासा नै पुर्याइएको छ । केही घाइतेको सिगात्सेमा उपचार भइरहेको छ । सबैलाई खाने, बस्ने राम्रो प्रबन्ध भएको त्यहाँबाट वाणिज्य दूतावास पुगेकी सिन्धुपाल्चोककी एक महिलाले जानकारी दिइन् । उनीहरू सबैलाई नेपालमा फोनसम्पर्क गर्ने व्यवस्थासमेत मिलाइएको छ ।
चिनियाँ नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरूलाई पनि लगिएको बस्यालले बताए । रसुवागढी सीमा क्षेत्रबाट समेत करिब १० नेपालीलाई उद्धार गरी केरुङ लगिएको छ । उनीहरू केरुङ घुम्न गएकै बेला भूकम्पमा परेका हुन् । उनीहरूको नागरिकता, पासपोर्ट हेरेर स्वदेश फर्काउन पहल भइरहेको बस्यालले बताए । ‘विदेशीको हकमा उनीहरूको इच्छा हो । नेपालीको हकमा भने हामीले एकै फ्लाइट वा हेलिकोप्टरमा नेपाल ल्याउने तयारी गरिरहेका छौ,’ उनले भने ।
सगरमाथा बेसक्याम्पमा धेरै नेपाली शेर्पा परेको बस्यालले बताए । ‘त्यसमा नेपाली, चिनियाँ र अन्य विदेशी सबै उल्लेख छ । तर संख्या धेरै भनिए पनि कति भन्ने तिब्बत सरकारले खुलाएको छैन’ उनले भने ।
महाभूकम्पपछि तिब्बत सरकारले राहतका लागि ६० लाख चिनियाँ युआन बराबरको सहयोग पठाउने घोषणा गरी त्यसअनुरूपको सामग्री पठाइरहेको छ ।
भूकम्प गएको दिन तिब्बत सरकारका उपप्रमुखले महावाणिज्यदूत बस्याललाई भेटी समवेदना पत्र हस्तान्तरण तथा राहतको घोषणा गरेका थिए ।
तिब्बत सरकारका अतिरीक्त ल्हासा शहरका मेयर, अन्य नागरिकसमेत वाणिज्य दूतावास आएर श्रद्धाञ्जलि व्यक्त गरेका छन् । यो क्रम जारी छ । ल्हासा नगरपालिकाकाले १० लाख चिनियाँ युआन भूकम्प सहयोग दिने घोषणा गरिसकेको छ ।
यस्तै ल्हासास्थित नेपाली दु:ख निवारण कल्याणकारी कोषको पहलमा त्यहाका नेपालीहरूबाट करिब ६० लाख रुपैयाँ बराबरको चन्दा संकलन भएको पनि दूतावासले जनाएको छ ।
Leave a Reply