भूकम्प केन्द्रमा उद्दार टोली पुग्यो, गोरखामा २ सय ५० को मृत्यु

gorkhaगोरखा— गोरखाको  बारपाकमा नेपाली सेनाले उद्दार सुरु गरेको छ। सेनाको हेलिकप्टरले ९६ जनालाई उद्दार गरी उपचारका लागि पोखरा लगेको छ।  सेनाका चिकित्सक टोलीले बारपाक पुगेर समान्य घाइतेहरुको उपचार गरेको र गम्भीर घाईतेहरुलाई तीन पटक गरेर हेलिकप्टरबाट पोखरा लगिएको भैरवी दल गण गोरखाका गणपति प्रेमबहादुर थापाले बताए । उनले भने ‘हेलिकप्टरबाट ९६ जनालाई पोखरा लगिएको छ, अझै घाईतेहरुको खोजी र उद्धार जारी छ।’

भुकम्पको केन्दविन्दु रहेको बारपाक उत्तरका गुम्दा, लाप्राक र मान्बु गाविसमा भने अहिलेसम्म उद्दार थालिएको छैन । ती गाविसका अधिकांश घर पुरिएका छन । तीन उत्तरी गाविसमध्ये लाप्राकमा व्यापक क्षतिको अनुमान गरिएको छ ।
प्रतिकुल मौसमले गर्दा उद्दारकोे लागि गएको भारतीय सेनाको एउटा हेलिकप्टर त्यहाँ अवतरण हुन नसकी फर्किएको छ ।
शनिवार दिउँसो १२ बजे गएको भुकम्पका कारण गोरखामा मृतक संख्या दुई सय ५० पुगेको छ । ज्यान गुमाउनेमा दुई महिनाका बालबालिका देखि ८५ वर्षे वृद्धसम्म रहेका छन् । भूकम्पले घर, गोठ भत्किएर उनीहरुको मृत्यू भएको हो। मृत्यू हुने अधिकासंको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘दुईसय ५० जनाभन्दा बढिको मृत्यू भएको छ’ डिएसपी अर्जुन चन्द ठकुरीले भने ‘सबै रेकर्ड आइसकेको छैन, दुर्गम उत्तरी गोरखाको मानवीय क्षति समेत पूरा नआइसकेको उनले बताए ।’ प्रहरी युनिट नजिक रहेको ठाउँको मात्रै घटना बिवरण आएको उनले बताए । प्रहरी युनिटबाट एक दुई दिन हिँडेर जान लाग्ने दुर्गम गाउँमा भएको मानविय क्षतीबारे जानकारी आउने क्रममै छ । मृतकको संख्या बढ्न सक्ने उनले बताए ।
भुकम्पको मुख्य केन्द्रबिन्दु बारपाकमा पुरै गाउँ पुरिएको छ । गुजुमुज्ज घर बाक्लो बस्ती रहेको बारपाकमा एघार सय भन्दा बढी घरधुरी छन् । ९९ प्रतिसत घर पूर्ण रुपमा क्षति भएको छ । वर्षातका कारण सवारी आवत जावत ठप्प र सदरमुकामसँग संचार सुविधा पनि टुटेपछि बारपाकमा आईतवार दिउँसो मात्रै नेपाली सेनाको हेलिकप्टरले चिकित्सक लगेको हो।

आईतवार दिउँसो नै भारतिय सरकारले उद्धारका लागि पठाएको हेलिकप्टरले गोरखाको लाप्राक, आरुघाट माथिका क्षेत्रमा चिकित्सक लगेको छ । औषधि र केही राहत सामग्री सहित गोरखाका सभाषदहरु दुर्गम माथिल्लो क्षेत्र पुगेका छन्।

सदरमुकामबाट करिब २५ कोस टाढाको दुरीमा पर्ने बारपाक माथिका हिमाली दुर्गम गाविस लाप्राक, गुम्दामा भएको मानविय क्षतीको बिवरण अझै आउन सकेको छैन। आइतवार साँझ ५ बजेतिर मात्रै त्यस क्षेत्रका लागि भारतिय सरकारले पठाएको हेलिकप्टर लिएर चिकित्सक र उद्धारका लागि नेपाली सेनाको टोली पठाइए पनि पतिकुल मौसमले त्यहाँ पुग्न सकेन।

सौरपानी, आरुचनौटे लगायतका क्षेत्रमा एकै गाविसमा एक देखि ३० जनासम्मको मृत्यु भएको प्रहरीले जनाएको छ। भुकम्पकै कारण सयौँ जना घाईते भएका छन्। गोरखा सदरमुकाम आसपासका गाविसमा मात्रै सय जना भन्दाबढी घाईते भएको र उनीहरुलाई जिल्ला अस्पतालमा शनिवार देखि नै उपचार गराईएको छ । गम्भीर घाईते १० जनालाई शनिवार साँझ नै उपचारका लागि अन्यत्रै रिफर गरिएको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सक कृष्ण ढकालले भने ‘रिफर गरेका बाहेक तीन, चार जनाको अवस्था गम्भीर छ अन्य सबै खतरामुक्त छन् ।’ घाईतेहरुको टाउको, र खुट्टामा चोट लागेको छ। ठाउँ अभाव भएपछि घाईतेलाई गोरखा अस्पतालको आँगनमा पाल टाँगेर उपचार गराईएको हो । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी घाईतेको उद्धार र उपचारमा खटिएका थिए।

प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले भने ‘हामीले घाईतेको उपचारलाई पहिलो प्रथामिकतामा राखेर अन्य जिल्लाबाट औषधी झिकाएर उपचार गराईरहेका छौँ ।’ जिल्लामा भएको यो ठुलो मानविय क्षती भएकाले सर्वसाधारणमा त्रास बढेको उनले बताए । बिरामीलाई औषधी पनि अभाव भएको छ । स्वास्थ्य चौकीमा पठाउन स्टोर गरिएका समान्य औषधीले सयौँ बिरामीलाई उपचार गर्न स्वास्थ्यकर्मीलाई समस्या भएको बताएका छन् ।

Leave a Reply