मुलुक विभाजन गर्न विदेशीले लगानी गरेका छन : केपी ओली
खोटाङ– एमाले अध्यक्ष केपी ओलीले संक्रमणकालको फाइदा उठाउँदै मुलुक विखण्डन गर्न केही विदेशीले लगानी गरेको बताएका छन्। एमाले खोटाङको छैठौं अधिवेसन उदघाटन कार्यक्रमलाई बिहीबार सदरमुकाम दिक्तेलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले संबिधानसभामा एमालेको प्रभावकारी उपस्थिति रहेका कारण मुलुक विखण्डन गर्ने कसैको योजना सफल हुन नदिने बताएका हुन्।
उनले मुलुकमा जारी अशान्ति र हिंसा समाप्त गर्दै देशलाई लोकतान्त्रिक प्रणालीमा अगाडि बढाउन तथा देशलाई संबृद्ध बनाउन नयाँ संविधान निर्माणमा ढिलाइ गर्न नहुने बताए। उनले २०६४ सालको संविधानसभाको निर्वाचनमा एमालेले ‘राम्रो खेलाडीले हारेजस्तै’ परिणाम भोग्नुपरेको उल्लेख गरे। ‘कहिलेकहीँ राम्रो खेलाडी पनि खेलमा हार्न पुग्छन्, नराम्रा खेलाडीको बिजयी हुन्छ्,’ उनले भने, ‘त्यसबेलाको दौडमा एमाले लडेका कारण एमाओबादीले पहिलो बनेको हो।’
ओलीले दश वर्षे माओबादी जनयुद्धका नाममा एमाले, कांग्रेसका कार्यकर्तालाई छानी–छानी हत्या गर्ने काम भएको उल्लेख गरे। ‘त्यो जनयुद्धका नाममा गरिएको बितण्डा थियो, उद्धण्डता थियो,’ ओलीले प्रश्न गरे, ‘जनतालाई मारेर पनि कहीँ जनयुद्ध हुन्छ?’
उनले संविधान जारी नगरी संविधानसभा खेर नजाने बताए। अघिल्लो संविधानसभामा एमालेको कमजोर उपस्थिति भएका कारण संविधानसभा असफल भएको तर्क गर्दै ओलीले वर्तमान संविधानसभा असफल हुन नदिने बताए। ‘धन्दा नमान्नुस्, यसपल्ट संबिधानसभामा एमाले छ,’ आसनमा बसेरै सम्बोधन गरेका ओलीले भने,’यहाँ झुक्याउन खोजिदैछ, अलमल्याउन खोखिदैछ, तर हाम्रो संकल्प संबिधान हो।’ ओलीले सहमतिमा संबिधान बनाउन प्रयास गरिने तर सहमति नजुटे संबैधानिक प्रक्रियाबाट संबिधान जारी हुने बताए।
शान्ति, लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, संबृद्धि स्थापना गर्ने संकल्प सहितको संबिधान जारी हुने उल्लेख गर्दै अध्यक्ष ओलीले निराश नहुन सर्वसाधारणलाई आग्रह गरे। ‘अब देशको गरिबी, पछौटेपन हटाएर सम्वृद्धितर्फ जानका लागि मार्ग प्रशस्त गर्ने संकल्प सहितको संबिधान बन्छ,’ ओलीले भने, ‘तसर्थ निरास नहुनुस, निरास हुनुको अर्थ छैन।’
कार्यक्रममा एमाले उपाध्यक्ष भीम रावलले संविधान निर्माणका क्रममा एमाओवादी प्रमुख बाधक बनेको आरोप लगाएका छन्। रावलले आफ्नो पार्टी हदैसम्म लचिलो भएपनि एमाओवादी मूख्य बाधक बनेर बसेको बताए। ‘हामी अत्यन्तै लचिलो भएर संविधान निर्माणका काममा लागी परिरहेका छौँ,’ पूर्वगृहमन्त्रीसमेत रहेका रावलले भने, ‘तर एमाओवादीका कारण संबिधान बनाउने काममा बाधा उत्पन्न भइरहेको छ।’ अध्यक्ष ओली र उपाध्यक्ष रावल अधिबेसन उदघाटन कार्यक्रममा हेलीकोप्टरमार्फत खोटाङ आएका थिए।
Leave a Reply