स्वीकृतिबिना क्यानडा पुगेका कर्मचारीसँग चार प्रश्न
२० चैत २०७१, काठमाडौँ — स्वीकृतिबिना क्यानडा पुगेका दुई कर्मचारीसँग मात्र काठमाडौं महानगरपालिकाले बिहीबार विवरण मागेको छ। कार्यालयलाई झुक्याएर विदेश पुगेका उनीहरुसँग स्पष्टीकरण माग्नुको सट्टा प्रमुख तथा कार्यकारी अधिकृत पूर्णभक्त तण्डुकारले नम्र भाषामा चार वटा प्रश्न सोधेका छन्।
कार्यकारीले बिहीबार वातावरण महाशाखा प्रमुख हरि कुँवर र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख नुरनिधि न्यौपानेसँग मात्र विवरण माग भएको महानगरपालिका स्रोतले जनायो। वातावरण व्यवस्थापन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीले भने पत्र बुझ्न अस्वीकार गरेको स्रोतले जनायो । तर वडा ६ का इन्जिनियर निर्मल भट्टराई र कार्यान्वयन महाशाखाका नगर निरीक्षक राजु पाण्डेबारे भने महानगरपालिका मौन छ ।
‘कार्यकारीले यथार्थ विवरण पेस गर्न’ भन्ने विषयमा पत्र काटेका छन् । पत्रमा कार्यक्रममा ‘कसको स्वीकृतिमा गएको ?, स्थानीय विकास मन्त्रालयको सहमतिबिना किन ?, अरु को–कोलाई लगेको ? र, जाँदा र आउँदाको खर्च कसले बेहोरे ?’ प्रश्न गरिएको स्रोतले नागरिकलाई जानकारी दियो ।
भट्टराई र पाण्डे भने कुनै प्रक्रिया नै नचाली बिदेसिएकाले उनीहरुबाट जवाफ आएपछि केही हुने ती अधिकारीले जानकारी दिए । ‘स्पष्टीकरण लिन पत्र काटेको भए उनीहरुलाई कारबाही हुन्थ्यो,’ ती अधिकारीले भने, ‘विवरण मागेपछि चित्त बुझे कारबाही हुँदैन ।’ कार्यकारीले कारबाही गर्ने आँट नै नगरेका कारण यस्तो नम्र रुपमा पत्र काटेको उनको दाबी छ ।
उनका अनुसार उनीहरु जानुअघि मौखिक रुपमा अनुमति दिएकाले कार्यकारी नम्र भएको उनले बताए । ‘जानुअघि कार्यकारी हुन्छ भनेकै कारण कर्मचारीहरु बिदेसिए,’ उनले भने, ‘तर कर्मचारीले मन्त्रालयसँग अनुमति मागेनन् । पत्र महानगरपालिकामै रह्यो ।’
चैत १ गते उनीहरु क्यनडा पुगे पनि बुधबार सबै कर्मचारी कार्यालयको काममा छन् । स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले कारबाही गर्न जोड दिए पनि कारबाही प्रक्रिया ढिला भइरहेको मन्त्रालयका एक अधिकारीले नागरिकलाई जानकारी दिए । ‘मन्त्रीजीले घटना सार्वजनिक हुनेबित्तिकै छानबिनका लागि आदेश दिएका थिए,’ उनले भने, ‘मन्त्रालयले आफैं समिति गठन गरेर अनुसन्धान गर्ने तयारी गरिरहेको छ ।’ यसबाहेक मन्त्रालयका सचिव सोमलाल सुवेदीले कर्मचारीलाई कुनै पनि हालतमा कारबाही गर्नुपर्ने बताउँदै आएका छन् ।
वडा ६ का इन्जिनियर निर्मम भट्टराई र कार्यान्वयन महाशाखाका नगर निरिक्षक राजु पाण्डेबारे कुनै प्रक्रियाबिनै क्यानडा पुगेका थिए । कार्की, न्यौपाने र कुँवर भने आधा प्रक्रिया मात्र पुरा गरेर क्यानडा पुगेका थिए । उनीहरुले महानगरपालिकाको लेटरप्याड दुरुपयोग गरेर अन्यलाई पनि लगेको भन्ने आएपनि महानगरपालिकाले यसबारेमा बिहिबारसम्म केही बोलेको छैन ।
स्थानिय स्वयत्त शासन नियमावली २०५६ को नियम २ सय ५८ को काज खटाउँने सम्बन्धी बुँदाले स्थानिय निकायका कुनै कर्मचारीलाई विदेशमा काज खटाउँनुपूर्व मन्त्रालयको स्वीकृत लिनुपर्नेमा उनीहरुले बेवास्ता गरेका थिए ।
Leave a Reply