अनुमति दिइएको भन्दा बढी समय काम गर्ने विद्यार्थीको भिसा विमानस्थलमै रद्द

७ फेब्रुवरी २०२५, एडिलेड- अस्ट्रेलिया फर्कदै गरेका एक विद्यार्थीको भिसा दक्षिण अस्ट्रेलियाको एयसपोर्टबाटै रद्द गरिएको छ । उनलाई अनुमति दिइएको भन्दा बढी समय काम गरेका कारण उनको भिसा रद्द गरिएको अस्ट्रेलियाको ‘बोर्डर फोर्स’ ले बताएको छ । सन २०२५ को फेब्रुवरीमा एकजना देश नखुलाईएका विद्यार्थी आफ्नो देश गएर अस्ट्रेलिया फर्कने क्रममा थिए । आगमन कक्षमा ब्यागहरुको खोजतलास गर्ने स्थलमा बोर्डर फोर्सका कर्मचारीले उनलाई उनी आफ्ना भिसाका शर्तहरुबारे जानकार भए नभएकाबारे जिज्ञाशा राख्दा उनले आफू जानकार रहेको बताएका थिए । उनको भिसामा भिसा बाहकले प्रत्येक दुई हप्तामा ४० घण्टा भन्दा बढी समय काम गर्न नपाउने शर्त उल्लेख गरिएको थियो ।

खोजतलासका क्रममा बोर्डर फोर्सका कर्मचारीले ती विद्यार्थीले सन २०२२ को मार्चमा ‘ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी’ पढ्नका लागी भिसा प्राप्त गरेको तर २०२२ कै जुलाई देखी उक्त बिषय पढ्न छाडेको पत्ता लगाए । साथै उनले  २०२२ को अक्टोबर देखी २०२४ को अक्टोबर सम्म  ‘सर्टिफिकेट थ्री इन कार्पेन्ट्री’ अध्यायन गरेको र त्यसपछी ‘ग्राजुएट डिप्लोमा इन म्यानेजमेन्ट (लर्निङ)’ मा भर्ना भएको पाइएको थियो ।

पछी सोघपुछका क्रममा उनले आफूले सधैं अनुमति दिईएकोभन्दा बढी समय काम गर्ने गरेको स्विकार गरे । उनको मोबाइल फोनको परिक्षण गर्दा उनले उक्त समयमा उबर समेत चलाएको पाईएको थियो । ‘बोर्डर फोर्स’ ले त्यसपछी गरेको औपचारिक अन्तरवार्ताका क्रममा सन २०२४ को मार्च र अप्रिलमा पढाइ चलिरहेका बेला हप्ताको ५० देखी ६० घण्टासम्म काम गरेको स्विकार गरेका थिए । त्यसपछी उनले भिसा कन्डिसनका शर्तहरु पालना नगरेको ठहर गर्दै उनलाई एयरपोर्टबाटै फिर्ता पठाइएको थियो ।

Leave a Reply