के हो ‘अस्ट्रेलिया डे’? कस्तो छ इतिहास?

मिलन दाहाल

जनवरी २०२५, एडिलेड- अस्ट्रेलियामा आज ‘अस्ट्रेलिया डे’ मनाईदैछ । तर आप्रवासीहरू धेरै भएको र अस्ट्रेलियाको इतिहास नपढेको खण्डमा ‘अस्ट्रेलिया डे’ का बारेमा जानकारी नहुन सक्छ । यो बारेमा आजको आलेखमा जानकारी गराइदैछ ।

‘अस्ट्रेलिया डे’ लाई आजकल अष्ट्रेलियाको आधिकारिक राष्ट्रिय दिवशका रूपमा मनाइन्छ । हरेक बर्ष २६ जनवरीमा मनाइने यस दिनलाई सन् १७८८ मा सिड्नी हार्बरको दक्षिणी किनारमा रहेको सिड्नी कोभका आर्थर फिलिपद्वारा पहिलो फ्लीटको अवतरण गरेको दिनको स्मृतिका रूपमा मनाइन्छ ।  वर्तमानमा, अष्ट्रेलिया डे काउन्सिलले  अष्ट्रेलियनहरूको योगदानलाई सम्मान गर्ने कार्यक्रमहरू आयोजना गर्दछ । साथै आदिवासी अष्ट्रेलियनहरू माथी विगतमा भएका अन्यायहरूको आत्मसमिक्षा गर्दै अस्ट्रेलियन समाजको विगत र वर्तमानको विविधता र उपलब्धिहरूलाई सम्मान गर्दै उत्सव मनाउने कार्यक्रमहरू आयोजना गरिन्छन । यस दिन   सामुदायिक पुरस्कार र नागरिकता समारोहको पनि आयोजित गरिन्छ । ‘अस्ट्रेलिया डे’ को पूर्वसन्ध्यामा अष्ट्रेलियन अफ द इयर अवार्डहरूको वितरण, ‘अष्ट्रेलिया डे’ सम्मान गरिने नामहरूको घोषणा लगायतका कामहरू गरिन्छन ।

यस दिन हरेक राज्य र क्षेत्रमा आधिकारिक रूपमा सार्वजनिक बिदा दिइन्छ ।  सामुदायिक चाडपर्व, कन्सर्ट र नागरिकता  वितरण समारोहको साथ यस दिनलाई देश भरका ठूला तथा साना समुदाय र शहरहरूमा मनाइन्छ । आजका दिनसम्म आईपुग्दा ‘अस्ट्रेलिया डे’ अष्ट्रेलियामा सबैभन्दा ठूलो वार्षिक नागरिक कार्यक्रम भएको छ।

‘अष्ट्रेलिया डे’ लाई पहिलोपटक सन १८०८ मा उत्सव को रूपमा मनाइएको देखिन्छ ।  ‘अस्ट्रेलिया डे’ समग्ररूपमा अस्ट्रेलियाभर मनाउन शुरू हुनुभन्दा पहिले विभिन्न राज्यहरूले छुट्टाछुट्टै रूपमा आफ्नो स्थापना दिवश मनाउने गरेको पाइन्छ । सन्  १९०१ मा ६ बटा छुट्टा छुट्टै ब्रिटिश शाशित राज्यहरूले एकीकृत हुने निर्णय गरेपछी राष्ट्रिय बिदा संयुक्त रूपमा मनाउनका लागी छलफलहरू अगाडी बढ्यो ।   मूलवासी संघ ( Australian’s Native’s Association) को  लबिङ अनुसार शुरूमा ‘अस्ट्रेलिया मूलवाशी दिवश’ मनाउन थालियो । सन् १९३५ मा ‘अस्ट्रेलिया डे’ नामाकरण गर्दै  २६ जनवरीमा राष्ट्रिय दिवशका रूपमा मनाउने सहमति गरियो । सन १९४० देखी यस दिनलाई सबै राज्यहरूमा सार्वजनिक विदा दिन थालेको देखिन्छ।

उक्त कुराको विरोधस्वरूप सन १९३८ देखि अस्ट्रेलियन आदिवासीहरूले आफ्नो भूमि जबरजस्ती खोसिएको दिनका रूपमा चित्रित गर्दै  २६ जनवरीलाई आक्रमण दिवस, जीवन रक्षा दिवस वा शोकको दिनका रूपमा समेत मनाउँछन्।  कसै कसैले ‘अष्ट्रेलिया डे’ को मिति परिवर्तन गर्न वा सार्वजनिक बिदा खारेज गर्न आह्वान समेत गरेका छन् । मिति परिवर्तनको लागि समर्थन गर्नेहरूको संख्या बिगतमा खासै धेरै थिएन । २०२१ को सर्वेक्षणले भने ३० वर्ष मुनिका अष्ट्रेलियालीहरू पुरानो पुस्ताको तुलनामा परिवर्तनलाई स्विकार गर्न थप लचिलो बनेको देखाएको छ ।

Leave a Reply