पुर्वी नेपालमा भारी बर्षा, खोला नजिकका बस्ती जोखिममा
तीन वर्षअघि ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकाको नाक्ला भिरमा पहिरो जाँदा तमोर नदी थुनियो । ताल फुट्ने डरले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटासम्म नदी किनारका बासिन्दा पाँच दिनसम्म जाग्राम बसे ।
छैटौं दिन ताल बिस्तारै खुलेर बग्न थालेपछि त्रास हट्यो । एक वर्षअघि जिल्लाकै लिवाङ, खोक्लिङलगायतका स्थानमा गएको पहिरोपछि मेवाखोलामा बाढी आउँदा रामदुवाली बजार बगायो । बाढी आउन लागेको सूचनापछि ११ घर परिवारले भागेर ज्यान जोगाए । बाढीले पुरानो बस्ती नै बगर बनायो । वर्खा लागेपछि दोभान बजारका प्रेम न्यौपानेको निन्द्रा हराउँछ । छैवैका तमोर र मैवा नदीमा बाढी आएर कतिखेर डुबाउने हो भन्ने चिन्ताले उनलाई सताइरहन्छ । ‘दुई ठूला नदीको किनारमा बस्ती रहेकाले बर्खामा ढुक्कले बस्न सक्दैनौं’, उनले भने, ‘वर्षौंदेखि वर्सातमा बाढी आएर बगाउने चिन्ताले सताइरहन्छ ।’ ताप्लेजुङ र पाँचथर भएर बग्ने नदी किनारमा दर्जनौं बस्ती छन् । पुराना बजार पनि त्यही नदी किनार मै छन् ।
दोभानजस्ता पूर्वी पहाडका नदीनाला आसपास दर्जनौं बस्ती बाढीको उच्च जोखिममा छन् । यो क्षेत्रमा तीब्बतसँगको सीमावर्ती गाउँ ओलाङचुङगोलादेखि सुनसरीको चतारासम्मका गाउँ र उब्जनीयोग्य जमिन पनि पर्छन् । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रमा रहेका अन्नबाली असार २८ गतेसम्म थन्क्याउन सूचना गरेपछि तटीय क्षेत्रका स्थानीय थप त्रसित छन् ।
तमोर, मेवा र काबेली नदीमा जडान गरिएका बाढी पहिरोको पूर्वसूचना दिने संयन्त्रका अनुसार बुधबारदेखि नदीमा पानीको बहाव बढ्न थालेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज लिम्बु जोखिमका बेला माथिल्लो भेगका बासिन्दाले दिने सूचना नै भरपर्दो मान्नुपर्ने अवस्था रहेका बताउँछन् ।
तमोर नदी किनारका ओलाङचुङगोला, सिँवा, छिरुवा, मित्लुङ, तापेथोक, हान्द्रुङ, दोभान, मेवाखोला किनारको संक्रान्ते, काबेली किनारको थुङ्गिम, काबेलीलगायतका बस्ती बाढीको उच्च जोखिममा छन् ।
धनकुटाका कुरुलेतेनुपा, तांखुवा, खुवाफोक, बेलहारा, आँखीसल्ला, आहाले, महाभारत, मुलघाटलगायत तमोर किनारका बस्ती समेत जोखिममा छन् । वर्षा सुरु भएपछि हिलिहाङ–७ माझीटारका जसबहादुर माझी रातमा निदाउन सक्दैनन् । हेंवा खोला र तमोर नदीको बीचमा रहेको माझी बस्तीमा पटक पटक बाढी आउने गर्छ । ‘दुई खोलामा एकैसाथ बाढी आयो भने बस्ती उठाउने सम्भावना छ,’ जसबहादुरले भने, ‘पछिल्लो समयमा खोलामा असन्तुलित रूपमा बाढी आउने क्रम बढिरहेको छ ।’ पाँचथरको कुम्मायक गाउँपालिकाको लुमुघाटमा पनि केही घर खोला किनारमै छन् । फिदिम नगरपालिका–४ को हेंवा खोलाका घर पनि खोला किनारमै निर्माण गरिएका छन् ।
Leave a Reply