अष्ट्रेलियामा नेपाली इमान्दारितालाई पुन:उठान गरेर बिदा भए निश्चल
३ जनवरी २०१९, एडिलेड (मिलन दाहाल)- मृत्यु शास्वत हो । प्रकृतिको नियम हो । जन्मिएपछि मर्नु ध्रुव सत्य हो । कसैको मृत्युमा दु:ख लाग्नु मानविय स्वभाव हो । यसैपनि हामी नेपाली मानवीय स्वभाव, खासगरी मृत्यु लगायतका दु:ख क्षणमा प्रकट गरिने, प्रकट गर्नमा निकै धनी छौं । जीवनमा हामीले गर्ने कामहरुले हामीलाई अरुको हृदयमा जिवन्त राखिरहन्छन, युग युगसम्म । नत्र हामी सहिदहरुलाई किन जहिल्यै सम्झिरहन्छौं ?
गत हप्ता एडिलेडमा एक नेपालीको समुद्रमा डुवेर मृत्यु भयो । नेपाली समुदाय बढ्दै गरेको साउथ अष्ट्रेलियाको सानो शहर एडिलेडमा समुद्रमै डुवेर मर्ने सम्भवत पहिला नेपाली हुनुपर्छ उनी । उनी थिए काठमान्डौका निश्चल घिमिरे । करिब ३ बर्षअघि एडिलेड आएका निश्चल नर्सिङका विद्यार्थी थिएभने अपाङ्ता सहायताकर्ता (Disability Support Worker) का रुपमा कार्यरत थिए । झट्ट Disability Support Worker भन्दा अपाङ्गता भएका मानिसहरुलाई सहयोग गर्ने काम हो । नेपाली मानसिकताले यसलाई सामान्य रुपमा बुझेपनि यो कामको जिम्मेवारीको गहनता निकै बढी छ, यसको चर्चा म यंहा गर्दिन, लामो हुनजान्छ ।
विहिवारदेखी हराइरहेका घिमिरेको सव १७ घण्टालामो अनवरत खोजपछी गत शुक्रवार वेस्ट बिचमा पानीमा तैरिरहेको अवस्थापा भेटिएको थियो । उनको गाडी बिचनेरको बाटामा पार्किङ गरिएको अवस्थामा भेटिएको थियो ।
‘शुरुमा एक नेपाली बेपत्ता, उनको जिम्मेवारीमा रहेका बोल्न नसक्ने वालक भिजेको र नग्न अवस्थामा मध्यरातमा कसैको ढोका ढक्ढक्याउदै गरेको अवस्थामा भेटिए’ भन्ने समाचार पढ्दा पढ्नेबित्तिकै निश्चल ‘गैरजिम्मेवार’ रहेछन कि भन्ने आशंका हुनु स्वभाविक हो । किनभने अष्ट्रेलियामा मान्छेसँग सम्बन्धित सेवालाई निकै संवेदनशिल मानिन्छ । कुनै मान्छेको जिम्मेवारी लिएर हिडेको मान्छेले हरेक अवस्थाको जानकारी सम्बन्धित संस्थाको आधिकारीक व्याक्तिलाई समयसमयमा गराइरहनुपर्ने हुन्छ । निश्चलले यसो किन गरेनन् त?
उनको मृत्युको खास कारण अहिलेपनि तथ्यगत रुपमा पत्ता लाग्न सकेको छैन । घटनाबारे जानकार रहेका निश्चल अब रहेनन्, उनीसँग रहेका केभिन नामका १० बर्षका बालक बोल्न सक्दैनन् । उनलाई अटिज्म छ र उनी सुस्त मनस्थितिकासमेत रहेका छन । उनी केवल समुद्रतर्फमात्र देखाइरहन्छन । घटनावारे जान्ने वा उनीहरुलाई देखेका कोही हालसम्म प्रहरीको सम्पर्कमा आएका छैनन् ।
तर निश्चलको कामप्रतिको लगनशिलता, उनको कार्यदक्षता, उनको मिलनसार व्यावहार र ६ महिनामा उनले केभिन नामका बालकको जीवनमा ल्याएको परिवर्तन र खुसीको उनका सुपरभाइजर, साथीहरु र उनले सहयोग गर्ने मानिसका परिवारजन सबैले मुक्तकण्ठले प्रसंसा गरिरहेका छन । केभिनकि आमाले त निश्चललाई केभिनले हालसम्म पाएकामध्येका सर्वोत्कृष्ट सपोर्ट वर्कर भनेकि छन र ६ महिनामा निश्चल उनको परिवारको हिस्सा नै हुन सफल भएको भनेकि छन । धेरैले उनलाई आफु पौडन नजान्दा नजान्दैपनि आफ्नो जिम्मेवारीमा रहेका वालकलाई बचाउने क्रममा उनी डुवेको हुनसक्ने आशंका गर्छन ।
यदाकदा केही अपबादबाहेक हुन त अष्ट्रेलियामा नेपालीहरुको छबि ‘इमान्दार’ र ‘मेहेनति’ नै भनेर छ । अष्ट्रेलियनहरुको यहि बुझाइमा एउटा बलियो इटा थपेर विदा भएका छन । हुन् त निश्चलको ‘आफ्नो परिवारलाई खुसी पार्ने’ सपना अपुरै रह्यो । तर उनी इमान्दार र मेहेनति नेपालीका रुपमा अष्ट्रेलियामा पछिसम्म सम्झिइरहने छन ।
Leave a Reply