दोस्रो अभिभावक पिकनिक कार्यक्रम सम्पन्न

७ अप्रिल २०१८, एडिलेड- साउथ अष्ट्रेलियाको एडिलेडमा दोस्रो अभिभावक पिकनिक कार्यक्रम सम्पन्न भएको छ । एडिलेड नेपाली समाजको आयोजनामा पिकनिक कार्यक्रम सम्पन्न भएको हो ।  नेपालबाट आएका अभिभावकहरुलाई एक आपसमा भेटघाट गराइ परिचय तथा अनुभव आदानप्रदान गराउने उदेश्यले  गत बर्षदेखी आयोजना गर्न थालिएको अभिभावक पिकनिक कार्यक्रमको दोस्रो संस्करण शनिवार पाराडाइजमा अवस्थित थोर्डन पार्कमा सम्पन्न भएको हो । कार्यक्रममा नेपालबाट साउथ अष्ट्रेलियामा रहेका आफ्ना सन्तान भेट्न आएका १ सयजनाभन्दा बढी अभिभावकहरुको उपस्थिति रहेको थियो । नेपालबाट आफ्ना सन्तान भेट्न आएका अभिभावक र एडिलेड नेपाली समाजसँग निकट सम्बन्ध राख्ने नेपालीहरुको बाक्लो उपस्थितिका कारण थोर्डन पार्क नेपालमय भएको थियो । 

फोटो सौजन्य: एडिलेड नेपाली समाजको फेबुकबाट

कार्यक्रममा अभिभावकहरुलाई मनोरञ्जन गराउन बिभिन्न खेलहरु खेलाइएको थियो ।यसरी खेलाईएका खेलहरुमा सहभागी त खुसी थिए नै नखेल्नेहरुले समेत हेरेर भरपुर मनोरञ्जन लिएका थिए । विदेशमा आफ्नै उमेरका नेपालीहरुले भरिएको पार्कमा आफुलाई पाउदा सबै अभिभावकहरु निकै खुसी देखिन्थे । मनोरञ्जनका सम्पुर्ण कार्यक्रमहरुको संचालन सुरेन्द्र रेग्मीले गरेका थिए ।

फोटो सौजन्य: निश्चल श्रेष्ठको फेबुकबाट

खानाको स्वादिष्ट परिकारमा विशेष सहयोग गरेकोमा पाठशाला समुहलाई र कार्यक्रममा उपस्थिति जनाएर सहयोग गरेकोमा एडिलेड नेपाली समाजका कार्यवाहक अध्यक्ष पर्विन गुरँगाईले सबैलाई धन्यवाद दिए । “अभिभावकको उत्साहजन उपस्थिति र भरपुर मनोरञ्जन गरेको देखेर बर्षमा दुइटा कार्यक्रम गर्नेवारे एडिलेड नेपाली समाजका पदाधिकारी बिच छलफल गर्ने सोच छ । ” गुरंगाइले थपे ।

फोटो सौजन्य: निश्चल श्रेष्ठको फेबुकबाट

कार्यक्रमको व्यवस्थापनमा निकै व्यस्त देखिएका कार्यक्रम संयोजकमध्येका रामकृष्ण शर्माले सम्पुर्ण स्वयम्सेवकहरु तथा कार्यक्रमलाई व्यवस्थित बनाउन सहयोग गरेकोमा सबैलाई घन्यवाद दिए । बिशेषगरि फोहरलाई विनमा फालेर सहभागीहरुले गरेको सहयोगको शर्माले प्रशंसा गरे । कार्यक्रम संयोजनमा श्याम दाहाल र युवराज कंडेलकोसमेत विशेष भूमीका रह्यो ।

सेलरोटी लगायत नेपाली खानाका बिभिन्न परिकारहरु रहेको उक्त कार्यक्रममा प्रवेश निशुल्क रहेको थियो । कार्यक्रम गैर आवासीय नेपाली संघसँगको सहकार्य तथा सेज होम लोन तथा प्यासिफिक इन्टरनेसनल भिषा सर्भिसेजको प्रायोजनमा भएको हो ।

फोटो सौजन्य: निश्चल श्रेष्ठको फेबुकबाट

फोटो सौजन्य: एडिलेड नेपाली समाजको फेबुकबाट

Leave a Reply