मयूर यातायातलाई स्थानीयको सुरक्षा

काठमाडौँ — बनेपाकी शर्मिला घिमिरे विगत केही दिनदेखि मयूर यातायातमा चढेर बल्खु पुग्छिन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्य चौथो सेमेस्टरमा अध्ययनरत घिमिरेलाई मयूर यातायातको यात्राले निकैको सहज बनाएको छ ।सोमबार अचानक बिहान बनेपा बसपार्कमा स्थानीय यातायात व्यवसायीले मयूर यातायातलाई चल्न नदिने भन्दै अवरोध पुर्‍याए । उनीजस्तै सयौं यात्रु अलपत्र परे । त्यसपछि सबै यात्रुले मयूर यातायातको बसलाई सुरक्षा दिने निर्णय गरे ।

‘साँगा र तलाछेमा अवरोध पुर्‍याउँछ, भन्ने हल्ला थियो,’ उनले भनिन्, ‘सबै यात्रुले सुरक्षा दिने ग्यारेन्टी दिएपछि चालकले पनि बस चलायो, अनि अघि बढे, कहीं पनि अवरोध पुर्‍याएनन् ।’ आन्दोलनकारीले साँगा र तलाछेमा केहीबेर अवरोध पुर्‍याए पनि सुरक्षाकर्मी र स्थानीयको प्रतिवादपछि छोडेको उनले बताए । साँगा र तलाछेको बीचमा जंगल भएकाले आन्दोलनकारीले बसलाई ताकेर ढुंगा हान्ने गरेको उनले बताइन् । केही दिनअघि ४/५ वटा बस उक्त जंगलमा तोडफोड गरेको बताइन् ।

‘बनेपा बसपार्कबाटै, आन्दोलनकारीसँग प्रतिरोध गर्ने यात्रुले निर्णय गरेका थियौं,’ उनले भनिन्, ‘त्यसपछि सुरक्षाकर्मी पनि थपिए, कसैले केही पनि गरेन ।’ राम्रो सेवा सुविधा दिने बसलाई स्थानीयले सुरक्षा दिनुपर्ने उनले बताइन् । ‘छिटो पनि छ, सस्तो पनि छ,’ उनले भनिन्, ‘बनेपाबाट ३५ रुपैयाँमा ४५ मिनेटमा कोटेश्वर पुर्‍याउँछ ।’ अन्य बसले प्रतिव्यक्ति ४५ रुपैयाँ र १ घण्टाभन्दा बढी लगाउने गरेको उनले बताइन् ।

कोटेश्वर पूर्वका १३ वटा समितिले अरनिको राजमार्गमा आइतबार गाडी गुडाउन बन्द गरेका थिए । सोमबार पनि उनीहरूले केहीबेर चक्काजाम गरेर यातायात ठप्प गर्ने घोषणा गरेका थिए । स्थानीयबासी र सुरक्षा निकायले सुरक्षा दिएपछि चक्काजाम सफल हुन सकेन । केही दिनदेखि काठमाडौं–बनेपा रुटमा मयूर यातायात प्रालिलाई रुट इजाजत दिएको भन्दै स्थानीय यातायात व्यवसायीले विरोध गर्दै आएका छन् ।

मयूर यातायातका बस बनेपा–कोटेश्वर–एयरपोर्ट–चाबहिल–नारायणगोपालचोक–बालाजु–कलंकी–बल्खु हुँदै कोटेश्वरबाट पुन: बनेपा पुग्ने गरेका छन् । त्यसैगरी बनेपा–कोटेश्वर–एकान्तकुना–बल्खु–कलंकी–बालाजु–चक्रपथ–चाबहिल–गौशाला हुँदै कोटेश्वरबाट पुन: बनेपा पुग्ने पनि यसको अर्को रुट छ ।

मयूरले यी रुटमा १४ वटा ४२ सिटे र अन्य ३७ सिट भएका प्रविधिमैत्री बस सञ्चालन गरेको छ । वाईफाई, टेलिभिजन, डिजिटल कार्ड, बसको अगाडि र पछाडि सीसी क्यामेरा जडान गरिएको छ ।

‘६/७ गाडी तोडफोड गरिसके, गलत तरिका बस चलाएका छैनौं, कसैको रुट परमिट खारेज गर भनेर हिँडेका छैनौं, स्वच्छ प्रतिस्पर्धा गरौं, जसरी पनि यात्रुलाई सुविधा दिने हो,’ मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले भने, ‘तोडफोड गरेर केही पनि हँुदैन ।’ यो बसमा बच्चा हुने आमालाई आरक्षण सिट व्यवस्था गरिएको छ ।

यस्तै, ७० वर्षभन्दा माथिकालाई नि:शुल्क सिट, अपांगता भएका तथा अशक्तलाई नि:शुल्क सिट, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र ट्राफिक प्रहरीलाई नि:शुल्क सिटको व्यवस्था गरिएको छ । साथै ६ महिनापछि चालक र सहचालकलाई स्थायी गरिने, बिमाको व्यवस्थासमेत गरेको अध्यक्ष श्रेष्ठले बताए । यातायात व्यवस्था विभागका निर्देशक तुलसीराम अर्यालले सुरक्षा दिएर पनि मयूर यातायात चलाउने बताए । ‘सिन्डिकेट लादन मिल्दैन’ उनले भने, ‘यात्रुलाई राम्रो सुविधा दिए जस्ले पनि चलाउन मिल्छ ।’

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले स्थानीय व्यवसायीले छलफल गरिराखेकाले तत्काल केही नबोल्ने बताए । ‘देशभरका पदाधिकारीको भेला २६ गते बोलाएका छौं,’ उनले भने, ‘त्यसपछि आन्दोलका चरणबद्ध कार्यक्रम घोषणा गर्छु ।’ सार्वजनिक यातायातमा गीत बजाएबापत् रोयल्टी तिर्नुपर्ने यातायात व्यवस्था विभागको निर्णय नमान्ने उनले बताए ।

Leave a Reply