राजेन्द्र महतोले गरे भारतीयको सहयोगमा मधेस आन्दोलन भएको खुलासा

काठमाडौंः नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतीय जनताको सहयोगमा मधेस आन्दोलन भइरहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिवार गरेको साक्षात्कारमा बोल्दै भारतीयको समर्थनमा भएको मधेस आन्दोलनलाई सम्बोधन नगरी प्रधान भारत जान नहुने जिकिर गरे ।

‘मधेस आन्दोलनलाई यसरी नै छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल हुन सक्दैन’, उनले भने, ‘प्रधानमन्त्रीको भारत यात्रा यसै छाडेर फलदायी हुँदैन । भारतीय जनताको समर्थन मधेस आन्दोलनमा छ । मधेस आन्दोलन समाधान गर्ने संकेत गरेर भ्रमणमा गए भारतीय जनताको सद्भाव पाउँछन ।’
साक्षात्कारमा महतोले भारत विरोधी भावनाले नेपालको भलो नहुने भन्दै चीनसहितका मुलुकहरुले नेपालमा सहयोग गर्नु सकारात्मक भएकोले त्यसलाई अन्यथारुपमा नबुझ्न आग्रह गरे ।
उनले जे विषय अहिले समाधान गर्न सकिन्छ त्यो अहिले नै समाधान गर्ने र नसकिने कुरालाई भोली गर्ने संकेत गर्नुपर्ने धारणा राखे ।
पछिल्लो समयमा चर्चामा रहेको सीमांकन गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यादेशमा मधेसमा दुई प्रदेश हुने छ भनि लेख्नुपर्ने भनि राखेको अडानको सन्र्दभमा महतोले त्यस्तो कुनै अडान नरहेको संकेत गरे ।
‘के के अहिले गर्ने, केके संयन्त्रले गर्ने ठोस कुरा आउनुपर्यो‍ । अहिले त यो संयन्त्र हो कि षड्यन्त्र थाहा छैन’, उनले भने, ‘कार्यादेशमा लेख्दैमा आउने नआउने हुँदैन । जे गरे पनि हुन्छ तर हामीलाई मधेसमा दुई प्रदेश चाहिएको छ ।’
मधेस आन्दोलन जारी रहेकोले अहिले केवल स्वरुप परिवर्तन मात्रै भएको उल्लेख गर्दै महतोले अहिलेको यो महत्वपूर्ण समय सदुपयोग गरेर मधेस समस्याको समाधान खोज्नुपर्ने धारणा राखे ।
‘हाम्रो माग सम्बोधन नभए चैत्र बैसाखमा घनघोर आन्दोलन हुन्छ । यो समयको सरकार र तीन दलले सदुपयोग गरेर समाधान खोज्नु पर्छ’, उनले भने, ‘जिम्मेवार र संवेदनशील भए समाधान निस्कन्छ । वार्तामा टाईमपास गर्दै टालटुले प्रबृत्तिले आन्दोलन रोकिँदैन । चैत बैसाखमा अहिलेको भन्दा घनघोर आन्दोलन हुन्छ ।’
मधेसी जनताको भावना अनुसार स्वरुप परिवर्तन गरेपनि मधेसमा जारी शान्तिपूर्ण अन्दोलन लक्ष्य प्राप्त नरहुन्जेलसम्म जारी रहने भन्दै महतोले आगामी आन्दोलनका लागि आफूहरु अहिले शक्ति सञ्चयमा लागेको बताए ।
‘मधेसी जनता र दलहरु हारेका वा थाकेका होईनन । लक्ष्य प्राप्त नभएसम्म आन्दोलन जारी रहन्छ’, उनले भने, ‘अहिलेको समयमा सरकारले सकारात्मक रुपमा उपयोग गरे समाधान निस्कन्छ । नगर हामी आन्दोलनलाई अझै शसक्तरुपमा अगाडि बढाउन शक्ति सञ्चय गर्न उपयोग गर्छौँ ।’
महतोले मोर्चाको विस्तार शक्ति सञ्चयको सुरुवात भएको भन्दै अर्को चरणमा संसद्मा नरहेका तर आन्दोलनमा रहेका थारुहटसहितका आन्दोलनमा रहेका दलहरुलाई ल्याउने तयारी भइरहेको बताए ।
उनले प्रमुख दलमा रहेका मधेसी जनजाति आदिवासी सभासद्हरुलाई पनि साक्षात्कारमार्फत आफूलाई मतदान गर्ने मधेसी जनताको भावना अनुसार आन्दोलनमा सहयोग गर्न आब्हान गरे ।
महतोले बीरगञ्ज नाकामात्रै बन्द गरेर सरकारलाई दबाब नपरेकोले त्यसलाई निरन्तरता दिइरहनु आवश्यक नभएको भन्दै मधेसी मोर्चाले आफूलाई कारबाही गरेको कुरा मिडियाबाजी मात्रै भएको बताए ।
‘कुन नेताले के भने मलाई थाहा छैन । मिडियामा कारवाही भएको हो’, उनले भने, ‘मोर्चाले कारवाही गरेको छैन । सचेत गराउने भन्ने कुरा मोर्चाको आन्तरिक कुरा हो ।’

Leave a Reply