विदेस बस्न भन्दा तरकारीखेती गर्न राम्रो
यहाँको रामपुर नगरपालिका १० का सन्तोष पौडेल पाँच वर्ष सिंगापुर काम गरेर फर्किएका हुन् । उनले अहिले आफ्नो १९ रोपनी बारीमा तरकारी खेती गर्छन् । दिनहुँ ६० केजीभन्दा बढी तरकारी बजार पठाउँछन् ।
खेती ५० रोपनी जग्गामा विस्तार गर्न लागेका उनले अहिले चारजनालाई दैनिक रोजगारीसमेत दिएका छन् । ‘विदेश गएर पनि पैसा त्यसै फल्दैन,’ उनले भने, ‘यही बसेर केही गरे बरु परिवारसँगै बस्न पाइन्छ ।’ घरपरिवार, समाज सबै छाडेर विदेश गए पनि सुखसँग पैसा कमाउन नसकिने उनको अनुभव छ । अहिले आफ्नै साथीहरूले विदेशको भिसा पठाइदिँदासमेत बेवास्ता गरेर तरकारी खेतीमै रमाएका छन् ।
विदेश गएकाहरू फर्किएपछि यही केही गर्ने सोँच पलाओस् भन्ने उनको चाहना हो ।
गाउँकै मिनु थापा पनि जापानको भिसा छाडेर तरकारी खेतीमा व्यस्त छन् । मासिक १० लाख तलब पाउने जापानको रोजगार छाडेर अहिले व्यावसायिक तरकारी खेती गरेका छन् । ‘धेरै साथीहरू विदेश गएको देखेर मैले पनि जापानका लागि भिसा लगाएको थिएँ,’ उनले भने, ‘भिसा पनि आएको थियो । तर मलाई विदेश जाने मोह भएन । आएको भिसा पनि त्यागेर अहिले तरकारी खेतीमा रमाएको छु ।’ बेरोजगार युवाहरू पैसा कमाउने मोहमा विदेशमा पसिना र रगत बगाएका छन् । विदेश रहर र बाध्यता दुवै बनेको छ । तर, पौडेल र मिनुजस्ता जिल्लाका धेरै युवाहरू अहिले विदेश जाने भिसा त्यागेर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार यस्ता युवा कृषक ९८ जना पुगेका छन् । सरकारी संयन्त्रले दिएको तथ्यांकभन्दा बढी नै युवाहरू अहिले व्यावसायिक कृषक बनेका छन् ।
सरकारले युवा लक्षित कार्यक्रम ल्याए पनि धेरै युवालाई व्यावसायिक बनाउन भने सकेको छैन । कृषि विकास कार्यालयमा आउने अनुदानको रकममा लापरबाही हुँदा व्यावसायिक तरकारी खेती गर्न चाहने युवा कृषक लाभान्वित हुन सकेका छैनन् । विगतमा धेरै सहयोग पाएका, पटकपटक एउटै कृषक र सुगमकालाई बढी सुविधा दिएको आरोप पनि छ । रामपुरका गोविन्द नेपाली, भेषराज अर्याल, रिमबहादुर श्रेष्ठ, दोभानका मिनबहादुर सोमैजस्ता युवा अहिले व्यावसायिक तरकारी खेती गर्न उत्साहित छन् । व्यावसायिक तरकारी खेती गर्नेले आर्थिक, प्राविधिक सहयोग पाउन नसक्दा अझै प्रभावकारी बन्न सकेको छैन । तर, युवाहरूले गरेका कामको भने प्रशंसा नै गर्नलायक छ ।
‘रामपुर क्षेत्रमा मात्र ३० बढी युवाहरू विदेशको भिसा त्यागेर तरकारी खेतीमा व्यस्त छन्,’ रामपुरका कृष्णकुमार अर्यालले भने, ‘अहिले युवाको आकर्षण हेर्दा उनीहरूलाई थप हौसलाको खाँचो छ ।’ समूह र सहकारीले समेत व्यावसायिक तरकारी खेतीलाई प्रोत्साहन गरेका छन् । विजयपुर कृषि सहकारीले सामूहिक तरकारी खेति गरेर यस भेगमा क्रान्ति नै ल्याएको हो । विदेशबाट फर्केका युवा, गाउँमै तरकारी खेती गर्ने युवालाई सहभागी गराएको संस्थाका अध्यक्ष सूर्य रेग्मीले बताए ।
सरकारी तवरबाट जति सहयोग हुनुपर्ने हो त्यो भने हुन नसकेको युवा कृषकको गुनासो छ । ‘हाइब्रिड बिउका कारण धेरै रोग लाग्छन्,’ युवा कृषक रिमबहादुरले भने, ‘तर समयमै उपचार गर्न समस्या नै छ ।’ कतिपय युवाहरू आइसकेको भिसा छाडेका छन् । कतिले पासपोर्ट बुझाएर पनि विदेश गएका छैनन् ।
बजारको अभाव नभएकाले पनि युवा कृषकको उत्साह बढ्दो छ । ‘खेती गरेपछि बिक्रीको कुनै समस्या छैन,’ कृषक सोमैले भने, ‘गाउँमै तरकारी बिक्छ, नबिकेको छिमेकी गाउँमा लगेर पनि बेचिन्छ ।’
Leave a Reply