माअोवादीले लेख्यो भारत र चीनलाई लिपुलेकवारे पत्र
१० जुलाई २०१५, काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले लिपुलेक नेपालको भूमि भएको उल्लेख गर्दै भारत र चीनलाई पत्र लेखेका छन्। माओवादी अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङलाई लिपुलेकका विषयमा बिहीबार पत्र पठाएका हुन्। भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिलाई लिपुलेक नेपालको भूमि भएको भन्दै अध्यक्ष (दाहाल) ले पत्र लेख्नुभएको छ,’ दाहालका प्रमुख सहयोगी चूडामणि खड्काले भने, ‘दुवैलाई दूतावासमार्फत पत्र पठाइएको हो।’
छिमेकी चीन र भारतबीच लिपुलेक नाका खुलाउने व्यापारिक सम्झौता भएपछि नेपाली सीमाविद, नेता, नागरिकलगायतले आपत्ति जनाउँदै आएका छन्।
दार्चुलाको उक्त भूमिमा चीन र भारतले सम्झौता गरेपछि सो विषय वयवस्थापिका संसदमा पनि उठेको थियो। त्यतिबेला परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले लिपुलेकको समस्या कूटनीतिक तरिकाले हल गर्न प्रयास भइरहेको जनाएका थिए। तर, दाहालले यसैबीच पत्र लेखेर चीन र भारतको ध्यानाकर्षण गराएका छन्।
Leave a Reply