पोखरामा छुटैछुट

जेष्ठ १८ २०७२, पोखरा-  भूकम्पले शिथिल पर्यटन व्यवसायलाई उकास्ने उद्देश्यले व्यवसायीले विभिन्न छुट घोषणा गरेका छन्। पोखरा सुरक्षित रहेको भन्दै निर्धक्क घुम्न आउन आग्रह पनि गरेका छन्।

होटलका कोठामा ५० प्रतिशतसहित १२ पर्यटकीय गतिविधिमा छुट दिइने व्यवसायीको भनाइ छ। जसअनुसार रेस्टुराँको बिलमा २०, ट्रेकिङ प्याकेजमा ३०, पर्यटक बस टिकटमा २०, रिजर्भका सवारीमा २०, ट्रेकिङ र तयारी पोसाकमा २०, प्याराग्लाइडिङ र अल्ट्रालाइट उडानमा १५ प्रतिशत छुट दिइनेछ।

‘संघमा आबद्ध सबै होटलमा यो निर्णय लागू हुन्छ,’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले भने, ‘अन्यलाई पनि छुटका लागि आग्रह गरेका छौं।’ पोखराको पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी होटलमै छ। विपत्का बेला सम्हालिएर अघि बढ्नुको विकल्प नरहेको पराजुलीले बताए।

अर्बौं लगानी डुब्नबाट जोगाउन र रोजगारीको अवसर सृजना गराइराख्न राज्यले पनि विशेष कार्यक्रम ल्याउनुपर्ने व्यवसायीको भनाइ छ। पोखरा सुरक्षित रहेको सन्देश दिनु पहिलो आवश्यकता रहेको पर्यटन पुनर्जागरण समितिका संयोजक गणेशबहादुर भट्टराईले बताए।

भारतसँग जोडिएका बजार र चीनमा समेत प्रवद्र्धन अभियान सञ्चालन गरिने होटल संघ नेपालका केन्द्रीय सदस्य विप्लव पौडेलले बताए।

पुनर्जागरणमा व्यवसायी

भूकम्पपछि खस्केको व्यवसायलाई उकासेर सामान्य अवस्थामा ल्याउने अभियान सुरु भएको छ। त्यसका लागि व्यवसायीले तत्कालीन र दीर्घकालीन योजनासहित पोखरा पर्यटन पुनर्जागरण समिति गठन गरेका छन्।

‘पोखरा र आसपासको क्षेत्रमा पर्यटक आगमन दर र व्यवसायलाई पुरानै अवस्थामा ब्युँताउने योजनामा छौं,’ समितिका संयोजक तथा पर्यटन बोर्डका पूर्वसदस्य गणेशबहादुर भट्टराईले भने, ‘भूकम्पको प्रभाव, अध्ययन र भावी रणनीति तय गर्नेछौं।’

‘पर्यटकीय सम्पदा र लगानी संरक्षणमा आवश्यक रणनीति तय गरी सम्बन्धित निकायमा पहल पनि गरिनेछ,’ फाइनान्सियल रिकभरी उपसमितिका संयोजक विप्लव पौडेलले भने। पोखराको पर्यटन उद्योगमा करिब १ खर्बको लगानी रहेको अनुमान छ।

अन्नपूर्ण क्षेत्र, पोखरा, चितवन, लुम्बिनी, बन्दीपुर, तानसेन, डोल्पा, रारा, मुगु, कर्णाली, बर्दियालगायत पश्चिम क्षेत्रको पर्यटन सम्पदा र गतिविधि सुरक्षित रहेकाले ढुक्कसाथ घुम्न सकिने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताए। ‘विमानस्थल, राजमार्ग र पदमार्गहरू सुरक्षित छन्,’ उनले भने, ‘पोखराका सबै होटल, रेस्टुराँ र पर्यटकीय सेवा प्रदायक व्यवसाय पनि नियमित सञ्चालनमा छन्।’

Leave a Reply