नाम नचाहने समाजसेवी

girl wth mask-मिलन दाहाल

३० मे २०१५, एडेलेड- एकजना मित्रको टेक्स्ट म्यासेज आयो, ‘मिलन जी, एकजना नेपाली चेलीको पहलमा ९०,००० डलर नेपालका भूकम्प पीडितहरुका लागी  एडेलेडको एक संस्थाबाट संकलन भइको छ, झट्ट समचार बनाइहाल्नु पर्यो’ । रकममा  विश्वास लागेन, हतारमा साथीले एकाध शून्य बढी टाइप गर्नुभएछ भन्ने सोचे । खासै बास्ता गरिन । निकैबेरपछी उहा साथीलाई फोन गरे, किनभने राहत संकलनको कामलाई उत्साहीत बनाउनु अत्यन्त जरुरी थियो,  भूकम्पले तहसनहस बनाएको नेपालको पुन:निर्माणका लागी ।

‘मित्र एकाध शून्य बढी भएको हो यहाले पठाउनुभएको टेक्स्टमा ?’ करिब त्यसै भएकोमा निश्चित थिए म ।

‘मलाई पनि त्यस्तै लागेको थियो मिलन जी , उहा स्वयमले पनि बिश्वास गर्न सक्नु भएको थिएन सुरुमा यो परिमाणको संकलनको   । संस्थाको आधिकारीक जानकारी आएपछी नै हामीले पनि बिश्वास गर्न सक्यौं।’ जबाफ आयो ।

अकमक्कमा परे केहीबेर । कसरी समाचार बनाउने ? के भनेर लेख्ने ? जे भएपनि एकपटक सम्बन्धित मान्छेसँग सम्पर्क नगरी केही लेख्नु उपयुक्त नहुने बिचार गरे । उहा साथिलाई सम्बन्धित मान्छेको मोबाइल नब्बर पठाउन आग्रह गरे र  फोन गरिहाले ।

आफ्नो परिचय दिएर अरु गन्थन नगरिकन सम्बन्धित बिषयमा प्रबेस गरिहाले । बास्तवमा समाचार सही रहेछ । ‘हो दाइ, भूकम्प आएको भोलिपल्टै मैले मेरो काम गर्ने ठाऊको प्रबन्धकसँग सम्पर्क गरेर सबै कुरा भनेको थिए, र राहत संकलन गर्न सकिने भए प्रयास गर्न आग्रह गरेको थिए । हाम्रो कम्पनीको शाखाहरु अरु राज्यहरुमा पनि छ, सायद सबैतिर परिपत्र जारी गरेर संकलन भएको हुनुपर्छ, नत्र एडेलेडबाटमात्र त यत्तिका रकम संकलन हुन नसक्ने हो ।’  सम्बन्धित मान्छेबाट प्रतिक्रिया आयो ।

मलाइ लेख्न प्रयास गर्ने मान्छे भएका कारण हत्तपत्त उहाले समाचार प्राप्त गर्दाको बखतको अनुभव जान्ने इच्छा लागिहाल्यो र आफ्ना अनुभव बताउन अनुरोध गरे । ‘दाई, सदाझै  कार्यालय गए । जानासाथ लकर रुममा आफ्नो सामानहरु राखेर लन्चरुममा कफी खान गए । व्यवस्थापनको एकजना कर्नचारीसँग त्यही भेट भयो । उनले त्यही मेरो नेपालको लागी राम्रै राहतको रकम संकलन भएको कुरा बताइन र कति भनेर अन्दाज गर्न भनिन । राम्रै भनेपछी मैले १०,००० डलरको आंकलन गरे । उनले अझ राम्रो भएको छ भनिन, म पन्ध्र हजारमा उक्लिए । सबैले धेरै-धेरै दिएको भएपनि एडेलेडबाट  पन्ध्र हजार उठ्नु ठुलो कुरा थियो । त्यसपछी उनले कम्प्युटरको स्क्रिनमा ‘वेभ साइट’ खोलेर देखाइन । स्क्रिनमा ९,००० डलर पढें र उनलाई आफुले शुरुमा १०,००० अन्दाज गरेकाले आफ्नो अन्दाज सही नैै भएको जीकिर गरे ।  उनले राम्रोसँग अंक हेर्न भनिन, खासमा रकम ९०,००० डलर संकलन भएको रहेछ । म यत्ति खुसी भए कि, कसरी प्रतिक्रिया दिने केही थाहा पाइन । घरमा आएर धुरु-धुरु रोए । धेरै खुसी हुदाको साथीपनि धेरै दुखको साथी, आंशु नै रहेको अनुभव गरे ।’  अनुभव सुनाउदै उनले भनिन ।

आफुले यसलाई आफ्नो अनलाइन पोर्टलमा समाचार बनाउन चाहेको बिचार प्रकट गरे । उनले नगर्न भनिन ।

अचम्म लाग्यो मलाइ । आज नेपालीहरु समाचार बन्न र फेसबुकमा फोटो अपलोड गर्न मरिहत्ते गर्छन । भर्खरै गएको भूकम्पमा नेपालमा एउटा चाउचाउ र एकबोटल पानी बाडेर फेसबुकमा फोटो अपलोड गर्नेहरुको निक्कै लामो लर्को देखिएको थियो, त्यो क्रम अझपनि चलिरहेछ । प्रवासमा बसेर नेपालका दलको ‘प्युठ’ बनेर प्रवासमै राजनीति गर्नेहरुको पहलमा यत्तिका रकम संकलन भएको भए, दलका नाइकेसम्म त्यसैलाई आधार बनाएर ‘सभासद्’ को काम नगरी तलब खाने पदमा र् याल काडिसकेका हुन्थे ।  झट्ट मैले फ्लोरेन्स नाइटेगंललाई सम्झे ।

‘कलम मेरो हातमा छ, समाचर मैले पाइसके । अब यसलाई समाचार नबनाई मेरा हात रोकिन्नन् बहिनी’, मैले भने ।

‘होइन दाइ, मैले समाजसेवा गर्ने गरेकि छु, तर नामका लागी होइन । मैले यो कामपनि नामका लागी गरकै होइन । मैले अधि पनि भने, यो रकम एडेलेडबाटमात्र संकलन भएको हुदै होइन । अरु स्टेटबाट अरु कसैले या धेरैले पनि पहल गरेको हुनसक्छ, तसर्थ मैले सबै क्रेडिट लिन मिल्दै मिल्दैन । मलाई त थाहा पनि थिएन, यति धैरै रकम संकलन हुदैछ । फेरी संचारकर्मीहरुको पनि त ‘इथिक्स’ को कुरा हुन्छ । सम्बन्धित मान्छेले नचाहादा- नचाहादै समाचार बनाउन कसरी सक्नुहुन्छ दाई ? आफ्नो कार्यप्रति त तपाईपनि ब्यावसायिक पक्कै हुनुहुन्छ होला ‘  उनले भनिन ।

म अकमक्क परे । एउटा नाम नचाहने समाजसेवीका बारेमा राम्रो बिषयलाई चाहेरपनि समाचार बनाउन नसकेकोमा निकै दुख लागिरह्यो ।

Leave a Reply