नेतृत्वमा दोस्रो पुस्तालाइ हस्तान्तरण गर्नुपर्नेमा बाबुरामको जोड
१० मे २०१५, काठमान्डौ- महाभूकम्पपछिको राष्ट्रिय विपत्ति सामना गर्न राष्ट्रिय सरकार बनाउनुपर्ने सुझाव पूर्वप्रधानमन्त्रीहरूले दिएका छन्। संसद्को शनिबारको बैठकमा पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले महाभूकम्पपछिको विपत्ति सामना गर्न र मुलुक पुनर्निर्माणका लागि राष्ट्रिय सरकार बन्नुपर्ने बताए। एमाओवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री भट्टराईले केही दशक राष्ट्रिय सरकार बनाएर अघि बढ्नुपर्ने संसद् बैठकमा बताए। ‘गतिशील नेतृत्वको राष्ट्रिय सरकार बनाऔं। दोस्रो पुस्तालाई सरकार हस्तान्तरण गरौं। अब धेरै लोभ नगरौं, जो सक्षम छ, उसलाई नेतृत्व दिऔं’, उनले भने। उनले हाम्रो पुस्ताको सबैभन्दा त्रासदीपूर्ण र विनाशकारी भूकम्प बेहोरेको उल्लेख गर्दै सूचना गर्दागर्दै र भन्दाभन्दै महाभूकम्प आएको र मुलुकलाई ठूलो विनाश गराएको बताए। विनाशकारी भूकम्पको जोखिम न्यून गर्न नसकेको उल्लेख गर्दै उनले असफलताको जिम्मेवारी सबैले लिनुपर्ने र आफ्नो भागको जिम्मेवारी वहन गर्न आफू तयार रहेको बताए। ‘विनाशको समस्या नयाँ चेत र सोचले मात्रै समाधान गर्न सम्भव हुन्छ’, उनले भने।
Leave a Reply