सिडिओले प्रधानमन्त्रीसँग भने, ‘इन्डियन हेलिकोप्टरले हेप्यो’
गोरखा : भुकम्पको केन्द्रविन्दू गोरखाको अवस्थाको बारेमा जानकारी लिन गोरखा आएका प्रधानमन्त्री सुशील कोइरालासंग गोरखाका प्रमुख जिल्ल अधिकारी (सिडिओ)ले भारतीय हेलिकोप्टरले हेपेको गुनासो गरेका छन्।
भारतीय हेलिकोप्टर पटकपटक आए पनि घाइतेको उद्धार तथा राहत सामग्री ढुवानी गर्न समस्या परेको स्थानीय अधिकारीले प्रधानमन्त्रीसँग बताए । मंगलबार बिहान जिविस हलमा प्रधानमन्त्रीसंग प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले विपद्को बेला उद्धार गर्न आएको भारतीय हेलिकोप्टरले मनोमानी उडान गर्दा काम अब्यबस्थित भएको रहस्य खोले।
‘प्रधानमन्त्रीलाई म के अनुरोध गर्न चाहन्छु भने, भारतीय हेलिकोप्टरले हामीसंग कत्तिपनि समन्वय गरेन’ तिमल्सेनाले भने ‘यसले गर्दा हामीलाई काम गर्न समस्या भयो ।’ साँझ सर्ब पक्षीय बैठक गरेर भोलिपल्टको लागि घाइते र राहत सामग्री ओसार्न बनाएको तालिका बिपरीत उसले उडान गर्दा काम अस्तब्यस्त भएको उनको भनाइ थियो।
‘हामी सबै साँझ बसेर एउटा तालिका बनाउँछौं, उ कहिले उँडाउदै उँडाउँदैन, कहिले भारतीय पत्रकारहरु मात्र लिएर उड्छ’ प्रजिअ तिमल्सेनाले भने ‘अनि कहिले गुम्दा पुर्याउन पठाएको खाद्यान्न बालुवामा झारेर आउँछ । कहिले जंगल र खोल्सामा खसालेर आउँछ।’
उसको उँडानको बारेमा जिल्ला दैवी प्रकोप उद्धार समितिलाई पत्तो नहुने, र पोखरा कार्यालयबाट पनि स्पष्ट कुरा नआउँदा भारतीय हेलिकोप्टर सहयोग हो कि असहयोग हो बुझ्न नसकेको उनले बताए।भारतीय हेलिकोप्टरको मनोमानीकै कारण पालुंटार हवाइ मैदानमा १७ ट्रक खाद्यान्न अलपत्र परेको प्रजिअ तिमल्सेनाले बताए। ‘उनीहरुको जिम्मा लगाएको १७ टन खाद्यान्न पालुंटारमै अलपत्र छन्’ तिमल्सेनाले भने ‘त्यसैले हामी आजित भएका छौं ।’ भारतबाट ल्याएको पानी भुजा पनि आबश्यक नपर्ने भएकाले फिर्ता पठाइदिन उनले आग्रह गरेका छन्।
भारतीय बायुसेनाको एमआई १७ हेलिकोप्टर सदरमुकाम, बारपाक र पालुंटार बाहेक अन्य अबतरण गर्न नसक्ने र सानो एमआई १६ ले पनि मनोमानी उँडान गरेपछि जिल्लास्थित राजनीतिक दलहरु पनि आजित भएका छन् । सत्तारुढ नेपाली कांग्रेस, एनेकपा माओवादी र नेकपा–माओवादीले पनि संयुक्त विज्ञप्ति जारी गरी भारतीय हेलिकोप्टरको स्वेच्छाचारी गतिबिधिको विरोध गरेका छन्।
कांग्रेस सभापति हरिबहादुर घले, एमाओवादी अध्यक्ष लेखबहादुर थापा र नेकपा–माओवादीका इञ्चार्ज परशुराम रम्तेलले विज्ञप्ति जारी गरी सहयोगको नाममा आफूखुशी उँडान भरेर सरकारी संयन्त्रको खिल्ली उँडाएकाले तत्काल यसखाले गतिबिधि सच्याउन आग्रह गरेका छन् ।‘जिल्ला दैवी प्रकोप उद्धार समितिको योजना भन्दा बाहिर अन्य ठाउँबाट परिचालित हुने कार्यले गाडीको पहुँच पुग्न नसकेको स्थानका भुकम्प पीडित जनताको उद्धार र राहतको काम प्रभावकारी हुन सकेको छैन भने अर्कोतिर देशको राष्ट्रिय स्वाधिनतामाथि पनि प्रश्नचिन्ह उठेको छ’विज्ञप्तिमा भनिएको छ ।
Leave a Reply