हामीलाई त्रिपाल भए अहिलेलाई हुन्छ: सबै घर ध्वस्त भएका सिन्धुपाल्चोकबासी
(नारायण न्यौपाने/र
मेश लम्साल)
शिखरपुर (सिन्धुपालाल्चोक) वैशाख १५ – जहाँतही त्यस्तै भएको छ होला , सरकारले सबैलाई के दिन सक्ला र त्रिपालसम्म भयो भने एउटा बस्ने आधार हुन्थ्यो’ आफ्नो टोलको भूकम्पमा पाँच जना आफन्त गुमाएर पूर्ण रुपमा ध्वस्त भएको बस्ती देखाउँदै सिन्धुपाल्चोक शिखरपुर माझीगाँउका सुवास माझीको भनाइ हो यो ।
माझीको जस्तै भुकम्पमा परेर आफ्नो थात थलो र आफन्त र पशु चौपाया गुमाएका धेरै सिन्धुपाल्चोकबासीको भनाइ हो यो ।
माझी गाँउ शनिबार मध्यान्ह् गएको विनासकारी भूकम्पका कारण पूर्णरुपमा ध्वस्त भएको छ । सो गाँउमा पाँचजनाको निधन भएको छ भने पशु चौपाया सबै मरेका छन् । खाने खाद्यान्न कुरा छैन, ओत, लाग्ने स्थान छैन । भूकम्पका कारण मरेका पशु चौपाया गनाउन थालेका छन् ।
भूकम्प पीडितहरु खुला आकाशमुनी दिन रात कटाइरहेका छन् । सो स्थानमा हालसम्म कुनै पनि सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि राहत लिएर पुगेका छैनन् । सोमबार स्थानीय प्रहरी प्रशासन तथ्याङ्क सङ्कलनका लागि सो गाँउका पुगेको भएपनि हालसम्म कुनै पनि राहतको व्यवस्था हुन सकेको छैन ।
शनिबार आएको भुकम्पले मुलुकका अन्य भूभागलाई पनि त्यत्तिकै प्रभाव पारेको छ । तर सिन्धुपाल्चोकलाई भने बढी बदला लिएको छ । आफन्त गुमाएकाहरु गहभरी आँसु पार्दै नयाँ मान्छे देख्ने वित्तिकै उत्सुक भएर आफ्ना कुरा सुनाउन र राहतको कुरा गर्न भुम्मिइहाल्छन् । सिन्धुपाल्चोकबासीले व्योहोरेको विपदलाई शब्दमा उतार्न मुस्किल छ तर यो वाध्इता बनेको छ ।
सो जिल्लामा हालसम्म एक हजार ३०० जनाको निधन भएको छ भने सामान्य र गम्भीर गरी दश हजार भन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीकाअनुसार ४० हजार भन्दा बढी घर ध्वस्त भएका छन् ।
उहाँले भन्नुभयो ‘‘ स्थिती भयावह छ । मौमस विग्रिएकाले उद्धार तथा राहत प्रदान गर्न कठिन भएको छ । नेपाली सेना र प्रहरी गरी एक हजार ५०० परिचालन गरिएको छ । आज मात्रै एक सय थान पाल प्राप्त भएकाले अब कसरी वितरण गर्ने भन्ने बारेमा समस्या परेको छ ।’’ राससको विशेष टोली स्थलगत अनुगमनको क्रममा सिन्धुपाल्चोकको उत्तरी क्षेत्रका केही स्थानमा पुग्दा त्यहाँको स्थिती एकदमै भयावह रहेको पाइयो ।

जिल्लामा उद्धारकार्यका लागि एक हेलिकोप्टर उपलब्ध गराइएको छ ।
स्थानीयबासी के गर्ने कसो गर्ने, कसलाई गुहार्ने अवस्थामा रहेका छन् । मेलम्ची नगरपालिका वडा नं १२ बगुवाका टोमशङ्कर दुलालले भन्नुभयो ‘‘ हामी त के गर्ने के नगर्ने अवस्थामा पुगेका छौ । बस्ने घर छैन, खाने कुरा छैन, पाल हालेर बसेका छौ । उहाँको आँगनमा नै चार जनाको निधन भयो । हालसम्म कुनै पनि राहतको व्यवस्था हुन नसकेको जानकारी दिदै स्थानीय गणेश दाहालले सो क्षेत्रमा रहेका कुल ६०५ घर मध्ये पाँच वटा घर मात्रै बाँकी रहेको छ ।
अर्का स्थानीयबासी बालकृष्ण दाहाल भन्नुहुन्छ ‘‘ त्रिपालमुनी बसेका छौ । हालसम्म कही कतैबाट राहत पाउन सकिएको छैन ।’’ भूकम्पबाट बचेका पशु चौपाया कोही घाइते छन् । कोही अझै पनि खण्डहर बनेको घर गोठ भित्र गन्हाउन थालेका छन् ।
यस्तै स्थानीय थकनीमा रहेको खनालगाँउ पनि विपत्तीका कारण पूर्ण रुपमा ध्वस्त भएको छ । स्थानीय कृष्णप्रसाद खनालले भन्नुभयो ‘‘ हाम्रो गाँउमा ९३ वर्षीय वृद्धासहित तीन जनाको निधन भयो । खाने खाद्यान्न केही छैन, लगाएको कपडा बाहेक एक धरो पनि बाँकी रहेन । अर्को ठाँउमा जाने अवस्था रहेन । हामी उपलब्ध सामान्य पाल टाँगेर बसेका छौ ।’’
कुनै पनि गाँउमा बिजुलीबत्ती छैन, औषधीमूलो छैन । पानी तताएर खुला पालमुनी दिन रात कटाउन वाध्य छन् उनीहरु । थकनीमा स्थानीय श्रीकृष्ण उच्चमावि पनि पूर्ण रुपमा ध्वस्त भएको चीतवन घर भएका शिक्षक परशुराम घिमिरे जानकारी दिनुभयो ।
उहाँले बस्तीमा रहेका २५ घर नै पूरै सखाप भएकाले विद्यालय सञ्चालन गर्ने कुनै पनि अवस्था नरहेको भन्दै पहिले त्रिपाल र खाने बस्ने वातावरण बनाइदिन सरकारसँग माग गर्नुभयो । ‘‘सरकारले यथाशिघ्र राहत प्रदान गर्नुप¥यो । विद्यार्थीको घर बनेपछि मात्रै विद्यालय सञ्चालन गर्न सकिन्छ ।’’ घिमिरेले भन्नुभयो ।
यस्तै मेलम्ची नगरपालिका वडा नं ४ सिन्धुभदौरेमा २६ घर नै पूर्ण रुपमा ध्वस्त भएको छ तर मानवीय क्षति भने कुनै पनि भएको छैन । पशु चौपाया पुरिएका छन् भने खाद्यान्न, लत्ताकपडा केही पनि बाँकी रहेको छैन । यस्तै स्थानीय ढुङ्गेछापमा रहेका सबै घर ध्वस्त भएको र एकै गाँउमा पाँच जनाको जायन गएको ओमबहादुर रायमाझीले जानकारी दिनुभयो । राससले काठमाडौँको शङ्करापुर नगरपालिकाबाट सुरु गरेको स्थलगत निरिक्षण सिन्धुपाल्चोककको भोटेचौर, हैवुङ,थकनी, मेलम्ची नगरपालिकाका प्राय वडा, काभ्रेपलान्चोकको कुन्ता, पाँचखाल, धुलिखेल , बनेपालगायतका स्थान रहेका छन् ।
भुकम्पले मेलम्ची बजारमा रहेका पूराना घरहरु पूर्ण रुपमा ध्वस्त भएका छन् भने नयाँ र अलिक बलिया ठानिएका भवन तथा संरचनाहरु समेत बस्न योग्य छैनन् । स्थानीय सविन दुलालले राससका अध्यक्ष कुलचन्द्र वाग्लेसहित स्थलगत रुपमा समाचार सङ्कलनका लागि पुगेको टोलीसँग भन्नुभयो ‘‘ ग्रामीण क्षेत्रका करिब ९९ प्रतिशत घर भत्किएका छन् । हालसम्म कुनै पनि राहत सामग्री प्राप्त हुन सकेको छैन । राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि आ–आफ्नै ध्याउन्नमा लागेका कारण उद्धारमा जुट्न सकेका छैनन् ।’’ भूकम्पका कारण पीडित भएका स्थानीयबासी समानरुपमा राहत वितरणको पखाईमा रहेका छन् । उनीहरुले सरकारसँग धेरै ठूलो अपेक्षा तत्काल गरेका छैनन् त्रिपाल र औषधीमूलोको व्यवस्था गरिदिन माग गरेका छन् । रासस
Leave a Reply