सडक र खुला क्षेत्रमा बास लम्बियो
काठमाडौ, वैशाख १३ – शनिबार बिहान ११ बजेर ५६ मिनेटमा आएको ७ दशमलव ६ रेक्टरको ठूलो भूकम्प र त्यसको २४ घण्टा पछाडिसम्म कयौं पटक आएको भूकम्पले त्रसित काठमाडौंवासी आफ्नो घर डेरा छाडेर खुला आकसमुनी आश्रय लिएका छन् । खाना, पानी, ट्वाइलेट जस्ता समस्याले बाहिरको बास कष्टकर बनेको छ ।
उपत्यकाका सबै फराकिला सडक, चौर, सार्वजनिक स्थल, स्कुल सरकारीकार्यालयका प्रांगण सबै भरिएका छन् । टुडिखेलमा मात्र हजारौंले आश्रय लिएका छन्। उनीहरु पाल टाँगेर बसेका छन् । रेडक्रस, नेपाली सेना र प्रहरी सहित अन्य गैर सरकारी संस्थाहरुले आश्रयमा सघाएको छ । पहिलो रात अस्तव्यस्त ढंगले बिताएकाहरुले दोस्रो रातको बसाईलाई पाल टाँगेर ओढ्ने ओछ्याउने व्यवस्थापन मिलाएर थोरै व्यवस्थित बनाउने प्रयास गरिरहेका छन् । मानिसहरु आफ्ना जहान, बालबालिका, वृद्ध वृद्धालाई लिएर खुला चौरमा पुगेका छन् । जताततै खुलास्थानमा पुग्नेहरुको लाईन देखिएको छ । शनिबार राति खुला आकाशमुनी रात बिताएका उपत्यकावासीलाई आईतबार ६ दशमलव ७ रेक्टरको आएको अर्को भूकम्पले थप त्रसित बनाएको हो ।
तिनकुनेदेखि माईतीघरसम्मको सडक पेटी र वारमा सर्वसाधारण बसेका छन् । संविधानसभा भवन, सिभिल अस्पताल,सिंहदरवार, नारायणहिटी दरवारको केही क्षेत्र पनि आश्रय स्थलका लागि प्रयोगमा दिइएको छ । सिंहदरवार र नारायणहिटीको पर्खाल भत्किएर पनि आश्रय लिनेहरुलाई सजिलो बनाई दिएको छ । विमानस्थल नजिको गल्फ कोर्ट, तिनकुनेको पार्क, पानीपोखरीको पार्क सबै आश्रय स्थल बनेका छन् । गाडीहुनेहरु गाडीलाई खुला चौर वा सडकमा राखेर त्यसैलाई आश्रयस्थल बनाएका छन् । भारतीय सहित विदेशी सञ्चार माध्यमका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति काठमाडौंमा देखिएको छ ।
सैनिक मुख्यालय परिसरमा बसेका हजारौं व्यक्तिलाई सेवा पुर्याउने प्रयास गरिरहेका पशुपति मारवाडी सेवा समितिका नरेश अग्रवाल प्राकृतिक प्रकोपले धनी गरिब एंव उच्च र नीच भनिएका जातिबीच विभेद हटाएको बताए । ‘सब एकै ठाउँमा बसेका छन् सँगै खाएका छन, अग्रवालले भने । समितिले सोमबार बिहान सबैका लागि खानाको व्यवस्था मिलाएको थियो ।
टुडिखेलमा रामदेवको योग शीविरका लागि ओछ्याएका कार्पेटलाई सर्वसाधारणले पालको रुपमा प्रयोग गरेका छन् ।।
Leave a Reply