स्वस्थाकर्मी फर्किरहेका बेला गोबिन्द केसी लागे महामारी फैलिएको जाजरकोटतिर
७ बैसाख २०७२, काठमाडौँ- २४ जनाको ज्यान जानेगरी महामारी फैलिएको जाजरकोटमा विरामीको उपचार गर्न डा.गोविन्द केसी त्यस तर्फ हिँडेका छन्। केसी आज विहान भाडाको बस मार्फत जाजरकोट प्रस्थान गरेका हुन्।
आइतबारनै जाजरकोट जान लागेका केसीलाई तीन पटक उल्टी भएपछि आज हिँडेका हुन्। उनले आइतबारनै औषधी त्यस तर्फ पठाइसकेका छन्।
१२ दिन लामो अनसन पछि स्वास्थमा सुधार नआउँदै केसी जाजरकोट जान लागेपछि सहकर्मी चिकित्सकहरुले नजान आग्रह गरेका थिए।
‘जाजरकोटमा त्यति धेरै पिडा छ यहाँ म चैनले बस्न सकिन। जति सक्छु गाउँ पुगेर सेवा पुर्याएर आउँछु’ आइतबार साँझ नागरिकसँग केसीले भने। इम्युन सिस्टम कमजोर भएका समयमा भाइरल फैलिएको स्थानमा जाँदा स्वास्थमा जोखिम हुने जिज्ञासा बारे उनले भने ‘ज्यानले सक्दासम्म सेवामै लाग्ने मेरो प्रण छ।’
डा.केसी यस अगाडि फिलिपिन्स, हाइटी, पाकिस्तान र भारतमा महामारी आउँदा समेत उपचार गर्न पुगेका छन्। उनले नेपालका ७५ जिल्लामा विभिन्न समयमा स्वास्थ शिविर गरेका छन्। २०६६ सालमा जाजरकोटमा झाडापखालाको महामारी फैलिँदा १ महिना सम्म गाउँमा बसेर उपचार गरेका थिए।
Leave a Reply