नयाँ स्वरुपमा बाग्मती सफाइ महाअभियान

काठमाडौँ-बाग्मती सफाइ महाअभियान १०१औँ हप्तामा प्रवेश गरेपछि नयाँ स्वरुपका साथ अगाडि बढ्न लागेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ।
नयाँ स्वरुपमा प्रवेश गर्नुअघि चार वटा स्थानीय सङ्घसंस्थासित समितिले चतुर्पक्षीय सम्झौता गरेको छ । समितिले गोकर्णेश्वर नगरपालिकाका तीनवटा, तिलगङ्गाको एक र त्रिपुरेश्वरको एक संस्थासित बाग्मती दिगो रुपमा सफाइ राख्ने योजनामा सम्झौता गरेको हो ।गोकर्णेश्वर नगरपालिकाका माकलबारी टोल सुधार समिति, राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाज, तिलगङ्गाको तिलगङ्गा महिला समूह एवम् त्रिपुरेश्वरको त्रिपुरेश्वर विकास क्लबसित चतुर्पक्षीय सम्झौता गरी त्यस क्षेत्रको बाग्मतीमा फोहर गर्नेलाई दण्डित गर्ने अधिकार प्रत्यायोजन गरिएको समितिका अध्यक्ष नारायणप्रसाद रेग्मीले बताए ।”सम्बन्धित संस्था, महानगरपालिका वा नगरपालिका, नेपाल प्रहरी र समितिका बीचमा चतुर्पक्षीय सम्झौता गरी कसैले बाग्मतीमा फोहर फालेमा स्थानीय संस्थाको उजुरीमा प्रहरीले समाती दण्ड जरिवाना गर्ने र जरिवानाको आधा रकम संस्थालाई नै बाग्मती सफाइलाई दिगो बनाउन खर्च गर्न पाउने गरी दिने प्रावधान राखिएको छ”, उनले भने ।

यसबाट जनचेतना जगाउन सहयोग पुगी बाग्मतीलाई दिगो रुपमा सफा बनाउन सहयोग पुग्ने समितिको विश्वास रहेको छ । बाग्मती सफाइ महाअभियानमा २०७० जेठ ५ गतेदेखि नै निरन्तर रुपमा लागिरहनुभएका जीवन विज्ञान नेपालका संस्थापक रमेश नेपाल पनि सफाइको स्वरुप केही परिवर्तन गरिएको र दुई वर्ष पुगेको दिनबाट यसलाई औपचारिक रुपमा घोषणा गर्ने तयारीमा लागिएको बताउन्छन ।

“अहिले बाग्मतीमा मात्र फोहर गर्नुहुन्न भन्ने चेतना प्रवाह गरिएकामा २०७२ जेठ ५ गतेपछि आ–आफ्ना घर पसल अगाडि फोहर गर्नुहुन्न भन्ने चेतना जागृत गरी नेपालभर सफाइ गर्ने गरी नेपाल सफाइ महाअभियान चलाउने गृहकार्य गरिरहेका छौँ”, उनले भने । यस कार्यक्रमअन्तर्गत आफ्ना घर र पसल वरपर फोहर भएमा सम्बन्धित घर र पसल धनीलाई नै जरिवाना गर्ने दण्डनीति ल्याउन लागिएको उनले बताए ।

बाग्मती सफाइ महाअभियानको १०१औँ हप्ताका अवसरमा आज कीर्तिपुरको राधास्वामी सत्सङ्ग भवन अगाडि सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा रेग्मी, कलाकार राजाराम पौडेल, नेपाल विज्ञापन सङ्घका महासचिव नारायण श्रेष्ठ र एस ट्राभल्सका अर्जुन धरेललगायत अभियन्ताको उपस्थिति रहेको थियो ।१०१औँ बाग्मती सफाइको दिन मातातीर्थ औँसी परेकाले सफाइ सकी उपस्थित सबैले आमाप्रति ध्यान गर्दै कार्यक्रम समापन गरिएको अभियन्ता नेपालले जानकारी दिए । रासस

Leave a Reply