नयाँ दिल्लीमा दिनदहाडै साढे २ करोड लुटियो, एटिएममा भर्न लागिएको थियो रकम
१३ मंसिर २०७१, नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा दिनदहाडै एटिएममा पैसा भर्न लगिएको भ्यानबाट २.४ करोड लुटिएको छ । शहरको उत्तरी भागमा रहेको दिल्ली विश्वविद्यालय नजिकै रहेको कमला नगर बजारबाट शनिबार बिहान उक्त रकम लुटिएको भारतीय मिडियाहरुले बताएका छन् ।बिहान करिब ११ बजे उक्त घटना कमला नगर नजिकै रहेको बंग्लो रोडमा एक निजी बैंकको एटिम बुथ अगाडि भएको थियो ।
प्रहरीका अनुसार उक्त भ्यान बैंकहरुको एटिएममा पैसा भर्ने जिम्मा पाएको एक निजी
कम्पनीको थियो । उनीहरु कमला नगर र रुप नगर क्षेत्रका एटिएममा पैसा भर्नका लागि गइरहेका थिए ।
‘उनीहरु एक एटिएम बुथमा पैसा भरिरहेका थिए भने सेक्युरिटी गार्डले सुरक्षा दिइरहेको थियो । त्यतिकैमा बाइकमा सवार दुई लुटेरा आए र गार्डको टाउकोमा दुईवटा गोली प्रहार गरे । त्यसपछि उनीहरुले भ्यानमा रहेको २.४ करोड रुपैयाँ रहेको ब्याग लिएर फरार भए,’ प्रहरीले बतायो ।
एक प्रत्यक्षदर्शीले तत्कालै प्रहरीलाई खबर गरेका थिए । तत्कालै घटना स्थलमा आएको प्रहरीले घाइते गार्डलाई अस्पताल लगेका थिए । उनलाई त्यहाँ मृत घोषित गरिएको थियो ।
यतिबेला प्रहरीले सिसीटिभी फुटेज अध्ययन गरिरहेको छ । घटनाको छानबिनका लागि डिसिपी मधुर वर्माको नेतृत्वमा एक टोली पनि गठन गरिएको छ ।
Leave a Reply